अमेरिका, २४ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्ना अभिब्यक्तिका कारण पटक पटक विवादमा आइरहन्छन् । कहिले मिडियालाई गाली गरेर त कहिले विश्व स्वास्थ्य संगठनमाथि चीनलाई सहयोग गरेको भन्दै सहयोग बन्द गर्ने धम्की दिएर उनी चर्चामा आइरहेका छन् । उनले जनताभन्दा देश ठूलो भनेको बिषयले पनि उनी विवादमा परे । पछिल्लो समयमा उनले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्स बन्द गर्ने तयारी भएको बताएका छन् ।
राष्ट्रपति ट्रम्पले कोरोना भाइरसको महामारी नियन्त्रण सम्बन्धी प्रयासको समन्वय गरिरहेको टास्क फोर्स एक साताभित्रै बन्द गर्ने तयारीमा रहेको बताएका छन् । एरिजोनाका रहेको मास्क उत्पादन कम्पनीको भ्रमणको क्रममा राष्ट्रपति ट्रम्पले अमेरिकालाई पुरानै अवस्थामा फर्काएर आर्थिक गतिविधि सुरु गर्ने बताएका हुन् ।
अमेरिकामा पछिल्ला दिनमा दैनिक २० हजार भन्दा बढी कोरोना भाइरस संक्रमित भइरहेका छन् । दैनिक मृत्यु हुनेको संख्या पनि एक हजार भन्दा बढी छ । तर राष्ट्रपति ट्रम्पले देश अब पुरानै अवस्थामा फर्काउन सुरु गर्ने बताएका छन् ।
तर विपक्षी दलहरुले भने व्यवसाय खुला गर्न हतारो गरेर राष्ट्रपति ट्रम्पले अमेरिकीको जीवनमाथि खेलवाड गरेको आरोप लगाउँदै आएका छन् । उनले आउँदो नोभेम्बरमा हुने चुनावमा आफ्नो पक्ष बलियो बनाउनका लागि अर्थतन्त्र खुला गर्ने मार्गमा सर्वसाधारणको जीवन नै जोखिममा पारेको आरोप विपक्षीको छ ।
ट्रम्पको प्रमुख चुनावी मुद्दा आर्थिक वृद्धि हो र अहिले अमेरिकी अर्थतन्त्र अति गम्भीर रुपले प्रभावित भएको छ । एजेन्सी