Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तातोपानी नाकामा सिल्क ट्रान्सपोर्टको एक्लौटी, लकडाउनको मौका छोपी सुन तस्करी


    मंगलबार, बैशाख २३ २०७७
    1.7K
    Shares
  • ५ मिनेट पाठ
  • तातोपानी, २३ बैशाख ।

    लकडाउनका बेला सहज आयात हुनुपर्ने तातोपानी नाकामा अहिले तस्करका कारण तनाव सिर्जना भएको छ । खुल्ला प्रतिस्पर्धा भए पनि सिल्क ट्रान्सपोर्टका नाममा एकलौटी सामान ढुवानी हुन थालेपछि तनाव सिर्जना हुन थालेको हो । नेकपाका नेता तथा बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाको संरक्षण पाएका बाह्रविसे नगरपालिका ५ गातीका रमेश शेर्पाको स्वामित्वमा रहेको यो ट्रान्सपोर्टले तस्करीको सामान ढुवानी गरिरहेका कारण स्थानीय अवरोधसमेत गरेका थिए । तर, स्थानीय प्रहरी, प्रशासनलाई प्रभावमा पारेर ती गाडीहहरु चेकजाँचसमेत नभएपछि स्थानीय पनि आक्रोशित भएका छन् । सिल्क ट्रान्सपोर्टले अवैध सुन समेत सेटिङमा ल्याएको चर्चा हुन थालेको छ । 

    अहिले नेपाल आइरहेको सामान सबै सिल्क ट्रान्सपोर्टले ल्याइरहेको छ । चिनियाँ मुसा भन्ने कम्पनी र बाह्रविसे नगरपालिकाका रमेश शेर्पासहित केही नेपालीको आधा लगानी रहेको सो ट्रान्सपोर्टका दुई सयभन्दा धेरै कन्टेनर छन् । अहिले नेपालमा ल्याइने सबै सामान ढुवानी गर्ने काम सबै यही कम्पनीको एकलौटी छ । कन्टेनरहरु अहिले रातारात नेपालतर्फ सामान ल्याउन प्रहरीकै स्कर्टीङमा लागिपरेका छन् । अत्यावश्यक र आवश्यक सामान ल्याउन छुट सरकारले दिएको अवसरको फाइदा उठाउँदै सुनको तस्करी व्यापक भइरहेको जानकारहरु बताउँछन् । यी सामानहरु तिब्बतमा वा खासामा मात्र सेटिङ भएर आउने नभई ग्वान्जाओबाटै सेटिङ भएर आउने ब्यसायीहरु बताउँछन् । 

    को हुन् रमेश शेर्पा ?

    केही समयअघिसम्म सामान्य झोलेपोके काम गर्ने साविक गाती गाविसका रमेश बाह्रविसे नगरका मेयर तथा सिन्धुपाल्चोक नेकपा नेता निमफुन्जो शेर्पाका भान्जा हुन् । सामान्य परिवारमा जन्मेका रमेशको अहिलेको आर्थिक अवस्था देख्नेहरु जो कोही पनि जिब्र्रो टोक्ने गर्दछन् । सामान्य ब्यवसायी रमेशको अहिले काठमाडौ जोरपाटीमा तीन रोपनी जग्गामा आलिशान महल छ । महलभित्रै स्वीमिङपुल रहेको घरमा भूमिगत गोदाम रहेको शंका गर्नेहरु धेरै छन् । चीनबाट भारत सुन तस्करी गर्ने रमेशको सामान तीन पटक भारतमा समेत पक्राउ परेको थियो । नेपालका बिभिन्न स्थानमा पक्राउ परेको सुनमा पनि रमेशकै नाम जोडिने गरेको छ । तर, उनी पहुँचका भरमा नसमातिने र भरियामात्र पक्राउ पर्ने गरेको जानकारहरु बताउँछन् ।

    भोटेकोशी गाउँपालिको तातोपानी नाका नजिकै निर्माण भइरहेको हिमरिभर हाइड्रोमा दश करोडको शेयर लगानी गरेका शेर्पाको अबैध ब्यवसायका कारण करोडौंको आम्दानी भएको उनको निकटहरु बताउँछन् । आफ्नो भिनाजूलाई साथ लिएर काम गर्ने रमेशले मामा नाता पर्ने बाह्रवीसे नगरपालिकाको मेयर निमफुञ्जो शेर्पालाई चुनावमा तीन करोड रुपैयाँ सहयोग गरेका थिए । सोही सहयोगका आधारमा मेयर शेर्पाले रमेशको अवैध कामलाई सहयोग गर्ने गरेको रमेशका एक नजिकका ब्यक्तिले जानकारी दिए । 

    तातोपानी भन्सारका प्रमुख लालबहादुर खत्री, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल र सिन्धुपाल्चोक प्रहरी प्रमुख प्रज्ज्वल महर्जनले रमेशको काममा सहयोग गरेको स्थानीय बताउँछन् । तर, प्रहरी प्रशासन भने आफूहरुले त्यसो नगरेको बताउँछ । ‘प्रहरी प्रशासनलाई सहयोगमा लिएपछि जे काम गरे पनि सजिलो हुने रहेछ ’ रमेशले आफूसँग पटक पटक यस्तो अभिब्यक्ति दिने गरेको उनको एक साथीले बताए । 

    सिल्क ट्रान्सपोर्टमार्फत् नेपाल ल्याइएको सामान अहिले पनि प्रहरी प्रशासनले चेकजाँच नगरी पठाउने गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रने भन्दै भोटेकोशीका वडाध्यक्षले ज्ञापनपत्रमार्फत् लिखित विरोध जनाएपछि चीनबाट ल्याइएका स्याउ र लसुन बोकेका कन्टेनर स्कटिङ गरेर ल्याइएको बताईन्छ ।  नेपाल र सशस्त्र प्रहरीको गाडी अघि पछि लगाएर कन्टेनर ल्याइएको छ । अति आवश्यक सामानमात्र ल्याउनुपर्ने भन्दै भोटेकोशी गाउँपालिकाका ४ जना वडाध्यक्षले तातोपानी भन्सारलाई ज्ञापनपत्र बुझाएका थिए । उनीहरुले स्वास्थ्य सामग्री मात्र ल्याउन माग गरेका छन् । जबर्जस्ती सामान ल्याएमा र संक्रमण नहुने ग्यारेन्टी नगरेमा आयातित स्याउ र लसुन नष्ट गर्ने चेतवानी वडाध्यक्षले दिएका थिए । उनीहरुले धम्की दिएपछि कन्टेनरलाई सुरक्षा दिएर बन्दरगाहमा प्रवेश गराइएको हो ।

    भन्सार प्रमुख लालबहादुर खत्रीका अनुसार सीमामा आएको सामानलाई सुरक्षा दिनुपर्ने भएकाले स्कटिङ गरिएको हो । 
    पछिल्लो समय संघीय सरकारले तातोपानी नाका सञ्चालन गरेर स्वास्थ्यसँग सम्बन्धित र अति आवश्यक अन्य खाद्य सामग्री ल्याउने निर्णय गरेको थियो । यही मौकामा तस्करीका सामान ल्याइएको ब्यवसायीहरुको भनाइ छ ।

    दाल, चामल, नुन आदि ल्याए पनि लसुन र स्याउ ल्याउन नदिने जनप्रतिनिधिको भनाइ छ ।  लसुन र स्याउ ल्याउँदा कोरोना संक्रमण हुने खतरा रहेको भनाइ उनीहरुको छ । सामान ल्याउन लागेको थाहा पाएपछि वडाध्यक्षहरुले प्रहरी स्कटिङको भिडियो नै सार्वजनिक गरेका थिए । उनीहरुले स्कटिङ नै गरेर सामान ल्याउँदा शंका गर्नुपर्ने ठाउँ रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार