Nepal Face
  • सोमबार, ८ मंसिर २०८३
  • काठमाडौं–भैरहवा–लखनउ हवाई रुट अब दुवैतर्फ सञ्चालन हुने


    सोमबार, मंसिर ८ २०८३
    35
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाल र भारतबीच काठमाडौं–भैरहवा-लखनउ हवाई रुटलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ।

    भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको सहमतिअनुसार हाल एकतर्फी रूपमा सञ्चालन हुँदै आएको ‘बी३४५’ हवाई रुटलाई अब दुवैतर्फी बनाइने भएको हो।

    प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा दुवै देशका नेताहरूले नागरिक उड्डयनसम्बन्धी विषयमा भइरहेका छलफललाई सकारात्मक रूपमा लिँदै हवाई सम्पर्क विस्तार र द्विपक्षीय आर्थिक गतिविधि बढाउने विषयमा जोड दिएका छन्।

    उक्त रुटलाई दुईतर्फी बनाउन आवश्यक प्राविधिक परामर्श गरिने र त्यसका आधारमा सञ्चालनको मोडालिटीलाई अन्तिम रूप दिइने संयुक्त वक्तव्यमा उल्लेख छ।

    त्यस्तै, दुवै देशबीच छलफलमा रहेका नागरिक उड्डयनसम्बन्धी अन्य प्रस्तावलाई पनि प्राविधिक परामर्शमार्फत अघि बढाउने समझदारी बनेको छ। यस सहमतिले विशेषगरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    नेपालले जनकपुर र भैरहवाबाट हवाई प्रवेश विन्दु (एयर रूट)सहित महेन्द्रनगरको एयर रूटका लागि जोड दिँदै आएको छ। नेपालले करिब १२ वर्षदेखि पश्चिमतर्फबाट काठमाडौंमा आउने अन्तर्राष्ट्रिय उडान महेन्द्रनगरको एयर रूटबाट प्रवेश पाउनुपर्ने माग गर्दै आएको छ। तर, यस पटकको प्रधानमन्त्रीको राजकीय भ्रमणमा पनि यो विषय टुंगोमा पुग्न असफल भएको छ।

    भारतले भने पहिल्यैदेखि एयर रूटको विषय प्याकेजमा टुङ्ग्याउने प्रस्ताव गरिरहेको छ। नेपालले महेन्द्रनगरको एयर रूट पाउँदा भारतले भने नेपालको पूर्वी सीमा नजिक पर्ने पश्चिम बंगाल राज्यको दार्जिलिङस्थित बागडोगरा विमानस्थल र बिहार राज्यको रक्सौलस्थित विमानस्थलमा उडान गर्न नेपाली आकाश दिनुपर्ने गरी प्याकेजको कुरा गर्दै आएको छ।

    नेपालले भने एयर रूटको विषयमा प्याकेजमा छलफल गर्न तयार नभएको सन्देश भारतलाई दिएपछि थप प्राविधिक अध्ययन पछि टुंग्याउने समझदारी बनेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार