Nepal Face
  • सोमबार, २९ भाद्र २०८३
  • जाजरकोटमा बाढीको बितण्डा : ११ घर–पसल बगे, भेरी करिडोर अवरुद्ध


    सोमबार, भाद्र २९ २०८३
    115
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जाजरकोट । गएराति परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोले जाजरकोटको नलगाड नगरपालिकामा ठूलो क्षति पुर्‍याएको छ ।

    नलगाड नगरपालिका–१ र २ को सीमामा पर्ने बहुलाहा खोलामा आएको बाढीले खोला बजारका अस्थायी टहरा तथा स्थानीयका पसल बगाएको हो । खोला बढेको आवाज सुनेपछि स्थानीय भागेर ज्यान जोगाउन सफल भएका थिए ।

    नलगाड–१ का वडाध्यक्ष धनबहादुर महरका अनुसार पूर्वसतर्कताका कारण मानवीय क्षति नभए पनि ठूलो मात्रामा भौतिक क्षति भएको छ। उनका अनुसार बैरीताल बजारमा मात्रै ११ स्थानीयका घर तथा पसल बाढीले बगाएको छ ।

    यस्तै, नलगाड–२ का वडाध्यक्ष पूर्णबहादुर खत्रीका अनुसार वर्षासँगै आएको पहिरोले खर्कमा रहेका हजारी खत्रीका एक हल गोरु पुरिएका छन् ।

    नलगाड–३ का वडाध्यक्ष पूर्णबहादुर विष्टले खहरे बाढीका कारण कैनास्थित स्वास्थ्य चौकीमा समेत क्षति पुगेको जानकारी दिए। खहरे खोलाबाट आएको भलबाढी स्वास्थ्य संस्थाभित्र पसेपछि संरचनामा क्षति पुगेको उनले बताए ।

    बाढीले सडकका विभिन्न भाग कटान गरेपछि भेरी करिडोरअन्तर्गत यातायात सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। खहरे खोलामा आएको बाढीले सडक नै च्यातिएपछि सवारीसाधन सञ्चालन गर्न नसकिने अवस्था बनेको हो ।

    भेरी करिडोरले जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने भएकाले सडक अवरुद्ध हुँदा यात्रु तथा स्थानीयवासी समस्यामा परेका छन् ।

    जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक सुधीरकुमार खड्काले नलगाड नगरपालिकामा बाढी तथा पहिरोबाट ११ घर तथा पसल बगेको प्रारम्भिक जानकारी आएको बताए ।

    उनका अनुसार प्रहरी टोली बिहानै घटनास्थलमा पुगेर क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ। बाढीले सडकसमेत क्षति पुर्‍याएकाले भेरी करिडोरमा यातायात पूर्ण रूपमा ठप्प भएको उनले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार