काठमाडौं, २१ असोज । विकसित मुलुकको तुलनामा नेपालमा अपांगता भएका ब्यक्तिहरुको जीवन अत्यन्तै कष्टकर छ । नेपालका स्कुल, कलेजदेखि सरकारी कार्यालय कुनै पनि अपांगमैत्री छैनन् । जसका कारण अपांगता भएका ब्यक्तिहरु शिक्षाबाटै बन्चित हुनुपरेको छ । अपाङ्गता नभएका व्यक्तिको तुलनामा अपाङ्गता भएका व्यक्तिको सेवामा पहुँचको दुरी वा खाडल ७० देखि ९० प्रतिशत रहेको छ । सहायक सामग्रीमा न्यून पहुँच छ । अर्थात् प्रत्येक ८ जनामा १ जनाले मात्र सहायक सामग्री पाउछन् ।
नेपालको राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा कुल जनसंख्याको १.९४ प्रतिशत अपाङ्गता भएका ब्यक्तिहरु रहेका छन् । नेपालमा अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सम्बन्धी एक अध्ययन अनुसार अन्य ब्यक्तिको तुलनामा अपाङ्गता भएका ब्यक्तिको बेरोजगारी दर उल्लेख्य छ । नियमित आय हुने अपाङ्गता नभएका व्यक्तिको तुलनामा अपाङ्गता भएका व्यक्तिको आय निकै कम छ । संविधानले ग्यारेन्टी गरेको शिक्षा, स्वास्थ्य जस्ता मौलिक हकबाट समेत अपांगता भएका ब्यक्तिहरु बन्चित छन् ।
अपांगता भएकामध्ये पनि मेरुदण्डमा समस्या भएकाहरुको लागि झन् कठिन छ । मेरुदण्डको समस्या भएकाहरुमा ९० प्रतिशत रुखबाट लडेका र केही घाँस काट्न जाँदा भीरबाट लडेका ब्यक्ति छन् । हिमाल, पहाड र तराई जहाँका पनि केस छन् । अधिकांश रुखबाटै लडेकाहरुमा मेरुदण्डमा समस्या (इस्पाइनल कड इन्जुरी) छ । मेरुदण्डमा समस्या भएकाहरुका लागि ह्वीलचेयर पाउनै मुस्किल छ । बल्लबल्ल ह्वीलचेयर पाइहाले पनि बिग्रेको खण्डमा मर्मत गर्ने कम्पनी छैन । ह्वीलचियरको पार्टपूर्जा नेपालमा पाइँदैन । बाल अपांग टेवा संस्थाले मेरुदण्डको समस्या भएकाहरुले प्रयोग गरेको ह्वीलचेयर बिग्रेमा मर्मत गर्दैैआएको छ । बाल अपांग टेवा संस्थाका संस्थापक अध्यक्ष डेन्डी शेर्पाले भन्नुभयो–‘अहिलेसम्म हाम्रो संस्थाले १ सयभन्दा बढी अपाङ्गता भएका ब्यक्तिहरुलाई ह्वीलचियर मर्मत गरी पुनः प्रयोगका लागि दिइसकेको छ । नेपालमा ह्वीलचियर मर्मत गर्ने कम्पनी छैन । त्यही भएर बाल अपांग टेवा संस्थाले मर्मत गर्दै पुनः प्रयोगमा ल्याउने काम गरिरहेको छ । हामीले विशेषगरी मेरुदण्डमा समस्या भएकाहरुलाई यस्तो सेवा दिने गरेका छौं ।’
बाल अपांग टेवा संस्थाको तर्फबाट २०७७ बैशाख ८ मा खोटाङ ऐसेलुखर्कका मेरुदण्डमा समस्या(इस्पाइनल कड इन्जुरी) भएका ५८ बर्षीय दिलबहादुर पुरीलाई उनकै निवास कपनमा पुगेर ह्वीलचियर प्रदान गरिएको थियो । नेकपाका नेता मीठाराम अधिकारीको पहलमा उक्त ह्वीलचियर प्रदान गरिएको थियो । पुरी जस्तै धेरैलाई टेवा संस्थाले ह्वीलचियर मर्मत गरी प्रदान गर्दैआएको छ । जसको सहारामा अपांगता भएका ब्यक्तिहरु हिंडडुल गर्न सकेका छन् ।
शेर्पाले भन्नुभयो–‘सरकारले पनि ह्वीलचियर प्रयोगकर्ताहरुको हक अधिकार सुरक्षित गर्न पर्याप्त ध्यान दिन सकेको छैन । विशेषतः मेरुदण्डमा समस्या भएकाहरुको जीवन झनै कठिन छ । विद्यालयदेखि सरकारी कार्यालय, सडक कुनै पनि ह्वीलचियर प्रयोगकर्तामैत्री छैनन् । उनीहरुलाई दैनिक जीवनयापन गर्न गाह्रो छ ।’
ह्वीलचियर प्रयोगकर्ताहरुको लागि लामो समयदेखि काम गर्दैआउनभएका शेर्पा भावुक हुँदै भन्नुहुन्छ–‘मेरुदण्डमा समस्या भएका ब्यक्तिहरुको जीवन यति कष्टकर छ कि उनीहरुको पीडा हेर्दा आँसु आउँछ । उनीहरु शौचालय प्रयोग गर्न सक्दैनन् । पिसाब फेर्न सक्दैनन् । त्यसका लागि आवश्यक मेडिकल किट पाइँदैन । पाइहाले अति महंगो छ । किन्न सक्ने क्षमता मेरुदण्डमा समस्या भएकाहरुसँग हुँदैन । त्यस्ता किट पाउने ठाउँसम्म पनि उनीहरु जान सक्दैनन् । ट्याक्सीले समेत मेरुदण्डमा समस्या भएकाहरुलाई लान नमान्दा थप पीडामा परेका छन् ।’
४० दिनदेखिको लकडाउनका कारण उनीहरु झन् समस्यामा परेका छन् । त्यस्ता समस्यामा परेका अपाङगता भएकाहरुको घर घरमा राहत पु¥याउने काममा डेण्डी शेर्पा रातदिन लाग्दैआउनुभएको छ । अपांगता भएकाहरुको घरमा मात्र होइन, मिग्रौला रोगी, सुगर रोग जस्ता जटिल र कडा रोग लागेका १ हजार भन्दा बढीलाई राहत र औषधि पु¥याउने काममा समेत उहाँ लागिरहनुभएको छ ।
शेर्पा भन्नुहुन्छ–संविधानले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकतालाई नागरिकको मौलिक हकका रुपमा ग्यारेन्टी गरेको छ । तर संविधानले ग्यारेन्टी गरेको मौलिक हक अपाङ्गता भएकाहरुले उपयोग गर्न पाएका छैनन् । अपाङ्गता भएका बालबालिकाहरु शिक्षाबाटै बन्चित छन् । विशेषगरी शारीरिक अपांगता भएका बालबालिकाहरुका लागि शिक्षाको अधिकार हुनुपर्छ । त्यसका लागि आवश्यक भौतिक संरचना अपांगमैत्री बनाउनुपर्छ । ब्रेललिपि, सांकेतिक भाषाका शिक्षक छैनन् । त्यस्ता शिक्षक तयार गर्न आवश्यक तालिम दिने ब्यवस्था राज्यबाट हुनुपर्छ ।