काठमाडौं । काठमाडौं उपत्यका करिडोरका सडक व्यवस्थापन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबारदेखि ट्राफिक प्रहरी परिचालन गरेकाे छ।
स्रोतका अनुसार करिडोरका सडक व्यवस्थापन गर्न १७ वटा मोटरसाइकलसहितको ट्राफिक प्रहरी खटाइएको हो।
बुधबार महाशाखा परिसरमा भएको एक कार्यक्रमबीच सिएमटीमा खटिने ट्राफिक प्रहरीहरूलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टाराईले छुट्टै फ्लोरिसेन्ट ज्याकेट वितरण गरेका थिए।
यो टिमले आफ्नो जिम्मेवार ईलाकामा निरन्तर अनुगमन गरी सवारी आवागमनमा सहज बनाई कोरिडोर सडकको सुचारू गर्ने, पुल तथा जक्सनको क्रसिङ्गमा हुने चाप/क्यूलाई व्यवस्थापन गर्ने, जथाभावी पार्किङ गर्ने प्रवृत्तिलाई निरूत्साहित गरी कोरिडोर सडक प्रयोग गर्ने परिपाटीको विकास गरि प्रयोगकर्तालाई प्राथमिकता दिई व्यवस्थापन गर्ने छ ।
काठमाडौं उपत्यकामा करिडोरको बाटो प्रयोग गरेमा मूल सडकहरूमा जाम थोरै मात्रामा भए पनि कम हुने उद्देश्यले यो काम सुरू गरेको भट्टाराईको भनाइ छ ।
उनले भने महाशाखाले सिएमटी मोटरसाइकल सहितको टोलीलाई छुट्टाछुट्टै ठाउँ तोकिएको छ । उनीहरूले आफ्नो ठाउँमा जाम हुन नदिने, पार्किङ हटाउने लगायतका काम गर्ने र जनशक्तिको थप आवश्यकता अनुसार युनिट मागेर व्यवस्थापन गरिने छ ।