Nepal Face
  • आइतबार, ११ असोज २०८३
  • प्रहरीबाटै सूचना चुहिएपछि मिटरब्याजका नाइके वीरेन्द्रलाल फरार


    सोमबार, साउन ११ २०८३
    7.2K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । मिटरब्याजीमाथि कडा कारबाही गर्ने अभियानमा सरकार लागेको छ । सरकार एक्सनमा उत्रिन लागेपछि मिटरब्याजका नाइकेहरु एकपछि अर्को फरार हुन थालेका छन् ।

    क्यासिनोमा जुवा हार्नेलाई १ लाखको एक दिनमा १ हजार रुपैयाँसम्म ब्याज असुली गर्ने मिटरब्याजका नाइके वीरेन्द्रलाल श्रेष्ठ सरकारले खोजी गरेपछि उनी भूमिगत भएका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको सूचना प्रहरीबाटै चुहिएपछि वीरेन्द्रलाल श्रेष्ठले भने नेपाल छाडिसकेको स्रोत बताउँछ ।

    क्यासिनोमा हारेकाहरुलाई एक लाखको दिनको १ हजार रुपैयाँसम्म ब्याज लिनेगरी मिटरब्याजमा पैसा लगानी गरेर काभ्रेका बीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा, अरुण सेढाईहरु रातारात करोडौं हुँदै अर्बपति भएका व्यक्ति हुन् ।

    साठीदेखि ७० को दशकमा उच्च प्रहरी अधिकृतकै संरक्षणमा वीरेन्द्रलालले मिटरब्याजको धन्दा गर्दैआएका छन् । ४० लाख ब्याजमा दिएर ४ करोडको घर बलजफ्ती पास गराउन लगाउने गरेको आरोप पनि उनीमाथि लागेका थिए । उच्च प्रहरी अधिकृतको रकम बीरेन्द्रलालले मिटरब्याजमा लगानी गर्ने गरेका थिए । प्रहरी अधिकृतको रकम लिएर ब्याजमा लगाउने गरेकाले उनीहरुकै नाम लिएर तर्साएर असुल्ने गरेका थिए । प्रहरी उच्च अधिकारीहरुसँगको साँठगाँठ र लाइसेन्स प्राप्त हतियारको आडमा श्रेष्ठसहितले मिटरब्याजको धन्दा चलाउने गरेका थिए ।

    प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालयमा धेरै उजुरी परेपछि सम्पत्ति शुद्धीकरण र मिटरब्याजमा छानबिन गर्नका लागि सरकारले श्रेष्ठको खोजी सुरु गरेपछि उनी फरार भएका छन् । पक्राउ पर्नसक्ने भएपछि उनी स्थलमार्ग हुँदै भारततर्फ पुगेको आशंका कतिपयले गरेका छन् । तर उनी मोवाइल नं. अफ गरी उच्च प्रहरी अधिकृतहरुसँग ह्वाट्सएप र भाइबरमार्फत् सम्पर्कमा रहेको पनि स्रोत बताउँछ । ८ बर्षअघि २०७५ जेठमा तत्कालीन महानगरीय अपराध अनुसन्धान महाशाखाले हतियारको आडमा धम्क्याएर मिटरब्याजमा लगानी गर्नेबिरुद्ध अप्रेशन नै चलाएको थियो । वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा ‘बले’, आङकाजी शेर्पासहितबाट महाशाखाले हतियारसमेत बरामद गरेको थियो ।

    क्यासिनोमा लगानीसमेत गरेका वीरेन्द्रलालले ‘पोइन्ट टु’ बन्दुक राख्न स्थानीय प्रशासनबाट लाइसेन्स लिएका थिए । उच्च प्रहरी अधिकारीसँगको साँठगाँठमा मिटरब्याजको कारोबारमात्र होइन, लाइसेन्स प्राप्त हतियारको आडमा गुण्डाराज चलाएका दर्जनौं उजुरी प्रहरी कार्यालयहरुमा पुग्थे । तर उनी पक्राउ पर्नबाट जोगिंदै मिटरब्याजको धन्दा गर्दैआएका थिए । २ सय प्रतिशतभन्दा चर्को व्याजमा रकम लगानी गर्ने र उनीहरूका घरबारी नै कब्जा गर्ने श्रेष्ठ अहिले अर्वपति बनेका छन् ।

    बीरेन्द्रलालले कुनै बेला गुन्डा लगाएर जग्गा प्लटिङमा समेत गुण्डागर्दी गरी तर्साएर हिस्सा लिने गरेको आरोप लागेको थियो । काभ्रेको कानपुर घर भएका वीरेन्द्रलाल सुरुमा काठमाडौंमा कालो मिटरवाला तीन पांग्रे टेम्पु चलाउँथे । ०५४–५५ सालमा थोत्रो मोटरसाइकलमा हिंड्ने बीरन्द्रलाल काठमाडौंमा दर्जनौं  घरदेखि जग्गाका मालिक छन् ।
    लाख ब्याजमा दिएर करोडौंको घरजग्गा वीरेन्द्रलालले हडपेपछि सडकको बास हुन पुगेका पीडितहरु धेरै छन् ।

    वालेन्द्र शाह नेतृत्वको सरकारले निष्पक्ष छानबिन गर्ने हो भने सबै सूचना दिन उनीहरु आउने अवस्था रहन सक्छ । तर, प्रहरीकै उच्च अधिकारीको रकम ब्याजमा चलाउने गरेकाले धेरै पीडित सार्वजनिक रुपमा आउन सकेका छैनन् ।

    सीआईबीले मिटरव्याजको धन्दा चलाउने वीरेन्द्रलाल श्रेष्ठ, बलराम सापकोटा, अरुण सेडाई, तेजेन्द्र गुरुङ, काभ्रेली समूहका छोटा डन बिष्णु लामा, दावा लामा, अजय श्रेष्ठ लगायतको अबैध सम्पत्तिमाथि छानबिन थालेको थियो । तर पाँच डनको मुद्दा मात्र सम्पत्ति शुद्धीकरण विभागमा दर्ता गरी अरुलाई उन्मुक्ति दिइएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार