काठमाडौं । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचन भाँड्नका लागि सदस्यता विवाद निकाल्दै केही जिल्लामा तालाबन्दी गरिएको छ । निर्वाचन प्रक्रिया बिथोल्नका लागि सदस्यता विवादको बिषय निकालेर तालाबन्दी गरिएको छ । निर्वाचन अवरुद्ध गर्न तालाबन्दी सुरु गरेपछि महासंघका पूर्वअध्यक्ष तथा पदाधिकारीहरुले महासंघको निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् ।
महासंघका पूर्वअध्यक्ष, उपाध्यक्ष र महासचिवहरुले बिहीबार संयुक्त विज्ञप्ति प्रकाशित गरी निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरेका छन् । महासंघका पूर्व पदाधिकारीले कुनै पनि दबाब र प्रभावमा नपरी निर्वाचन कार्यतालिका अनुसार निर्वाचन प्रक्रियालाई अगाडि बढाउन निर्वाचन समिति लगायत सम्बद्ध सबै पक्षलाई आग्रह गरेका छन् ।
महासंघको निर्वाचन आगामी चैत २५ मा तोकिएको छ । केन्द्रको मनोनयनपत्र दाखिलाको म्याद बिहीबार तोकिएकोमा शुक्रबारसम्मका लागि थपिएको छ । नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक प्रयक्ष निर्वाचन प्रणालीमार्फत् केन्द्र, प्रदेश र शाखा तथा प्रतिष्ठान र एशोसिएट्सहरुमा एकै साथ निर्वाचन हुन लागेको छ ।
महासंघको केन्द्रीय समितिको निर्वाचन कार्यतालिका अनुसार मतदाता नामावली प्रकाशन भइसकेको र केन्द्रीय समितिका लागि उम्मेदवारहरुको मनोनयनपत्र दर्ताको पूर्वसन्ध्यामा विभिन्न विवाद देखाएर निर्वाचन प्रक्रिया अवरुद्ध गराउन खोज्ने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ, महासंघका पूर्व पदाधिकारीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा महासंघका पूर्वअध्यक्ष तारानाथ दाहाल, धर्मेन्द्र झा, पूर्वउपाध्यक्ष खिलबहादुर भण्डारी, पूर्वमहासचिव ओम शर्मा, पोषण केसी, पूर्वसचिव रामजी दाहाल, पूर्वकोषाध्यक्ष तेजप्रकाश पण्डित, प्रेस युनियनका केन्द्रीय सल्लाहकार शिव लम्साल, प्रेस संगठनका अध्यक्ष महेश्वर दाहाल र प्रेस चौतारीका उपाध्यक्ष विश्वमणि सुवेदीले हस्ताक्षर गरेका छन् ।
पूर्व पदाधिकारीहरुले महासंघको निर्वाचन प्रक्रियालाई अवरोध गर्ने कुनै पनि गतिबिधि नगर्न र आपसी संवादका माध्यमबाट सदस्यता सम्बन्धी विवादको अविलम्ब निरुपण गर्न महासंघको नेतृत्वको ध्यानार्षण गराएका छन् ।