बीरगंज । सशस्त्र प्रहरी बलको पर्सा जिल्ला हेर्नेगरी बाहिनीबाट खटिएको टोलीले व्यापारीबाट घुस लिए पनि सामान बरामद गरेर भन्सारमा बुझाएको खुलेको छ ।
डीआइजी चन्द्रप्रकाश गौतमले पर्सा जिल्ला हेर्नेगरी बाहिनीमा कार्यरत डीएसपी दीपेन्द्र थापालाई पर्सा गणमा पठाएका छन् । यिनै डिएसपी थापाको कमान्डमा अहिले बीरगंजमा सशस्त्रका पाँच जना घुमुवा परिचालन गरिएको छ ।
टोलीमा हवल्दार राजाराम पटेल, हरिबहादुर थापा र सिपाहीहरू विनोदप्रसाद यादव, राजकुमार पटेल, हरेन्द्र साह गोठ छन् । यी घुमुवाहरू विगतका समयमा पनि पर्साका विभिन्न बीओपीमा कार्यरत रहिसकेका र अनियमिततामा मुछिएका हुन् ।
यी घुमुवाहरूले भिस्वाका व्यापारी शशिकान्तसँंग मासिक दररेट तोकेर लिने गरेको र रकम पाएपछि पनि सामान पक्राउ गरेको खुलेको हो । पीडित व्यापारी शशिकान्तका अनुसार उनले सशस्त्रका घुमुवाहरूलाई मासिक ५० हजार रूपैयाँ दिने गर्दथे । तर एकदिन उनीहरूले बाहिनीमा पनि बुझाउनुपर्ने भन्दै थप रकम घुस माग्दै आएको तर आफूले दिन नसक्ने भनेपछि कवाडीको कारखानामा छापा मारेर कर तिरेको र बीलबिजक भएको सामान पनि बरामद गरेको गुनासो गरेका छन् । उनीहरूले सोझै डिआइजीको भाग भनेर पैसा मागेको उनले बताए । छापा मार्ने क्रममा धेरै विवाद भएपछि हात हालाहालको अवस्था आएको थियो । त्यसपछि भिस्वा र सबैठुवा बिओपीबाट सशस्त्र प्रहरी बोलाइएको थियो ।
गएको मंगलबार राति करिब १ बजेतिर सो घटना भएको थियो । सशस्त्रले सामान पक्राउ गरी लग्यो तर तत्काल भन्सारमा बुझाएन । घुमुवा टोली र सबैठुवा बिओपीका निरीक्षक प्रकाश भुजेलले आफूसँग शुरूमा ५ लाख रूपैयाँ मागेको र बार्गेनिङ गरी गरी पछि तीन लाख मागेको बताउँदै शशिकान्तले आफूले रकम नदिएपछि तीन दिनपछि मात्रै सामान भन्सारमा बुझाएको दावी गरेका छन् ।
बुधबार डीएसपी दीपेन्द्र थापा आफैं भिस्वा बिओपी पुगेका थिए । यसरी घुमुवाहरूले सोझै डिआइजीको नाम लिदै बार्गेनिङ गर्दा पनि उनीहरूमाथि कारबाही त परै जाओस् छानबिन समेत भएको छैन ।