सोनाम शेर्पा
बाह्रबिसे । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघको निर्वाचनमा बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले हुलदंगा गरेका छन् । आफ्नो छोरो सोनाम शेर्पालाई कार्यसमितिको सदस्य वनाउन दबाब दिदै उनले हुलदंगा गरेका हुन् । बिधान अनुरुप मनोनीत गर्ने कोटामा आफ्नो छोरा सदस्य बनाउनुपर्ने उनको माग थियो । साथै आफूलाई बिशेष अतिथि बनाउनुपर्ने माग पनि उनले राखेका थिए ।
तीन दिनअघि अनुमति लिएर बाणिज्य संघको अधिबेशन उदघाटन कार्यक्रम राखिए पनि मेयर निमफुञ्जो शेर्पाले मदिरा सेवन गरेर अतिथिहरु प्रवेश गर्ने समयमा ढोका बन्द गरेका थिए । आफै सभाहलमा प्रवेश गरेका मेयरले आफू बिशेष अतिथि हुने पक्का भएपछि मात्र अतिथिलाई मञ्चमा प्रबेश गर्ने अनुमति दिएका थिए ।
ढोकामा उभिएर सवैलाई तथानाम गाली गर्दै मेयर शेर्पाले आफूले भने अनुरुप नभए बाणिज्य संघको उदघाटन कार्यक्रम नै सञ्चालन हुन नदिने बताएपछि आयोजकले बिन्ती गर्दै उनलाई बिशेष अतिथि बनाएको थियो । नवनिर्वाचित कार्यसमितिमा पनि आफू अनुकुलको ब्यक्ति राख्नुपर्ने मेयरको दवाव आएपछि निर्वाचन प्रक्रिया पनि अवरुद्ध भएको थियो । मेयर निमफुन्जोको दादागिरीका कारण बाध्यताबस उनका छोरालाई कार्यसमिति सदस्यमा मनोनीत गरिएपछि मात्र उनले कार्यक्रम संचालन गर्न दिएका थिए ।

मेयर निमफुन्जो शेर्पा
बिगतमा उद्योग बाणिज्य संघ सिन्धुपाल्चोकका बरिष्ठ उपाध्यक्ष पनि रहेका मेयर गुण्डागर्दी पृष्ठभूमिका हुन् । उनीमाथि बिभिन्न आयोजना तथा निकायमा गुण्डागर्दी गरेको आरोप पनि लागेको छ । भोटकोशी आयोजनामा पनि नाजायज माग राख्दै रकम असुल्न थालेपछि आयोजनाको अवधि पनि निर्धारित समय भन्दा धेरै पछि धकेलिएको छ ।