Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेस नेता कँडेलद्वारा दुई करोड ८२ लाख राजस्व छली


    आइतबार, चैत्र ८ २०७७
    675
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक एवं प्रबन्ध निर्देशक केशवराज कँडेलले झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी दुई करोड ८२ लाख रूपैयाँ राजस्व छली गरेको प्रमाण फेला परेको  छ । 

    आन्तरिक राजस्व अनुसन्धान विभागका अनुसार कँडेलको निर्माण कम्पनीले अन्य दुई निर्माण कम्पनीसँग मिलेर सर्वसाधारण व्यक्तिहरूको नागरिकता र सहीछाप दुरूपयोग गरी उनीहरूको नामबाट फर्महरू खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूअकर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर चुहावट गरेको पाइएको छ ।

    विभागले भरतपुर महानगरपालिका वडा नं. २ स्थित सन्तोषी निर्माण सेवा प्रालि (स्थायी लेखा नं. ३०००११३१७)का सञ्चालक, सन्तोषी/लोहनी जेभी (स्थायी लेखा नं. ६०३४४४०३८) र सन्तोषी/रौताहा जेभी (स्थायी लेखा नं. ६०३२८६३५९)का लिड पार्टनर एवं मुख्य कारोबारी केशवराज कँडेलसहित तीन जनाविरुद्ध दुई करोड ८२ लाख चार हजार छ सय दुई रूपैयाँ राजस्व छली गरेको अभियोगमा मुद्दा दायर गरेको छ । उक्त तीनवटै कम्पनीका मुख्य सञ्चालक केशवराज कँडेल, उज्वलराज कँडेल र लक्ष्मीकुमारी कँडेल रहेका छन् ।

    विभागका अनुसार सन्तोषी/लोहनी जेभी र सन्तोषी निर्माणले मूअ करतर्फ ६७ लाख ९५ हजार छ सय ५६ रूपैयाँ र आयकरतर्फ एक करोड २१ लाख ३१ हजार चार सय ५७ रूपैयाँ गरी एक करोड ८९ लाख २७ हजार एक सय १२ रूपैयाँ राजस्व चुहावट गरेको छ ।

    त्यस्तै, सन्तोषी/रौताहा जेभी र सन्तोषी निर्माणले मूअ करतर्फ ३३ लाख ३१ हजार २२ रूपैयाँ र आयकरतर्फ ५९ लाख ४६ हजार चार सय ६८ रूपैयाँ गरी ९२ लाख ७७ हजार चार सय ९० रूपैयाँ राजस्व चुहावट गरेको विभागले जनाएको छ ।

    कांग्रेसका नेता समेत रहेका कँडेलको कम्पनीलाई  विभागले एक करोड ८९ लाख २७ हजार एक सय १२ रूपैयाँ र सन्तोषी/रौताहा जेभी र सन्तोषी निर्माणलाई ९२ लाख ७७ हजार चार सय ९० रूपैयाँ बिगो रकम असुलउपर गरी जरिबाना र कैद सजाय माग दाबी गरी मंगलबार उच्च अदालत पाटनमा छुट्टाछुट्टै मुद्दा दायर गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार