Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कीर्ते सरकारी लिखत पेश गर्दै अरबौंका ठेक्का लिने महर्जन पक्राउ


    बिहिबार, चैत्र ५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • ६ मिनेट पाठ
  • काठमाडौं । सरकारका विभिन्न मन्त्रालय, विभााग र आयोजनाहरुको बोलपत्रमा कीर्ते सरकारी लिखत पेश गरी ठेक्का लिने भ्याली कन्ष्ट्रक्सन प्रालिका रविन्द्र महर्जनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)ले पक्राउ गरेको छ । सीआइबीले उनलाई बुधबार ललितपुरबाट पक्राउ गरेको हो । भ्याली कन्ष्ट्रक्सनका संचालक महर्जनले निर्माण नै नगरेको संरचना निर्माण गरेको अनुभवको प्रमाणपत्र पेश गरी अरबौं रुपैयाँका ठेक्का लिने गरेको खुलेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिको लेटरप्याड कीर्ते गरी रौतहटको चपुर–९ स्थित निर्माण कार्य नै नभएको बहुतल्ले अस्पताल भवन, मेडिटेसन हल र क्लास रुम र कम्पाउण्ड वालसमेत २०७१ भदौ २४ मा निर्माण कार्य सुरु गरी २०७३ असोज ८ मा सम्पन्न संस्थालाई हस्तान्तरण गरेको कीर्ते पत्र ठेकेदार महर्जनले बनाएर विभिन्न निकायको बोलपत्रमा पेश गरेका छन् ।

     सीआइबीले गरेको अनुसन्धानका क्रममा चपुर–९ मा बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिले कुनै अस्पताल वा सरंचना नै निर्माण नगरेको पाइएको थियो । संरचना नै निर्माण नगरी बनाएको कीर्ते पत्र महर्जनले धेरै ठाउँका ठेक्का लिनका लागि बोलपत्रमा पेश गरेको खुलेको छ । कामै नगरी गरेको कीर्ते लिखत बनाउने महर्जनले त्यो पत्र पेश गरी नारायणी अस्पताल बीरगंजको १ अर्ब ५० करोड रुपैयाँको ठेक्का हत्याउने प्रयासमा छन् ।

    सघन शहरी तथा भवन निर्माण कार्यालय पर्साले निकालेको टेण्डरको विवाद उच्च अदालत हुँदै अहिले सर्वोच्च अदालतमा विचाराधीन छ । २ बर्षदेखि अस्पताल निर्माण भ्याली कन्ष्ट्रक्सनले अदालतमा मुद्दा हालेर अवरुद्ध गरेको छ । नारायणी अस्पतालको टेण्डर डकुमेन्टमा पनि महर्जनले बौद्ध दर्शन तथा गुम्बा विकास समितिको कीर्ते अनुभवको प्रमाणपत्र र करचुक्तासमेत कीर्ते पेश गरेको छानबिन गरेमा खुल्ने भवन विभागका अधिकारी बताउँछन् ।

    बंगलादेशको एक कम्पनीको जेभीको पत्रदेखि क्रेडिट लाइनसमेत नक्कली भएको भएको उजुरीपछि अस्पताल नै नबन्ने देखेर भवन विभागका तत्कालीन महानिर्देशक मणिराम गेलालले उच्च अदालत अस्थायी इजलास बीरगंजको आदेश बिरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेका छन् । सर्लाहीदेखि बीरगंज क्षेत्रको भरपर्दो उपचार हुने नारायणी अस्पतालमा नेपालीमात्र होइन, भारतीयहरू समेत उपचार गर्न आउने गर्दछन् । पुरानो भवन अति साँघुरो भएपछि र बिरामीको चाप अत्यधिक बढेपछि सरकारले त्यो भवन भत्काएर नयाँ अस्पताल भवन बनाउनका लागि २ बर्षअघि टेण्डर गरेको थियो । तर कीर्ते कर्मका बादशाह भ्याली कन्ष्ट्रक्सनका महर्जनले अदालतमा मुद्दा माथि मुद्दा दिनाले गर्दा टेण्डर नै टुंगिन सकेको छैन ।

    करचुक्ता समेत नक्कली !

    भ्याली कन्ष्ट्रक्सनले बोलपत्र फाइलमा करचुक्ता समेत नक्कली पेश गरी ठेक्का लिने गरेकोबारेमा सीआइबीले अनुसन्धान गरिरहेको छ । सीआइबीले सरकारी निकायबाट भ्याली कन्ष्ट्रक्सनले ठेक्का पाएका कामहरुको विवरण  सार्वजनिक खरिद अनुगमन कार्यालयबाट झिकाउने र आन्तरिक राजस्व कार्यालयको विवरण पनि ल्याएर भिडाउन लागेको डीआइजी सहकुल थापा बताउँछन् । हामीलाई करचुक्तासमेत नक्कली पेश गरेको जानकारी आएको छ, आन्तरिक राजस्व विभागसँग विवरण माग्छौं, विवरण माग्दा कीर्ते फेलापरेमा अनुसन्धान गरी कारबाही गर्छौं ।

    भ्यालीले करचुक्ता नक्कली पेश गरी टेण्डर हाल्नेगरेकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो राखेको छ । खरिद अनुगमनक कार्यालयलाई अख्तियारले २०७७ माघ २० मा पत्र पठाई भ्याली कन्ष्ट्रक्सनको कीर्ते करचुक्ताको बारेमा सोधेको छ ।

    ठेक्का लिने, काम नगर्ने  

    भ्याली कन्ष्ट्रक्सन ठेक्का लिने र मोविलाइजेसनबापतको रकम लिएपछि कामै नगर्ने ठेकेदारको रुपमा बदनाम छ । भ्याली कन्ष्ट्रक्सनले मकवानपुरका १४ वटा विद्यालय भवन निर्माणको ठेक्का २०७७ बैशाखमै सकी बुझाउनेगरी लिएको थियो । तर २०७७ बैशाखमा १५ प्रतिशत पनि निर्माण गर्न सकेको छैन । १ बर्षअघि नै बुझाउनुपर्ने विद्यालय २०७८ सम्म २५ प्रतिशत पनि निर्माण भएका छैनन् ।

    hetauda.jpg

    भ्याली कन्ष्ट्रक्सनले ठेक्का लिएको हेटौंडा–२ स्थित सिद्धार्थ माविको अलपत्र भवन

    विद्यालय निर्माण चाँडोभन्दा चाँडो सक्नका लागि दबाब दिने उद्देश्यले मकवानपुरका १४ वटा विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र विद्यालयका प्रधानाध्यापकहरुले जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्रीबहादुर पाठकलाई २०७७ मंसिर १४ मा ध्यानाकर्षण गराएका थिए । तर पनि विद्यालय निर्माण अगाडि बढ्न सकेको छैन । मकवानपुरमा स्कुल निर्माणमा लाएका मजदुरहरुको ज्याला नदिएर भोकभोकै पारेका छन् । सामान खरिद गरेका कसैलाई भुक्तानी नदिएपछि ब्यपारी र सप्लायर्सहरु बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलकोमा गुहार माग्न गएका थिए ।  

     ठेकेदार महर्जनले विद्यालय चाँडो निर्माण गर्नू भन्दा उल्टै शक्तिकेन्द्र्रको मानिस हुँ भन्दै प्रधानमन्त्री केपी ओलीको समेत बदनाम गर्ने गरेका छन् । 

    धादिङमा १० वटा विद्यालयको पुनर्निर्माण अलपत्र

    भूकम्पबाट पूर्ण क्षति भएका धादिङका १० वटा विद्यालयको पुनर्निर्माणको जिम्मा भारतीय दूतावासले लिए पनि काम अहिलेसम्म अगाडि बढेको छैन । भवन निर्माणको ठेक्का भ्याली–श्याम सुन्दर जेभी निर्माण कम्पनीले पाए पनि अहिलेसम्म निर्माण सुरु नै गरेको छैन । विद्यालय निर्माण पूरा गरी २०७७ चैतमा बुझाउनुपर्ने  हो । तर निर्माण नै अत्तोपत्तो छैन । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार