काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले एउटा अपराध लुकाउन अरु सयौं अपराध गरेको खुलेको छ । ३ वर्ष अगाडि लिएको उपप्राध्यापक पदको लिखित परीक्षामा त्रिवि सेवा आयोगका तत्कालीन अध्यक्ष ईश्वरकुमार दत्त, सदस्य केदारप्रसाद घिमिरे र प्राध्यापक संघका सचिव नन्दकिशोर सिंहले सक्षम र काबिललाई फेल गराई अक्षमहरुलाई सेटिङ गरी पास गराएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र र प्रधानमन्त्री कार्यालयमा उजुरी परेको थियो ।
सेवा आयोगले विज्ञापन नम्बर ७ र ८ (२०७२÷०७३) गणित विषयको उपप्राध्यापक पदको परीक्षामा प्रश्न पहिले नै आउट गरी प्राध्यापक चेतराज भट्टले उत्तर लेखेर परीक्षार्थीलाई दिएको विषयमा अख्तियारले छानबिन गरी विशेष अदालतमा मुद्दा पनि दायर गरेको थियोे । तर अख्तियारले सेवा आयोगका अध्यक्ष दत्त, सदस्य घिमिरे र उत्तर पहिले नै परीक्षार्थीका हातमा पु¥याउने नन्दकिशोर सिंहलाई उन्मुक्ति दिई शिक्षक चेतराज भट्ट र रामविश्वास साहकाविरुद्ध मात्र मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले सेवा आयोगका पदाधिकारीलाई जोगाई भट्ट र साहलाई मात्र मुद्दा दायर गरेकाले अख्तियारको बदनियत ठहर गर्दै उक्त मुद्दामा २०७५ जेठ १४ मा दुबैलाई सफाई दिएको थियो । परीक्षा विधि नै पालना नगर्ने सेवा आयोगका पदाधिकारीलाई उन्मुक्ति दिएर अख्तियारले मुद्दा दायर गरेको फैसलामा उल्लेख छ । सेवा आयोगले उपप्राध्यापकको लिखित परीक्षामा प्रश्नपत्र मात्र सार्ने परीक्षार्थीलाई पास गराएको प्रमाणसहित उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरेको थियो ।
केन्द्रले आयोगलाई उपप्राध्यापकको परीक्षामा सहभागी ६७२ जनाको उत्तरपुस्तिका पुनः परीक्षण गर्न २०७३ माघ १२ गते पत्र लेखेको थियो । सेवा आयोगलाई विज्ञहरु राखी उत्तरपुस्तिका परीक्षण गर्न केन्द्रले निर्देशन दिएको थियो । तर सेवा आयोगले उत्तरपुस्तिका पुनः परीक्षण नै नगरी २ जना विज्ञहरुलाई प्रलोभनमा पारी सम्परीक्षण गरेको ब्यहोरोमा हस्ताक्षर गर्न लगाएको खुलेको छ ।
त्रिवि सेवा आयोगले २०७३ माघ १२ गते संपरीक्षण गर्ने विज्ञहरु प्रा.प्रकाश शाक्य र प्रा.रामविनोद चौधरीलाई जिम्मा दिने निर्णय ग¥यो । यी दुई प्राध्यापकले २ दिनमा ६७२ थान उत्तरपुस्तिका सम्परीक्षण गरेको भनी त्रिवि सेवा आयोगले संपरीक्षण प्रतिवेदन सतर्कता केन्द्रमा पठायो । २ दिनमा ६७२ थान उत्तरपुस्तिका २ जना विज्ञले कसरी परीक्षण गर्न सम्भव छ ? सेवा आयोगका पदाधिकारीहरुले प्रा.शाक्य र प्रा.चौधरीलाई प्रलोभन दिएर उत्तरपुस्तिका संपरीक्षण नै नगरी गरेको प्रतिवेदनमा हस्ताक्षर गराएर सतर्कता केन्द्रलाई झुक्याएको त्रिवि स्रोत बताउँछ ।
सेवा आयोगले २०७३ माघ १२ गते उत्तरपुस्तिका संपरीक्षण गर्न दिएको र माघ १४ गते ‘माथि उल्लेखित विषयको सम्पूर्ण उत्तरपुस्तिकहरु पुनः परीक्षण गर्दा सन्तोषजनक देखिन्छ’ भनी व्यहोरा लेखेर शाक्य र चौधरीलई हस्ताक्षर गर्न लगाएको पत्र नै फेला परेको छ । अचम्मको कुरा त के छ भने जुन विषयको विज्ञ हो उसले अर्कै विषयको उत्तरपुस्तिका संपरीक्षण गरेको भनी हस्ताक्षर गरेका छन् । प्रा.प्रकाश शाक्य Integral Transformation Distribution Theory पढाउने शिक्षक हुन् । तर त्रिवि सेवा आयोगले उनीबाट Topology, Real Analysis र Functional Analysis / Linear Algebra को संपरीक्षण गरेको भनी हस्ताक्षर गरेका छन् ।
यसबारेमा प्रा.प्रकाश शाक्यसँग हामीले भेटेरै तपाईंले नपढाएको र थाहा नभएको विषयको उत्तरपुस्तिका के आधारमा संपरीक्षण गर्नुभयो भनी सोध्दा उनले आत्तिदै भने–‘तत्कालीन सेवा आयोगका सदस्य केदार घिमिरेले बोलाई उत्तरपुस्तिकामा के लेखेको छ, उत्तर ठिक बेठिक छुट्याउने होइन, मात्र संपरीक्षण गर्दा सन्तोषजनक देखिएको भनी हस्ताक्षर गर्नुहोला भनेकाले गरेको हुँ ।’ मैले यो कुरा अनुसन्धानको क्रममा अख्तियारमा पनि बताएको थिएँ ।
मैले पढाउने पेपरबाट सेवा आयोगमा प्रश्नहरु सोधेको पनि थिएन, मलाई लेखिएको उत्तर जाँच गर्न आउँदैन, शाक्यले भने–आफ्नो विषय नभए पनि संपरीक्षण गरेको भनी हस्ताक्षर गरेकोमा प्रा.शाक्यले पश्चाताप व्यक्त गरे ।
सेवा आयोगका सदस्य केदार घिमिरेले सेटिङमा परीक्षा अगावै उत्तर विक्री गरी उपप्राध्यापकको परीक्षामा घुस लिएकाहरुलाई मात्र पास गराएका थिए । यसरी जालसाजीका साथ सेवा आयोगको पदको पूर्णरुपमा दुरुपयोग गरेका घिमिरे र अध्यक्ष ईश्वर दत्तलाई हदैसम्मको कारबाही गर्नुपर्नेमा अख्तियारले उनीहरुलाई उन्मुक्ति दिने निर्णय गरेको थियो । बृद्ध अवस्थाका शिक्षकहरुलाई ललाईफकाई २ दिनमा ६७२ थान उत्तरपुस्तिका संपरीक्षण गरेको भनी हस्ताक्षर गराएर सदस्य घिमिरेले अपराधमाथि अपराध गरेको खुलासा भएको छ ।
प्रा.शाक्य ७६ वर्षको उमेरमा घिमिरेको लहलहैमा लागेर प्रश्नसमेत सार्न नसक्नेहरुलाई उपप्राध्यापकमा पास गराउने र वैधता दिने सेवा आयोगका अपराधको साक्षी बनेका छन् । यथेष्ट प्रमाणहरु हुँदाहुँदै पनि अख्तियारले सेवा आयोगका अध्यक्ष दत्त, सदस्य घिमिरे र नन्दकिशोर सिंहलाई मुद्दा नचलाई उन्मुक्ति दिएको छ ।
हत्याराले एक व्यक्तिको ज्यान लिँदा जन्मकैदको सजाय हुन्छ तर हजारौं विद्यार्थीहरुलाई पढाउने अयोग्य अध्यापक भर्ति गरेर सेवा आयोगका पदाधिकारीले त्योभन्दा ठूलो शैक्षिक अपराध गरेका छन् । प्रश्नसमेत सार्न नसक्ने र उत्तरै नलेखी उपप्राध्यापक भएकाहरुले के पढाउलान् र तिनले पढाएका विद्यार्थीको भविष्य कस्तो होला ?
यस्तो संवेदनशील विषयमा अख्तियारले गम्भीरतापूर्वक छानबिन गरी दोषीमाथि कडा कारबाही नगरे भोलिका दिनमा यस्तो प्रवृत्तिले प्रश्रय पाउनेछ र हाम्रा विश्वविद्यालयहरुले उत्पादन गर्ने जनशक्ति विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने छैनन् । त्रिवि सेवा आयोगले लिएको उपप्राध्यापकको परीक्षामा अनियमितता गर्ने रामबहादुर पाण्डेले पश्चाताप गर्दै अक्षम्य अपराध गरेको ठानेर आत्महत्याकै गलत माग अवलम्बन गरिसकेका छन् । गणित विषयमा सोधिएका प्रश्नहरुको ज्ञान नै नभएका प्रा.शाक्य र चौधरीलाई प्रलोभन दिएर २ दिनमा ६७२ थान उत्तरपुस्तिका संपरीक्षण गर्न कति सम्भव छ त्यस विषयमा अख्तियारले थप छानबिन गर्नुपर्ने माग उक्त परीक्षामा सहभागी योग्य परीक्षार्थीहरुले गरेका छन् ।
उक्त परीक्षामा लिखितमा नियमानुसार पास गर्नुपर्ने संख्या कम गरी अन्तर्वार्तामा सामेल गरिएको थियो । जो–जो परीक्षार्थीले नन्दकिशोर सिंहमार्फत् दत्त र घिमिरेलाई दररेट अनुसार घुस दिएका थिए तिनलाई मात्र लिखितमा पास गरिएको पुष्टि भएको छ । सबैलाई अन्तर्वार्तामा उत्तीर्ण गराउनका लागि लिखितमा कम संख्याका परीक्षार्थी पास गरिएको थियो । उपप्राध्यापकमा परीक्षा दिने एक परीक्षार्थीका अनुसार अख्तियारले विषय विज्ञहरुलाई बोलाएर गणितको उत्तरपुस्तिका पुनः परीक्षण गर्ने हो भने धेरै उत्तरपुस्तिकामा नम्बर केरमेट गरेको, उत्तर मिलाउँदै नमिलाएको, प्रश्न उल्टोबाट लेखेर कापी मात्र भरेको भेटिनेछ । आजको साँघु साप्ताहिकबाट
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend