Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ३३ हजार महानगरबासीले लगाए कोभिडविरुद्धको भ्याक्सिन


    शनिबार, फाल्गुन २९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहितको टोली महानगरपालिका क्षेत्रभित्रका कोभिड विरुद्धको खोप केन्द्रको अनुगमन गर्ने सिलसिलामा शुक्रबार जनमैत्री अस्पताल बालाजु पुग्दा धादिङवेसीकी दण्डकुमारी ढकाल खोप लगाएर आराम गरिरहेकी थिइन् ।

    दण्डकुमारीको छेउमै पुगेर प्रमुख शाक्यले–‘खोप लगाएपछिको आमाको स्वास्थ्य अवस्था कस्तो छ,’ भनी प्रश्न गरेका थिए । प्रमुख शाक्यको प्रश्न पूरा हुन नपाउँदै दण्डकुमारीले थोरै मुस्कानसहित भनिन्–च्यास्स घोचे जस्तो लागेको थियो । बाबुले त खोप लगाइसक्नुभएछ । अहिले त्यस्तो केही गाह्रो महसुस भएको छैन ।’ छेउमै भेटिएका चिन्तामणि दवाडीले पनि दण्डकुमारीकै जस्तो अनुभव सुनाए  ।

    कुराकानीकै सिलसिलामा प्रमुख शाक्यले देशको प्रधानमन्त्री, मन्त्रीहरु र आफूले समेत खोप लगाइसकेको भन्दै आम नागरिकलाई पनि ढुक्क भएर खोप लगाउन हौसला प्रोत्साह गर्ने उदेश्यले खोप केन्द्रको अनुगमनमा निस्केको बताए ।

    ‘तपाईँहरुले खोप लगाउनुभयो अब यो सन्देश टोलटोलमा लिएर जानुहोला र सबैलाई खोप लगाउन प्रोत्साहन गर्नुहोला,’ शाक्यले भने, ‘खोप लगाउँदा कुनै समस्या हुँदैन । यदि त्यस्तो केही समस्या देखिहाल्यो भने ३२ वटै वडाका जनप्रतिनिधिहरु तपाईँको घर–दैलोमै आएर आवश्यक सहयोग गर्न तयार छन् ।’

    कोप केन्द्रमै खोप लगाएपछि काठमाडौँ महानगरपालिकाले व्यवस्था गरेको चिया–कुकिज खाँदै आराम गरिरहेकी धनसरी गुरुङ, सिताकुमारी राना र महेश्वर अधिकारीले पनि काठमाडौँ महानगरपालिकाका प्रमुखसहितको टोली अनुगमनमा आउँदा खुशी लागेको भन्दै सरकार र महानगरपालिकालाई धन्यवाद दिए  । ‘सरकारले यति छिटो कोरोनाविरुद्धको खोपको व्यवस्था गर्ला र हामीले यति सजिलै लगाउन पाउँछौँ भन्ने कल्पना पनि गरेका थिएनौँ,’ उनीहरुले एकै स्वरमा भने, ‘अझ काठमाडौँ महानगरपालिकाले यसरी खोप केन्द्रमा गरेको व्यवस्थापन र अनुगमनले थप खुशी भयौँ । अब टोलछिमेकका सबैलाई खोप लगाएर ढुक्क हुन आग्रह गर्छौ ।’ 

    शुक्रबार नै प्रमुख शाक्य प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सम्वन्धित केन्द्रका वडाका जनप्रतिनिधिसहित विरेन्द्र सैनिक अस्पताल छाउनी र ओम अस्पताल एण्ड रिसर्च सेन्टर चावहिल केन्द्रमा पनि अनुगमनका लागि पुगेका थिए । प्रमुख शाक्य ओम अस्पताल पुग्दा अस्पतालका अध्यक्ष डाक्टर आनन्द श्रेष्ठ जेष्ठ नागरिकलाई खोपलगाउन प्रोत्साहन दिइरहेका थिए । उनले चावहिल केन्द्रबाट मात्रै बिहीबारसम्म १२ सय ८७ पुरुष र १२ सय ३७ महिलाले खोप लगाएको र कसैलाई पनि गम्भीर ज्वरो आउनेलगायतको ठूलो समस्या नदेखिएको भन्दै ढुक्कसँग खोप लगाउन आग्रह गरे । ‘अहिलेसम्म धेरै समस्या भयो भन्ने गुनासो आएको छैन,’ डाक्टर श्रेष्ठले भने, ‘अहिले काठमाडौँ महानगरपालिकाले गरेको व्यवस्थापन सन्तोषजनक छ । सबै मिलेर कोभिडविरुद्धको युद्ध जित्नुपर्छ ।’

    अनुगमनकै सिलसिलामा प्रमुख शाक्यले अहिले पनि केही नागरिकमा कोरोनाविरुद्धको खोप लगाउनु हुन्न भन्ने भ्रम रहेको भन्दै त्यस्तो भ्रममा नपरी ढुक्कसँग खोप सुविधा लिन आग्रह गरे । ‘आम नागरिकमा सकारात्मक सन्देश दिन सबै भन्दा ठूलो भूमिका सञ्चारमाध्ययमकै हुन्छ,’ शाक्यले भने, ‘तपाईँहरुले सकारात्मक सन्देश दिनुहोला । आम नागरिकलाई खोपबाट बञ्चित नगराउने दायित्व सरकारको हो ।’

    उनले सम्पन्न मुलुकहरुमा समेत अहिले खोपको पहुँच नपुगेको अवस्थामा नेपालीले खोप सुविधा पाउनु गौरवको कुरा भएको बताए ।’ उनले काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका १४ स्थानमा खोप केन्द्रको व्यवस्था भएको भन्दै आफूलाई पायक पर्ने स्थानमा खोपलगाउन पनि आग्रह गरेका छन् । ‘खोपबाट कसैलाई बञ्चित गराउनु हुन्न भन्ने हाम्रो अभियान हो,’ शाक्यले भने, ‘प्राथमिकतामा परेका तपाईँहरुलाई जहाँ पायक पर्छ त्यही केन्द्रमा पुगेर खोप लगाउनुहोला । महानगरपालिका सहजीकरण गर्न तयार छ ।’

    शहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले पनि फागुन २३ बाट ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई १० दिनसम्म खोप लगाउनका लागि काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका १४ स्थान तोकिएको भन्दै प्राथमिकतामा परेका सबैलाई खोप लगाउन आग्रह गरे । उनले फागुन २८ गतेसम्म ३३ हजार १ सय ३७ जनाले खोप लगाएको बताए  । त्यसमध्ये पुरुष १७ हजार ३ सय ८९ र महिला १५ हजार ७ सय ४८ रहेको पनि जानकारी दिएका छन् ।  

    उनले काठमाडौँ महानगरपालिका सबै केन्द्रमा चिया, कुकिज, फलफुल, पानी र टेण्टको व्यवस्था गरेको पनि जानकारी दिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार