काठमाडौं । कांग्रेस सांसदहरूले प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्नुपर्ने वेला आएको भन्दै अविश्वासको प्रस्ताव ल्याउन पार्टी नेतृत्वलाई सुझाब दिएका छन् । संसदीय दलको शुक्रबारको बैठकमा अधिकांश सांसदले प्रधानमन्त्री ओलीको विकल्प खोज्नकै लागि भए पनि अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्ने मत राखेका छन् ।
संसदीय दलको बैठकमा २९ जना सांसदले धारणा राखेका थिए । कतिपयले नेकपा विभाजन हुँदा कमजोर बनेको शक्तिसँग सहकार्य गर्नुपर्ने तर्क पनि गरे । तर, नेतृत्वले भने अहिले अविश्वासको प्रस्ताव लैजाने स्थिति नरहेको जवाफ दिएको छ ।
ओलीलाई पुनस्र्थापित प्रतिनिधिसभामा प्रधानमन्त्रीका रूपमा स्विकार्न नसकिने, शासन गर्ने नैतिकता गुमाइसकेको र ओलीको विकल्प खोज्न कांग्रेसले नै अग्रसरता लिएर अविश्वासको प्रस्ताव दर्ता गराउनुपर्नेमा उनीहरूको जोड छ ।
‘आफैँले विघटन गरेको प्रतिनिधिसभामा ओलीले प्रधानमन्त्रीका रूपमा काम गरिरहन मिल्दैन । यो संसद्ले ओलीलाई प्रधानमन्त्री मान्नुहुँदैन । उनलाई हटाउन हामीले चाल्नुपर्ने कदम चाल्न तयार हुनुपर्छ । यही बैठकबाट आधिकारिक रूपमा ओलीको राजीनामा मागौँ,’ सांसद गगन थापाले भनेका थिए । थापाले ओलीको विकल्प खोज्नुपर्ने, तर सरकारमा जान नहुने भनेका थिए ।
सांसद भरतकुमार शाहले ओलीले राजीनामा दिन अटेरी गरे कांग्रेसले अग्रसरता लिएर उनलाई हटाउनुपर्ने धारणा राखेका थिए । ‘ओलीको कदमलाई पार्टीले असंवैधानिक भनेर आन्दोलन नै गरेको हो । अब अदालतले पनि उनलाई गलत साबित गरेको छ । यस्तो अवस्थामा ओलीले आफैँ नैतिकताका आधारमा राजीनामा दिनुपर्ने हो । उनले अटेरी गरेको हो भने हामीले विकल्प खोज्नुपर्छ । यसमा पार्टीले अग्रसरता लिनुपर्छ,’ शाहको भनाइ थियो ।
त्यसैगरी, सांसद भीमसेन दास प्रधानले प्रधानमन्त्रीका रूपमा संसद्मा प्रस्तुत हुने आधार गुमाएका ओलीको विकल्प खोज्नुपर्ने बताए । ‘ओलीले शासन गर्ने आधार आफैँले गुमाइसके । राजनीतिक, संवैधानिक र नैतिक सबै हिसाबले उनी गलत साबित भइसके । अब उनलाई प्रधानमन्त्रीका रूपमा संसद्मा प्रस्तुत हुने आधार के छन् ? त्यसैले ओलीको विकल्प खोज्नुपर्छ,’ प्रधानको भनाइ थियो, ‘तर, सरकारमा जाने वा नजाने भन्ने विषयमा चाहिँ पार्टीको केन्द्रीय समितिमा छलफल गरेर मात्रै निर्णय गरौँ ।’
डा. डिला संग्रौलाको भनाइ थियो, ‘कांग्रेसले ओली सरकारको कदमलाई असंवैधानिक भनेर विरोध गर्ने, अनि उनैसँग सहकार्य गरेर जाने कुरा कसरी सम्भव हुन्छ ? ओलीलाई अदालतले गलत साबित गरिसकेको छ । त्यसैले अहिले ओलीसँग सहकार्य गर्नै हुँदैन । ओली सरकारको विकल्प खोज्नुपर्छ ।’
दिव्यमणि राजभण्डारीले प्रमुख प्रतिपक्षको हैसियतले कांग्रेसले विकल्प खोज्नुपर्ने बताए । ‘सरकारले विधिविधान मिचेकै हो । हामीले सरकारको कदमलाई असंवैधानिक भनेकै हौँ । यति भनिसकेपछि अब ओलीसँगै सहकार्य गर्नुहुँदैन । प्रमुख प्रतिपक्षको हैसियतले यसको विकल्प खोज्नुपर्छ,’ उनले भने । आजको नयाँपत्रिका दैनिकबाट