सभापति कृष्णगोपाल तामाङ
काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीबाट २०७५ सालमा उदघाटन भएको जलवायु सम्मेलनको हिसावकिताब अझै प्रष्ट नपारिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको आयोजनामा भएको उक्त जलवायु सम्मेलनको हिसाबकिताव पारदर्शी गर्नुपर्ने माग उजुरीमा गरिएको छ ।
२०७७ फागुन १४ गते दर्ता गरिएको उजुरीको दर्ता नम्बर सी–२५४८० रहेको छ । समन्वय समितिको अनियमितता र जयवायु सम्मेलनको हिसावकितावको फरक फरक उजुरी दर्ता भएको जानकारी नेपालफेसलाई प्राप्त भएको छ । जलवायु सम्मेलनको सहआयोजकमध्ये एक संस्था र समन्वय समितिका कर्मचारीले भिन्नाभिन्नै उजुरी दर्ता गराइएको छ ।
जिल्ला समन्वय सिन्धुपाल्चोकको आयोजनामा मेलम्ची नगरपालिकाको गुफाडाँडामा आयोजना गरेको सो सम्मेलनको हिसाव अझै सार्वजनिक गरिएको छैन । बिभिन्न संघसंस्था सहआयोजक रहेको सम्मलेनमा अनियमितता भएको उल्लेख गरिएको छ । देशभरका जिल्ला समन्वय समितिका प्रमुखहरुको सहभागिता रहेको सम्मेलनमा प्रत्येक जिल्ला समन्वय समितिबाट रकम संकलन पनि गरिएको थियो ।
स्थानीय सहआयोजकले पनि लाखौं रुपैयाँ आयोजकलाई दिएका थिए । जिल्लाका गिटी, बालुवा व्यवसायीले पनि लाखौं रुपैयाँ सहयोग गरेका थिए । जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ संयोजक रहेको सम्मेलनको आर्थिक व्यवस्थापन पनि उनी आफैले जिम्मा लिएका थिए । कार्यक्रम सम्पन्न भए लगत्तै हिसाव मागे पनि सार्वजनिक नगरेको सहआयोजक मध्येको एक संस्थाले जानकारी दिएको छ । उक्त सम्मेलनका नाममा जिल्लाका विभिन्न सरकारी निकायहरुलाई रकम जम्मा गर्न लगाई उक्त रकम व्यक्तिगत घर निर्माणमा प्रयोग गरेको उनीमाथि आरोप लागेको छ । यस प्रकारका सम्पूर्ण आम्दानी तथा स्रोतको दुरुपयोग गरी जम्मा गरेको रकम समेत विगोमा कायम गरी जरिवाना असुल्न पनि उजुरीमा अनुरोध गरिएको छ ।
कुनै रोजगार नभएका प्रमुख तामाङले भर्खरैमात्र संघीय राजधानीमा भब्य महल पनि खरिद गरेको कारण त्यसको पनि छानविन गर्न पनि उजुरीमा माग गरिएको छ । उनले करिब २ करोड रुपैयाँमा काठमाडौंको पेप्सीकोला (बरुण बेभरेज) सँगै उक्त घर खरिद गरेका छन् ।
साथै समन्वय समितिका सभापति तामाङले ढुंगागिटी, बालुवा उत्पादन तथा प्रशोधन क्षेत्रमा उठ्नुपर्ने राजस्व पूर्णरुपमा नउठाई ब्यक्तिगत रुपमा लाभ लिने गरेको पनि उजुरीमा उल्लेख छ । आफ्नो निजी आम्दानीका लागि ब्यवसायीलाई धम्क्याउने गरेका छन् । कार्यालयका विकास निर्माणका काम तेस्रो पक्षलाई ठेक्का दिई ठेकेदारले भवन हस्तान्तरण नगर्दै जिल्ला समन्वय समितिको प्रमुखको नाममा मर्मत तथा विभिन्न शीर्षकमा रकम निकासा गरी अनियमितता गरेका छन् ।
समन्वय समितिको प्रमुखको आवासको नाममा समेत उनले ठूलो रकम निकासा गराएको उजुरीमा उल्लेख छ । सभापति तामाङले उठेको राजस्व समेत सरकारी खातामा दाखिला नगरेको उजुरीमा उल्लेख छ ।
सिन्धुपाल्चोक जिल्ला समन्वय समितिका सभापति कृष्णगोपाल तामाङसँग जलवायु सम्मेलनको हिसाबकिताव पारदर्शी नगरेको र जिल्लाका प्राकृतिक स्रोतको अबैध उत्खनन् र प्रशोधन गर्ने क्रसरवालासँग लाभ लिएर काठमाडौंमा घर खरिद गरेकोबारेमा जिज्ञासा राख्दा उनले भने–‘जलवायु सम्मेलन ५० लाख रुपैयाँमा सम्पन्न भएको हो, कसरी मैले २ करोडमा घर किनें ?’ उनले भने–‘मैले घर किनेको प्रमाण पेश गर्दा राम्रो हुन्छ ।’
तामाङले प्रमाण पेश गर्न भने पनि सिन्धुपाल्चोकका एक नेताका अनुसार उनले घर किनेको खुसियालीमा सांसद शेरबहादुर तामाङसहितका आफ्ना नजिकका नेताहरुलाई बोलाएर भोज गरेको प्रमाण सुरक्षित रहेको बताए ।
सभापति तामाङ काठमाडौंको जोरपाटीस्थित चामुण्डा माध्यमिक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष पनि रहेका छन् । उक्त स्कुल भूकम्पपछि पुननिर्माण भइरहेको छ । उक्त स्कुल निर्माण गर्ने ठेकेदारसँग पनि स्कुलको गुणस्तरमा भन्दा कमिसनमा ध्यान दिने गरेको आरोप उनीमाथि लागेको छ ।