Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री कृष्णगोपाल श्रेष्ठद्धारा दरबार हाई स्कूल निरीक्षण


    शनिबार, फाल्गुन १५ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ। विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भई पुनःनिर्माण सम्पन्न भएको दरबार हाई स्कूलको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले निरीक्षण गर्नुभएको छ ।

    चिनियाँ नयाँ वर्षका अवसरमा शुक्रबार आयोजित निरीक्षण कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी हुनुभएको थियो । सो अवसरमा उहाँहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक, स्वास्थ्य र खेलकूद सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

    भूकम्पले भत्किएको दरबार हाई स्कूल चीन सरकारको रु ८५ करोड अनुदान सहयोगमा पुनःनिर्माण सम्पन्न भएको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटाले जानकारी दिनुभयो ।

    नवनिर्मित विद्यालयको साँचो आयोजना निर्देशक सापकोटाले उद्घाटन समारोहका अवसरमा कात्तिक ५ गते नै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई हस्तान्तरण गर्नुभएको थियो । चार तलाको विद्यालय भवनमा ४२ कोठा छन् । ‘फाएर फाइटिङ’, ‘सेक्युरिटी’, पुस्तकालय, प्रयोगशालाको व्यवस्थासमेत भवनमा रहेको छ ।

    भवनमा भानु र संस्कृत माध्यमिक विद्यालय गरी दुई विद्यालय सञ्चालन भइरहेका छन् । विसं १९१० मा थापाथली दरबारमा दरबारियालाई पढाउन स्थापना गरिएको विद्यालयपछि भवन बनाएर रानीपोखरीमा सारिएको थियो । विसं १९४८ देखि यहाँ संस्कृत माध्यमिक विद्यालय पनि सञ्चालनमा आएको हो । विद्यालयमा तीनधारा संस्कृत पाठशालामा बस्ने विद्यार्थी अध्ययन गर्दै आएका छन् । दरबार हाई स्कूललाई विसं २०२४ देखि भानु माध्यमिक विद्यालय नामाकरण गरिएको हो ।

    पुनःनिर्माणका क्रममा दुवै विद्यालयलाई प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ परिसरमा सारिएको थियो । विद्यालय भवन उद्घाटनका बेला कोरोना महामारीका कारण अनलाइन माध्यमबाट पढाइ भइरहेकामा गत माघदेखि महानगरपालिकाले भौतिकरुपमा विद्यालय सञ्चालन गर्न थालेपछि दुवै विद्यालयका पठनपाठन नवनिर्मित विद्यालयमा भइरहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार