काठमाडौं । कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा आधारहीन रहेको विज्ञ चिकित्सहरूले बताउँदै भ्रमपूर्ण कुरा रहेको औंल्याएका छन्। परिवार कल्याण महाशाखाका डा. पोखरेलले कोभिड १९ विरुद्धको खोपले बाँझोपना ल्याउँछ भन्ने कुरा भ्रम फैलिएको जनाउँदै यस्तो भ्रमको पछि नलाग्न अनुरोध गरेका छन्।
यसको सट्टा गर्भवतीले कोभिड १९ बिरुद्धको खोप लगाउन पाउँदैनन्। कुनै महिलाले पहिलो डोज खोप लिएका दोस्रो डोज लिनु अघि नै गर्भवती बनेमा दोस्रो डोजबाट बंचित हुने हुनाले नलागउन सुझाएको हो। ‘ बिकसित देशमा बच्चा जन्माउने योजना हुन्छ, नेपालमा त्यो नहुने हुनाले सन्तान जन्माइहाल्ने दम्पत्तिको हकमा यस्तो सन्देश दिएको हो,’ डा. पोखरेलले भने।
कोभिड १९ विरुद्धको खोप व्यवस्थापन संयोजक डा. श्यामराज उपे्रतीका अनुसार यो खोप गर्भवती, सुत्केरी र १८ वर्ष मुनिकाहरूको लागि कति सुरक्षित छ भन्ने विषयमा अध्ययन नभइसकेकोले गर्भवतीले नलाउनु भनिएको हो। ‘ प्रजनन प्रक्रियासँग यो खोपको कुनै सम्बन्ध छैन, गर्भवतीले नलागाउनु भनेको गर्भवतीमा कति सुरक्षित छ भनेर अध्ययन नभइसकेकोले हो,’ उनले भने।
खोपबारे फैलिएको भ्रम तथा अन्य कारणले दुई चरणमा चलेको खोप अभियानमा
लक्षित संख्या भन्दा २० प्रतिशत कमले खोप लिएको महाशाखाको भनाइ छ। सरकारले दुई चरणमा गरी ४ लाख ८५ हजारलाई खोप दिने लक्ष्य लिएकोमा दोप अभियानमा जम्मा २ लाखले मात्र खोप लिएका छन्। कोभिड १९ विरुद्धको खोप पहिलो डोज लगाएको ८ हप्तापछि १२ हप्तापछि दिएमा खोपको प्रभावकारी देखिने विश्व स्वास्थ्य संगठनले जनाएको छ। यो खोपको असर पाका उमेरकाहरूको तुलनामा युवाहरूमा बढी देखिएको पाइएको छ। यो खोपमा जीवित भाइरस नभएर मृतक प्रोटिन मात्र राखिएको र त्यसले शरीरमा एन्टिबडी बनाउने काम गर्छ।
नेपालमा कोभिड १९ विरुद्धको खोप अभियान चलिरहेको बेला खोप बारे चलेको हल्लाको पछि नलाग्न सोमबार स्वास्थ्य विज्ञहरूले सचेत हुन आग्रहसमेत गरे। स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरूले यो खोप सुरक्षित रहेकोले सबैलाइै लिनको लागि सुझाएका छन्।
नेपालमा कोभिड १९ विरुद्धको खोप कोभिडशिल्ड लगाएका २ लाख जनामै कुनै गम्भीर समस्या नभएको उनीहरूको दाबी छ। ‘नेपालमा कोरोना बिरुद्धको खोप लिएका २ लाख जनामै अहिलेसम्म कुनै गम्भीर समस्या छैन, खोप सुरक्षित छ,’
कोभिड १९ खोप व्यवस्थापन समितिका संयोजक डा. उपे्रतीले भने।
नेपालमा खोप लिएका २ लाख मध्येमा ८ जनामा केही बढी असर देखिए पनि अन्यलाई खास समस्या नभएकोले खोप सुरक्षित रहेको परिवार कल्याण महाशाखा प्रमुख डा. तारानाथ पोखरेलले बताए। ‘अहिलेसम्म कोभिडशिल्ड खोपको कारण न नेपालमा कसैको मृत्यु भएको छ न भारतमा,’ उनले भने। पहिलो चरणमा खोप गरिएको एक सर्वेक्षणअनुसार खोप लिएका ८ सय जनामा २४ घण्टाभित्रमा टाउको दुख्ने, जाडो हुने र जीउ दुख्नेलगायतका लक्षणहरू देखिएका थिए। ‘अहिलेसम्म कसैलाई गम्भीर असर देखिएको छैन,’ डा. पोखरेलले भने।
अन्य खोपले जस्तै सामान्य लक्षण देखाएकोमा नयाँ रोगको खोप भएकोले आममानिसमा विभिन्न धारणा बनेको उनीहरूको भनाइ छ। ‘ कोभिड १९ विरुद्धको खोप लिनु भनेको सुरक्षाको बुटी लिएसरह हो,’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका जनस्वास्थ्यविद तथा प्राध्यपक डा. केदार बरालले भने। ‘ इन्फुलुन्जाको खोपमा पनि भोलिपल्ट ज्वरो आउने, टाउको दुख्ने हुन्छ’ उनले भने। केही असर भए पनि प्रत्येक खोप केन्द्रमा औषधीको समेत व्यवस्था भएकोले डर मान्नु पर्ने कुनै कारण नभएको डा. बरालले बताए।
सोही अन्तरक्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले यो खोप तेस्रो चरणको परिक्षण सकिएर मात्र नेपालमा आएको हुनाले सुरक्षित रहेको बताए। सोही क्रममा औषधि व्यवस्था बिभागका महानिर्देशक भरत भट्टराईले कोभिडशिल्डलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार मात्र स्वीकृति दिएकोले खोप सुरक्षित भएको दाबी गरे। यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन् ।