काठमाडाैं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल, काठमाडौंका नायब सुब्बा र लेखापढी व्यवसायीलाई घुससहित पक्राउ गरेकाे छ।
आयोगकाे टंगालबाट खटिएकाे टोलीले विभागका नायब सुब्बा नरेन्द्र चन्द र लेखापढीको काम गर्ने रामबाबु दाहाललाई ८ हजार रूपैयाँ घुससहित पक्राउ गरेको हो।
अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालका अनुसार उनीहरू दुबै जनालाई विभाग परिसरबाट आइतबार नियन्त्रणमा लिएको हो। नासु नरेन्द्र चन्दले सेवाग्राहीलाई सेयर पुँजी बढाएको प्रमाण पत्र लिन लेखापढी रामबाबु दाहाललाई भेट्न भनेका थिए।
त्यसक्रममा उनले कर्मचारीहरूमा समेत मिलाउनु पर्छ भन्दै घुस मागेका थिए। घुस मागेको भन्ने सूचनाको आधारमा टंगालबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । थप अनुसन्धान भइरहेकाे अख्तियारले जनाएकाे छ।