कलैया, १५ बैशाख । प्रहरीले मागेजति घुस नपाएका कारण आफुहरूलाई पक्राउ र उद्योगमा छापा हान्ने काम गरेको व्यापारीले आरोप लगाएका छन् ।
जितपुर प्रहरी चौकीका प्रहरीले दाल व्पापारीहरूसंग ठूलो रकम मागेको र नदिएपछि छापा हान्ने र पक्राउ गरेको उनीहरूको आरोप छ । प्रतिष्ठित व्यापारी बाबुलाल चाचनका भाइ मोहन अग्रवाल चाचनसँग ठूलो रकम मागेको र नदिएपछि उनलाई नियोजित रूपमा पक्राउ गरिएको उनीहरूको आरोप छ ।
जितपुर प्रहरी चौकीमा अहिले सई सागर राणा कार्यरत छन् । उनी प्रहरीमा जागिर खाएदेखि वारा पर्सा छोडेका छैनन् । जहाँ दरवन्दी भए पनि कहिले घुमुवा,कहिले राम्रो थाना चौकी अनि असुली धन्दा गर्दैआएका राणा लामो समयदेखि बारा पर्सामा बसी अकूत सम्पत्ति कमाउने सईका रुपमा चिनिन्छन् । नाकाबन्दीको समयमा पर्साका एसपी राजुबाबु श्रेष्ठ र सई राणाले जति धेरै कसैले नकमाएको अहिले पनि बीरगंजमा चर्चा छ । एसपी कृष्ण पंगेनीलाई समेत दिनुपर्ने र डिआईजीकहाँ समेत बुझाउनु पर्ने भन्दै जितपुर प्रहरीले रकम असुली गरिरहेको व्यापारीहरूको गुनासो छ ।
मसुरोको दाल कालोबजारी गरेको आरोपमा बारा पर्सा औद्योगिक करिडोरका दुई उद्योगीसहित ५ जना पक्राउ परेका छन् । प्रहरीले उद्योगीहरू मोहनलाल चाचन, पवनकुमार झासहित उनका प्रतिनिधिहरू सुनिल शर्मा, सुरेशप्रसाद र सन्तोष झालाई पक्राउ गरेको हो ।
लकडाउनको मौका छोपेर उनीहरूले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको प्रहरीको दाबी छ । प्रहरीका अनुसार पक्राउ परेका चाचन बाराको परवानीपुर गाउँपालिकको चैनपुरस्थित नारायणी मोर्डन पल्सेस इन्डष्ट्रिजका सञ्चालक र सुनिल त्यसैका प्रतिनिधि हुन् । पवन, बाराकै छातापिपरास्थित कृष्ण आधुनिक दाल उद्योगका सञ्चालक र सुरेश उनका प्रतिनिधि हुन् भने सन्तोष बाराको परवानीपुरको लिपनीमाल स्थित महावीर ओभरसिज प्रालिका प्रतिनिधि हुन् ।
उद्योगहरुले बढी मूल्यमा मसुरोको दाल बिक्री गरेको जनगुनासोका आधारमा अनुगमन टोलीले तयार पारेको प्रतिवेदन अनुसार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।