विराटनगर, १५ बैशाख । पछिल्लो समयमा उदयपुरको भुल्के क्षेत्रमा एकैपटक १२ जनामा कोरोना संक्रमित भएपछि १ नम्बर प्रदेशमा सतर्कता बढाइएको छ । र, कोरोना परीक्षणलाई तीव्रता दिइएको छ । प्रदेश १ मा हालसम्म पाँच हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ ।
द्र्रुत परीक्षण विधि (आरडीटी) बाट आइतबारसम्म जम्मा ४ हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पीसीआर) विधिबाट ९७३ जनाको नमुना परीक्षण गरिसकिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको सूचना डेस्कका अनुसार आरडीटीबाट तीन हजार ८०८ जना पुरुष र ७३७ जना महिलाको परीक्षण भएको छ । पीसीआरतर्फ ७२० पुरुष र २५३ जना महिलाको परीक्षण भएको छ । प्रदेशमा ३० जनामा हालसम्म कोरोना सङ्क्रमण देखिएको छ ।
प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या आइतबारसम्म कूल एक हजार ७७१ जना पुगेको छ । ४७ जना घर गएका छन् ।
क्वारेन्टाइनमा ३०८ महिला र एक हजार ४६३ पुरुष छन् । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन् । एक जना डिस्चार्ज भएका छन् । होम क्वारेन्टाइनमा जम्मा पाँच हजार ७६० जनामा महिला एक हजार दुई जना र पुरुष चार हजार ७५८ जना रहेका छन् ।