Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • संसद् विघटनविरुद्ध हुने आन्दोलनको नेतृत्व कांग्रेसले लिने


    बिहिबार, माघ २९ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । लोकतन्त्र र संविधान रक्षाका लागि हुने आन्दोलनको नेतृत्व लिन कांग्रेस तयार देखिएको छ । तर, व्यक्तिसँग नभई पार्टीसँग आन्दोलन हुने कांग्रेसले बताएको छ ।

    बुधबार नेकपाको प्रचण्ड–माधव पक्षबाट खुला सभाबाटै कांग्रेसलाई संयुक्त आन्दोलनको प्रस्ताव आएपछि कांग्रेसले संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व लिन तयार रहेको बताएको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि कांग्रेस आन्दोलनको नेतृत्व लिन तयार रहेको बताए ।

    ‘संविधानको रक्षाका लागि २०४६ र २०६२-६३ मा पनि कांग्रेसले नेतृत्व लियो, फेरि पनि संविधान र लोकतन्त्रको रक्षाका लागि आन्दोलनको नेतृत्व गर्न कांग्रेस तयार छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले राजधानीसँग भने ।

    कांग्रेसले प्रतिनिधिसभा विघटनको निर्णयलाई केन्द्रीय समिति बैठकबाटै असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै हाल एक्लै आन्दोलनका कार्यक्रम गर्दै आइरहेको छ । सो सन्दर्भमा वरिष्ठ नेता पौडेलले संयुक्त आन्दोलनका लागि कांग्रेस तयार नभएको नभई समय मात्रै कुरेको बताए ।

    ‘संयुक्त आन्दोलनका लागि अहिले अलिकति बेला भएको छैन भनेको हो, कांग्रेस आन्दोलनका लागि तयार नै नभएको होइन, कुन कम्युनिस्ट कता लाग्छन् कांग्रेसलाई त्यता चासो छैन, कांग्रेसलाई संविधान र लोकतन्त्रको चासो र चिन्ता छ,’ पौडेलले भने । कांग्रेस नेता गोपालमान श्रेष्ठले मुलुकको अवस्थाअनुसार परिआए कांग्रेस संयुक्त आन्दोलनमा जाने बताए । ‘अहिले कम्युनिस्ट एक छन्, एउटाले अर्काको आलोचना मात्रै गरेका छन्, भोलि परिस्थिति कस्तो बन्छ, परिआए कांग्रेसले आन्दोलनको नेतृत्व गर्छ,’ नेता श्रेष्ठले भने । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले अहिलेसम्म नेकपा एकै रहेकाले संयुक्त आन्दोलन हुन नसकेको बताए । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार