Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • भागरथी हत्या प्रकरणः दोषी पत्ता नलागेसम्म परिवारले शब नबुझ्ने


    सोमबार, माघ २६ २०७७
    795
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्याका दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान परिवारले लिएको छ । जिल्ला अस्पताल बैतडीमा भागरथीको शव पोस्टमार्टम गरिए पनि रिपोर्ट आइसकेको छैन ।

    शव बुझेपछि न्याय नपाइने आशंका भएकाले दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने निर्णयमा परिवार पुगेको भागरथीका काका शंकर भट्टले बताए । ‘घटना र शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको निष्कर्षमा हामी पुगेका छौं,’ उनले भने, ‘दोषी पत्ता नलागेसम्म शव नबुझ्ने निर्णयमा छौं ।’ घटनाको राजनीतीकरण भएर दोषी उम्किन्छन् कि भन्ने आशंकाले शव नबुझेको उनको भनाइ थियो । ‘अहिलेसम्म प्रहरी–प्रशासनसँग त शंका छैन, कोही पहुँच भएका मानिस दोषी भए पत्ता लाग्न मुस्किल हुन्छ कि भन्ने डर छ, त्यसैले शव बुझेका छैनौं,’ उनले भने ।

    अस्पतालले पोस्टमार्टम रिपोर्ट सोमबार मात्रै दिन सकिने जनाएको छ । अस्पतालका प्रमुख डा. वसन्तराज जोशीका अनुसार संवेदनशील केस भएको र अस्पतालमा बिरामीको चाप बढी भएकाले आइतबार रिपोर्ट तयार पार्न सकिएको छैन । बिहीबार मृत भेटिएकी भागरथीको शव पोस्टमार्टमका लागि शुक्रबार साँझ अस्पताल ल्याइएको थियो ।

    घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमकुमार सुवेदी आइतबार घटनास्थल पुगेका छन् । प्रदेश प्रहरी कार्यालयका एसएसपी जनक पाण्डे र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्राविधिक टोली यसअघि नै घटनास्थल पुगेर अनुसन्धानमा जुटेका छन् । भागरथीका नजिकका साथी, आफन्तलगायतलाई घटनाबारे सोधपुछ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    आइतबारसम्म १० जनासँग सोधपुछ गरिएको र प्राविधिक टोलीले मोबाइल कलडिटेल बुझ्ने काम गरिरहेको छ । घटना अनुसन्धानकै क्रममा रहेकाले सबै कुरा भन्न नमिल्ने जिल्ला प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए । ‘धेरै टोलीले अनुसन्धान गरिरहेका छन्, अपराधीलाई छिट्टै कानुनी कठघरामा ल्याउँछौं,’ उनले भने । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार