Nepal Face
  • शनिबार, २९ कार्तिक २०८३
  • भागरथी हत्या प्रकरणः बलात्कारपछि हत्या भएको पुष्टि


    सोमबार, माघ २६ २०७७
    750
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या बलात्कारपछि भएको पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीमा गरिएको पोस्टमार्टमले भागरथीको बलात्कारपछि हत्या भएको निष्कर्ष निकालेको हो ।

    पोस्टमार्टममा संलग्न चिकित्सकले बलात्कारपछि उनको हत्या भएको रिपोर्ट प्रहरीलाई दिएको प्रहरी स्रोतले भनेको छ । स्रोतका अनुसार उनले प्रतिकार गर्दा टाउको र हातमा चोट लागेको, घाँटीमा पनि निलडाम देखिएको, यौनांगमा पनि घाउ रहेको पाइएको छ ।

    ‘हिजोसम्म हामी हत्या मात्रै वा बलात्कारपछि हत्या भन्ने कुरामा द्विविधामा थियौं । अब बलात्कारपछि हत्या भन्नेमा पुग्यौं,’ उनले भने । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख उत्तमराज सुवेदीले पनि घटनास्थल पुगेर अनुसन्धानको निरीक्षण गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीले बलात्कारपछि हत्या भएको निष्कर्षसहित अनुसन्धान गरिरहेको बताए । उनले भने, ‘पोस्टमार्टम रिपोर्ट आइसकेको छैन । भागरथीमाथि बलात्कार भए नभएको त्यो रिपोर्टपछि पुष्टि हुन्छ । तर हामी बलात्कारपछि हत्या भएको आशंकासहित अनुसन्धान गरिरहेका छौं ।’

    उनले यो जानकारी दिँदा पोस्टमार्टम रिपोर्ट आइसकेको थिएन । गत बिहीबार मृत फेला परेकी भागरथीको बलात्कारपछि हत्या भएको हुन सक्ने परिवारले आशंका गरेपछि शुक्रबारदेखि नेपाल प्रहरीका एसएसपी जनकराज पाण्डे नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

    यस्तै नेपाल प्रहरीको केन्द्रय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि घटनाको अनुसन्धान गरिरहेको छ । हालसम्म शंकास्पद सात जनामाथि सोधपुछ गरिसकिएको प्रहरी निरीक्षक धामीले बताए । भागरथीले प्रयोग गर्ने मोबाइल, उनको फेसबुकलगायतको विश्लेषणसमेत प्रहरीले गरिरहेको छ ।

    भागरथी हत्या घटनाको सूक्ष्म तरिकाले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

    सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा पढ्ने भागरथी गत बुधबार विद्यालयबाट नफर्केपछि खोजी गर्दा बिहीबार मृत फेला परेकी थिइन् । उनको वीभत्स तवरले हत्या भएको पाइएको थियो । उनको शरीर क्षतविक्षत रहेको र तल्लो शरीर निर्वस्त्र हुनुका साथै रक्ताम्य अवस्थामा भेटिएको थियो । भट्ट विद्यालयबाट घर फर्किने बाटोमा बिहीबार बिहान मुख्य सडकबाट ५० मिटर टाढा शव भेटिएको थियो ।

    यो समाचार आजको राजधानी दैनिकमा सिपी लोहियाले लेखेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार