काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले सेवा आयोगलाई एकरुपता ल्याउनुपर्ने बताएका छन् । उनले शिक्षक सेवा आयोगको स्थापना दिवसको अवसरमा आयोग कार्यालयमा आयोजित कार्यक्रममा सो धारणा व्यक्त गरेका हुन् । सो अवसरमा उनले गुणस्तरीय शिक्षक उत्पादन गर्ने मुल दायित्व रहेको आयोगमा सक्षम कर्मचारी आवश्यक रहेको कुरामा जोड दिएका छन् । उनको भनाइ छ– शिक्षा क्षेत्रमा आमूल परिवर्तन गर्न शिक्षकको गुणस्तरमा परिवर्तन गर्नु आवश्यक छ ।
मन्त्री श्रेष्ठले परम्परागत शिक्षानीति, यहाँको अस्थिरता, अराजकता, अन्यौल र भ्रमको बादलभित्र सबै मडारिएको आफूले पाएको बताए । ‘अहिलेको अवस्थामा शिक्षा क्षेत्रको सुधार गर्नु महत्वपूर्ण रहेको छ, त्यसका लागि आयोगले मुख्य भुमिका खेल्नुपर्छ’ उनले भने, कहीँ शिक्षकभन्दा विद्यार्थी बढी र काँही शिक्षक नै नपुग्ने असमानतालाई चिर्दै यसलाई आमूल परिवर्तन गर्ने बिधि पहिल्याउनु आवश्यक रहेको बताए ।
मन्त्री श्रेष्ठले भने–‘मन्त्रालयमा अस्थायी, करार, उमेर नाघेका, राहत, इसिडी, स्वयंसेवक शिक्षकको समस्या त छँदैछ, फेरि अहिले द्वन्द्वपीडित शिक्षकको समस्या थपिएको छ, यी सबै समस्याको एकमुष्ट हल खोज्नुपर्छ । उनले आयोगलाई प्रविधिमैत्री बनाउन जोड दिनुपर्ने, आफ्नो भवन निर्माण गरिनुपर्ने र आयोगलाई थप प्रविधिमैत्री बनाउनुपर्ने बताए ।
शिक्षक जिउँदो भगवान हुन् भन्दै मन्त्री श्रेष्ठले भने–‘एउटा शिक्षक जीवनभर शिक्षण पेशामा लाग्छ, उसका विद्यार्थी धेरै माथिल्लो पद र प्रतिष्ठामा पुग्छन्, तर शिक्षक जहाँको त्यहीँ रहन्छ, कतिपय शिक्षकसँग मर्ने बेलामा कात्रो किन्ने पैसा पनि नहुँदो रैछ, शिक्षकको पीडालाई मैले बुझेको छु ।’
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शिक्षण पेशालाई जीवनको पहिलो रोजाइ बनाउनुपर्नेमा जोड दिए । आयोगले लिने लिखित परीक्षाले मात्रै नपुग्ने भन्दै उनले कक्षामा दिने प्रस्तुती महत्वपूर्ण हु्ने औल्याएका छन् । शिक्षक परीक्षाको पाठ्यक्रम र प्रयोगात्मक परीक्षण प्रणाली परिवर्तन गर्नु आवश्यक रहेको उनको भनाइ छ ।
शिक्षकको तालिम, सेवा, बृत्तिविकास आवश्यक रहेको भन्दै आयोगको ऐन परिवर्तन गर्दै स्वायत्तता दिनुपर्ने मैनालीले बताए । उनले आयोगका कर्मचारीहरु प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । उनले शिक्षकलाई सक्षम बनाउन वृत्तिविकास आवश्यक रहेको औल्याउँदै त्यसका लागि अवसरको ढोका खोल्नुपर्ने बताए । उनले भने, आयोगमा पाठ्यक्रम र दरबन्दीको तालमेल आवश्यक छ ।
शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले आयोगलाई स्वतन्त्र निकायको रुपमा स्वायत्तता प्रदान गर्नुपर्ने बताउँदै ४० जना जनशक्तिका भरमा ५८ हजारभन्दा बढी शिक्षकलाई स्थायी गरेको बताए । उनले आयोगमा जनशक्ति थप गर्नुपर्ने, आफ्नै भवन बनाउनुपर्ने आवश्यकता रहेको चर्चा गर्दै शिक्षक सेवा आयोगको परीक्षामा उत्तीर्ण संख्या कम हु्नु चिन्ताको विषय रहेको बताए ।
शिक्षक सेवा आयोगका पूर्वअध्यक्ष ताना गौतमले शिक्षा मन्त्रालयले आयोगलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनाउनुपर्छ भन्दै आयोगलाई स्वायत्त बनाउनु पर्नेमा जोड दिएका छन् ।
विद्यालयको शिक्षा कमजोर तर लोकसेवा आयोगको परीक्षा प्रणाली कडा भएका कारण शिक्षकको परीक्षामा कतिपय सक्षम व्यक्ति आउन नसकेको बताउँदै उहाँले शिक्षकमा राम्रा र दक्ष मान्छे ल्याउन सके मात्रै गर्व गर्ने ठाउँ रहन्छ, उनको भनाइ थियो । कार्यक्रममा पुर्वअध्यक्ष गौतमलाई मन्त्री श्रेष्ठले सम्मान गरेका थिए ।
कार्यक्रममा शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले आयोगलाई स्वतन्त्र र स्वायत्त निकायको रुपमा लैजानुपर्ने बताए । उनले कोरोनाको महामारीमा देशमा रहेका चार लाख शिक्षक र ८० लाख विद्यार्थी रहेकाले उनीहरुलाई कोरोना बिरुद्धको खोपको तत्काल व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।
आयोगका प्रशासकीय प्रमुख दिनेश कुमार श्रेष्ठले आयोगको विगत, वर्तमान र भावी योजना एवं चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गरेका छन् । श्रेष्ठले पदाधिकारी नहँुदा काममा समस्या रहेको बताएका छन् । उनले आयोगले हालसम्म करिब साढे ७ लाख शिक्षकलाई अनुमतिपत्र वितरण गरेको, मावि, निमावि र मावि तहका शिक्षक व्यवस्थापन गर्न सफल भएको जानकारी दिएका छन् ।
आयोगको आफ्नो ऐन ल्याउन मन्त्रालयले मुख्य भुमिका निर्वाह गर्नुपर्ने उल्लेख गरेका छन् । २०५८ सालदेखि काम थालेको आयोगले हिजो मनाएको दिवस कतिऔ भन्ने उल्लेख गर्न सकेको थिएन । मन्त्री श्रेष्ठले आफुलाई आयोग कति वर्ष पुग्यो ? भन्ने विषयमा जानकारी दिन मन लागेको बताउँदै स्थापना दिवस मनाउँदा वर्ष उल्लेख गर्नु अनिवार्य रहेको उल्लेख गरेका छन् ।