Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • टोखा नगरपालिकामा चरम बेथितिः सभाहल हुँदाहुँदै लाखौं खर्च गर्दै होटलमा कर्मचारीलाई तालिम

    उपमेयरले गरे बहिस्कार


    आइतबार, भाद्र १५ २०८२
    5.1K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्रालयले सरकारी खर्चमा होटलमा कार्यक्रम नगर्न सबै निकायलाई निर्देशन दिएको छ । अघिल्लो बर्ष र यो आर्थिक बर्षको बजेट कार्यान्वयन सम्बन्धी मार्गनिर्देशनमा होटलमा कार्यक्रम गर्न नपाइने व्यवस्था गरिएको हो । अर्थमन्त्रालयको यो मार्गनिर्देशनको अवज्ञा गर्दै काठमाडौंको टोखा नगरपालिकाले होटलमा कार्यक्रम गरेको छ ।

    टोखा नगरपालिकाले नेशनल माउण्ट भ्यू रिसोर्ट जर्सिङपौवामा शुक्रबार र शनिबार तालिम कार्यक्रम राखेको छ । आर्थिक कारोवार नियमानुसारको रित बिधि पुर्याई सम्पन्न गर्न र सरल ढंगले भुक्तानी प्रक्रिया अघि बढाउने प्रयोजनको लागि भनेर होटलमा रात्रिभोजसहित कार्यक्रम राखिएको छ ।

    टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले मेयर प्रकाश अधिकारीदेखि उपमेयर मुरारी तामाङ र ११ वटै वडाध्यक्षलाई होटलमा हुने तालिममा उपस्थित हुनका लागि अनुरोध गरेका थिए । नगरपालिकाका सबै शाखा प्रमुख, वडा नम्बर १ देखि ११ वडाका सचिव, ११ वडाका सबै स्वास्थ्य केन्द्र इन्चार्जलाई होटलको तालिममा सहभागी भएका छन् । तर उपमेयर मुरारी तामाङ र ७ नम्बर वडाध्यक्ष नरोत्तम राना होटलमा भएको तालिममा सहभागी भएका छैनन् ।

    करोडौं खर्च गरेर बनाइएको टोखा नगरपालिका भवनमा पर्याप्त सहभागी अटाउने हल हुँदाहुँदै होटलमा कार्यक्रम गरी जनताले तिरेको करको दुरुपयोग गरिएको छ । जनताले तिरेको करको दुरुपयोग गरेर होटलमा तालिम गर्नु नहुने उनले बताए । उनले भने–‘नगरपालिकाकै हलमा थोरै लागतमा कार्यक्रम गर्न सकिन्छ । फजुल खर्च गर्नुहुँदैन भन्ने पक्षमा भएकाले म उक्त कार्यक्रममा सहभागी हुन नगएको हुँ ।’

    टोखा नगरपालिकाले होटलमा कार्यक्रम गर्नका लागि मेयरदेखि वडाध्यक्ष र कर्मचारीलाई सहभागीलाई लेखेको पत्र 

    तामाङले होटलमा आफूसँग सल्लाह नगरी तालिम कार्यक्रम राखिएको बताए । उनले भने–‘मसँग सल्लाह गरेको भए नगरपालिकामै गर्न आग्रह गर्नेथिएँ ।’

    टोखाका मेयर प्रकाश अधिकारीले नगरपालिकाका कुनै पनि काममा तामाङसँग सल्लाह नगरी एक्लौटी गर्दैआएको तामाङको गुनासो छ । तामाङले भने–‘सबै उहाँहरुकै मनोमानी चल्ने गरेको छ । कर्मचारीहरु सबै सेटिङमा राखिएको छ । नगरपालिकाका सबै काममा उपमेयरलाई बाइपास गरिएको छ ।’

    अर्थमन्त्रालयले सरकारी खर्चमा सभा, सम्मेलन, गोष्ठी, सेमिनार, अन्तक्र्रिया जस्ता कार्यक्रम सञ्चालन गर्दा सरकारी निकायकै सभाहल प्रयोग गर्ने व्यवस्था मिलाउनुपर्ने पनि मार्गदर्शनमा उल्लेख गरेको भए पनि लाखौं खर्च गरी होटलमा कार्यक्रम राखिएकोबारेमा टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले अनौठो तर्क राखे–‘कार्यालयमा सबै भेला हुन सम्भव हुँदोरहेनछ, सेवाप्रवाहलाई ध्यान दिनुपर्ने भएकाले शुक्रबार र शनिबार होटलमा तालिम कार्यक्रम राखिएको हो ।’

    शुक्रबार र शनिबार नगरपालिकाको हलमा कार्यक्रम राख्दा सेवाप्रवाहमा के असर पर्छ भन्ने खुलाउन सकेनन् । उनले उपमेयरले कार्यक्रम बहिस्कार नगरेको, शनिबार बिहान आउने बताएका थिए । तर उपमेयरले होटलमा हुने कार्यक्रममा आफू नगएको बताइसकेको कुरा भनेपछि उनी अवाक भएका थिए ।

    सिटी स्क्वायर मल, इशान बाल तथा महिला अस्पतालदेखि एनआईसी एशिया बैंकको भवनको नक्सापास सेटिङमा गरेकोमा विवादमा परेको टोखा नगरपालिका नगरगान छनोटको बारेमा समेत प्रश्न उठेको छ । टोखा नगरपालिकाको जिन्सी ब्यवस्थापन शाखा(स्टोर)मा विगत ८ बर्षदेखि छैटौं तहका कुवेर ढुंगाना कार्यरत छन् । उनी मेयर अधिकारीका विश्वासपात्र कर्मचारी हुन् ।

    यसअघिका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बीसी (बागचन्द)ले उनको सरुवा गरेका भए पनि त्यो कार्यान्वयन गर्न सकेनन् । स्टोरका ढुंगानामात्र होइन, बीसीले गरेका कुनै पनि सरुवा कार्यान्वयन गर्न नसकेको आरोप लागेको थियो । उपमेयर तामाङले भनेजस्तै मेयर अधिकारीले सबै कर्मचारी सेटिङमा राखेको ढुंगाना नै उदाहरण हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार