Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टोखाको समाचारप्रति रेणु अधिकारी ‘मौनताको खण्डन, नगरगान छनोट पारदर्शी ढंगले भएको छ


    शुक्रबार, भाद्र ६ २०८२
    3.5K
    Shares
    नेपाल फेस
  • ६ मिनेट पाठ
  • उपरोक्त सम्बन्धमा तपाईं सम्पादक रहेको nepalface.com अनलाइनमा मिति २०८२ भदौ १ गते ‘टोखा नगरपालिकामा आफ्नै हात जगन्नाथ, नगरगानमा मेयरकै श्रीमती प्रथम’, ‘टोखा नगरपालिकामा मेयर र प्रमुख प्रशासकीय अधिकृतकै मिलेमतोमा शृंखलाबद्ध भ्रष्टाचार’ भन्ने शीर्षकमा प्रकाशित सामग्री उपर मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

    उक्त संचार सामग्रीका सम्बन्धमा मेरो देहाय अनुसार बुँदागत प्रतिकृया एवं खण्डन रहेको छ । उक्त खण्डन एवं प्रतिक्रियालाई स्थान दिनहुन अनुरोध गर्दछु ।

    १. ‘पंचायतकालमा चर्चित साहित्यकारलाई कथा, कविता लेख्न लगाएर रानी ऐश्वर्या साहित्यकार भएको र अहिलेका छोटेराजा टोखा नगरपालिकाका छोटेराजा मेयर प्रकाश अधिकारीले पनि त्यसै गरेका छन्’ भनी किटानीकासाथ लेखिएको छ ।

    यस सन्दर्भमा म टोखा नगरगानको रचनाकार रेणु अधिकारी ‘मौनता’ घोर भत्सना गर्दछु । म स्कुले जीवनदेखि नै कथा, कविता, मनोवाद लगायतका सिर्जना कार्य गर्दै आएर अहिलेसम्म आफ्ना ४ वटा र २ वटा संयुक्त कृति गरी ६ वटा कृतिहरू प्रकाशन गरिसकेकी छु । ‘अनुभूति’ कविता संग्रह २०७६, ‘एकपोल्टो बादलु’ लघुकथा सङ्ग्रह–२०७९, ‘आकृति’ मुक्तक संग्रह (२०८१, ‘अस्तित्वको खोजी’ कविता संग्र्रह ( २०८० र ‘कल्पलता’ संयुक्त काव्यकृति( २०७७ तथा ‘सोपान’ संयुक्त काव्यकृति– २०८० प्रकाशित छन् ।

    साथै विभिन्न पत्रपत्रिका एवम् अनलाइन पत्रिकाहरूमा धेरै लेखरचनाहरू प्रकाशित हुँदै आइरहेका छन् । मेरो आफ्नै शब्द र स्वरमा रहेको ७ वटा गीतहरू पनि युट्युव च्यानलमा रहेका छन् । नियात्रा संग्रह, कथा सङ्ग्रह र गीत सङ्ग्रहका कृतिहरू प्रकाशनको तयारीमा जुटिरहेकी छु । प्रकाशित रचनाको साथै साहित्य, गीत संगीततर्फ मेरो स्कुले जीवनदेखिकै लगाव, मिहिनेत, अभ्यास र लामो साधनाकै कारण मेरा सिर्जनाले स्थान पाएको अवस्थामा मलाई चर्चित साहित्यकारलाई लेख्न लगाएर चर्चामा आएको, मेयरले आफू शक्तिमा भएको बेला आफ्नैलाई अवसर र पुरस्कार दिएको भन्ने कुराको खण्डन गर्दछु ।

    २. दोश्रो ‘नगरपलिकाको गीत आह्वान गरेर मेयर अधिकारीले आफ्नै श्रीमतीले लेखेको गीतलाई प्रथम घोषणा गरी पुरस्स्कृत गरेको’ भन्ने सम्बन्धमा–नगरपालिकाले नगरगान लेख्न सार्वजनिक आह्वान गरेपछि पहिलो पटक प्राप्त नगरगानहरूमा नगरगानमा समेटिनुपर्ने सबै कुराहरू अपुग भएको नगरगान छनोट समितिलाई महसुस भएपछि समितिले म लगायत सबै नगरगानका रचनाकारहरूलाई बैठकमा राखेर दोस्रोपटक नगरगान लेख्न सार्वजनिक आह्वान गरेको थियो ।

    प्राप्त रचनाको सशक्तता, मौलिकता, टोखाको समग्रता समेट्ने विषयवस्तु र प्रस्तुति लगायतलाई अध्ययन मननका साथ धेरै चरण पार गरी निष्पक्ष, पारदर्शी र इमानदारिताका साथ नगर गान छनौट गरिएको एवम् टोखा नगरपालिकाले उपलब्ध गराएको संकेत नम्बरको आधारमा नगरगान छनौट गरिएको भए पनि संयोगबस उत्कृष्टताको आधारमा पछिल्लो समयकी सशक्त साहित्यकार रेणु अधिकारी ‘मौनता’ को रचना छनौट भएको नगर गानका निर्णायकले नगरगान सार्वजनिक समारोहमा जानकारी दिनुभएको थियो । उक्त नगरगान छनोट समितिमा तीन जना वरिष्ठ साहित्यकारहरू रहनुभएको जानकारी समेत गराउँदछु ।

    टोखा नगर कार्यपालिकाको निर्णय

    ३. ‘मेयर अधिकारीले आफ्नी श्रीमती रेणु अधिकारी ‘मौनता’ को गीत प्रथम घोषणा गरी पुरस्कृत गरिएको छ र पुरस्कृत भएको नगरगानको ८ लाख रुपैयाँ भुक्तानी दिएको छ’ भन्ने सवालमा सर्वप्रथम मेयर प्रकाश अधिकारीले न त गान छनोट गर्नुभएको हो न त घोषणा नै गर्नुभएको हो । यो काम छनोट समितिले गरेको हो । अर्को कुरा प्रथम नगरगानलाई पुरस्कार दिइएको अवश्य हो । तर कार्यपालिकाको बैठकले नियमसम्मत तरिकाले निर्णय गरेर ३० हजार पुरस्कारमा कर कट्टी गरेर जम्मा २२ हजार ५ सय म रेणु अधिकारी ‘मौनता’ को खातामा विधिसम्मत तरिकाले पठाइएको छ ।

    पुरस्कारको रुपमा पाएको रकमको चेक

    यसको प्रमाण नगरगान सार्वजनिकीकरण कार्यक्रममा मैले पाएको पुरस्कारको चेकसहितको फोटोहरू पेस गरेको छु । ४० ‘मेयर अधिकारीले समितिमा आफू अनुकुल साहित्यकार राखेको’ भन्ने सवालमा–
    टोखा नगरगान छनोटको लागि टोखाको बस्तुस्थिति बुझेको, यसै नगरपालिकाभित्रको अनुभवी साहित्यकारको आवश्यकता महसुस गरी नगरपालिका प्रशासनबाट आह्वान भएपछि टोखा नगरपालिकाका वरिष्ठ साहित्यकारहरूलाई नगरगान छनोट समितिमा नगरगान निर्माण समितिले छनोट गरेको कुरा नगरपालिका सूत्रबाट बुझेकी छु ।

    मैले यसप्रकार निष्पक्ष र पारदर्शी रूपमा घोषणा गरिएको नगरगानको बारेमा समाचार लेख्दा आधिकारिक व्यक्तिलाई सम्पर्क गरी सत्यतथ्य समाचार सम्प्रेषण गर्नुपर्नेमा समाचार पुष्टि नगरी एकतर्फी रुपमा सम्प्रेषण गरेको र पालिका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत समेतको फोटोसहित प्रकाशित गर्नु कति न्यायोचित हो ?

    त्यसैले आधिकारिक स्रोत, प्रमाण वा दस्तावेज प्रस्तुत नगरी तथ्यहीन र मनगढन्ते तरिकाले प्रकाशित यस्तो समाचारले जनमानसमा भ्रम सिर्जना गराई मेरो इमानदारी, प्रतिष्ठा र चरित्रमाथि आघात पुर्याएको र सामाजिक, मानसिक तथा इज्जतमा गम्भीर आँच एवम् प्रतिष्ठामा हानी पुर््याएकोले कपोलकल्पित, भ्रामक र तथ्यहीन यस समाचारको खण्डन प्रकाशित गरिदिन हुन अनुरोध गर्दछु ।

    रेणु अधिकारी ‘मौनता’ टोखा नगर गान रचनाकार

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार