काठमाडौं । नेपाल प्रहरीमा डीआइजी बढुवाको चलखेल सुरु भएको छ । सात वटा प्रदेशमा डीआइजी सरुवा गरेको १० महिना पुग्दैछ । २०७७ बैशाखमा ७ वटै प्रदेशमा डीआइजी सरुवा भएको थियो । सामान्यतया एक बर्षसम्म सरुवा नगर्ने प्रहरी नीति भए पनि केही डीआइजीको प्रदेशमा जाने र अतिरिक्त कमाई गर्ने महत्वाकांक्षाका कारण सरुवा चलखेल सुरु भएको छ । भर्खरै एसएसपीबाट बढुवा भएका केही डिआईजीहरु प्रदेशमा सरुवा हुन दौडधूपमा लागेका छन् ।
१ नम्बर प्रदेश र लुम्बिनी प्रदेशमा डीआइजी सरुवाको लागि चलखेल भएको हो । दुवै प्रदेशमा डीआइजी सरुवाका लागि सबैभन्दा बढी लागेका छन्, प्रहरी प्रधान कार्यालय अन्वेषण निर्देशनालयका मुकुन्द आचार्य । उनी लुम्बिनी प्रदेशको डीआइजीमा सरुवा हुनका लागि चलखेलमा लागेका छन् । । डीआइजी आचार्यले गृह मन्त्रालयदेखि बालुवाटारसम्मको शक्ति प्रयोग गरी दुई मध्ये एक प्रदेशमा सरुवा हुन खोजेका छन् ।
एसएसपीबाट डीआइजी बढुवामै पर्न पनि उनी निकै शक्तिकेद्र गुहार्नेमा पर्दछन् । सर्वोच्च अदालत सुरक्षा प्रहरी गणमा कार्यरत हुँदा हालका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासँगको चिनजान र उनको भनसुनका कारण उनी बढुवा हुन सफल भएका थिए ।
विगतमा चालचलन शाखामा हुँदा पनि उनी विवादरहित हुन सकेका थिएनन् । चालचलनको रिपोर्ट सन्तोष उप्रेती (पछि रातो पासपोर्ट बिक्रीकाण्डमा परेका) सँग कनेक्सन गरी घुस लिएर दिने गरेको बिषयमा पनि संचारमाध्यमले उठाएका थिए । मेनपावर कम्पनीहरुको स्वार्थमा चालचलन रिपोर्ट दिने गरेको उनीमाथि आरोप लागेको थियो ।
कुवेरसिंह राना आइजीपी हुँदा उनको चकचकी प्रहरीमा यति थियो कि छायाँ आइजीपीकै संज्ञा पाएका थिए । कानुन शाखामा रहेका आचार्यले त्यतिबेला प्रहरी नियमावली पनिे सेनाको कट गरी पेष्ट गरेको भनी आलोचित भएका थिए । अहिले पाँच र एक नम्वर प्रदेश मा पनि ठूला तस्करहरुले बढी चलखेल गरेका छन् । मुकुन्द आचार्य झापा र नवलपरासीको एसपी भएर काम गरिसकेको हुँदा उनलाई त्यहाँबाट हुने तस्करीबारे पूरापूर जानकारी छ ।
तस्करहरुको समूह नै उनलाई लुम्बिनीमा लगी केराउ, मरिच र सुपारी भारतमा तस्करी गर्न खोजिरहेको छ । लुम्बिनी प्रदेशबाट अहिले तस्करी गर्न नपाएपछि तस्करहरु आचार्यलाई लाने र सेटिङ मिलाउन लागेका हुन् । नवलपरासीमा एसपी छँदा मुकुन्द आचार्यले परिचालन गरेका घुमुवा बुद्ध रायमाझीले व्यापारीदेखि तस्करहरूसँग रकम असुल्ने, महेशपुर इप्रकाका प्रहरी प्रमुखलाई मासिक रकम दिनुपर्ने अनि सामान ल्याउन रोकेपछि व्यापारीहरूले विरोध गर्दा महेशपुर छोटी भन्सार नाकामा झडप नै भएको थियो ।
घुमुवा रायमाझीकै कारण त्यतिखेर महेशपुर भन्सार कार्यालयको गोदाममा भन्सार जाँचका लागि राखिएको कपडाको विवादलाई लिएर स्थानीय व्यापारी र प्रहरीबीच झडप हुँदा स्थानीय हिरालाल गुप्ता, पवन निगम र चिन्कु निगम घाइते भएका थिए ।
कांग्रेसका नेता देबेन्द्रराज कँडेलदेखि बुटवलका दीपक शाही, रहमोद मुसलमान, शमशेर मियाँ, समीर मुसलमान, ललु, प्रकाश नामका तस्करहरु पनि आचार्यलाई पाँच नम्वर प्रदेश लैजान लबिङमा छन् ।
झापाको प्रहरी प्रमुख हुँदा डीएसपी देवी पौडेललाई लगेर उनीमार्फत् तस्करीबाट असुली गरेका थिए । काठमाडौं परिसरका एसएसपी श्याम ज्ञवालीको कार्यकालमा डीएसपी पौडेलले उनलाई समेत विवादमा पारेका थिए । हुन्डी कारोबारी विकास अग्रवाललाई भगाउनदेखि सुन बरामद प्रकरणमा उनले ज्ञवालीलाई विवादमा पारेका थिए । आइजीपी थापाले धेरै विवाद आएपछि पौडेललाई तानेका थिए । पछि ज्ञवाली पनि अवधि नपुग्दै सरुवा भए । पौडेलजस्ता बदनाम डीएसपीलाई आचार्यले झापा लगी तस्करहरुसँगबाट असुली गरेको आरोप लागेको थियो ।