Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • उदयपुरमा २१ सय काे पीसीआर परीक्षण गरिने


    शुक्रबार, बैशाख १२ २०७७
    635
    Shares
  • २ मिनेट पाठ
  • उदयपुर,१२ बैशाख । उदयपुरमा कोरोना भाइरसको जोखिम बढेसंगै २ हजारभन्दा बढी स्थानीयमा कोरोना परिक्षण गर्ने भएको छ। हालसम्म भुल्केमा २८ जना व्यक्तिमा कोरोना संक्रमित देखिएको छ ।कोरोना त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीका अनुसार  दुई हजार १ सयको पिसिआरबाट कोरोना जाँच गरिने भएको  हो ।

    उनले बीचमा किट अभावले परीक्षण धेरै मात्रामा गर्न सकेनौं। साँझसम्म किट आइपुग्यो भने भोलिबाट परीक्षण सुरू गर्ने बताए । उनले  भने, 'सुरूमा दुई सय ५ जनाको परीक्षण गर्छौं र त्यसको नतिजा आएपछि थप दुई हजार १ सयको परीक्षण गर्ने तयारी गरेका छौं।'
     जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रका मानिसको पनि परीक्षण गरिने उनले उल्लेख गरे ।

    संक्रमितहरू चिया पसल, तरकारी पसलमा पुगेको हुनसक्ने भन्दै नगरपालिकाले त्यस्ता ठाउँका व्यक्तिको पनि परीक्षण गर्ने तयारी गरेको हो।
    २८ जनामा संक्रमण देखिएको भुल्के गाईघाट बजारबाट ३ किलोमिटर दूरीमा पर्छ। यसकारण पनि संक्रमितहरू गाईघाट बजार आवतजावत गरेको बुझिएको छ।
    गत शुक्रबार भुल्केको एक मस्जिदमा रहेका १६ जनामध्ये १२ जनालाई कोरोना संक्रमण देखिएको थियो। लगत्तै बाँकी चार जनामा पनि संक्रमण पुष्टि भयो।
    त्यसपछि समुदायस्तरमा पनि फैलिएको हुनसक्ने भन्दै झन्डै साढे ४ सयको परीक्षण गर्दा थप १२ जनामा संक्रमण देखिएको छ।

    थपिएका १२ जना संक्रमित भने भुल्केकै हुन्। यसअघि संक्रमण पुष्टि भएका १६ जना भने धेरैजसो भारतीय र केही नेपाली छन्।
    उनीहरू मोरङ, सुनसरी, सप्तरी हुँदै चैतको पहिलो साता भुल्के आइपुगेका हुन्।
    अहिले २८ जना संक्रमितकै विराटनगरस्थित कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ।
    भुल्के भने गत शुक्रबारदेखि नै सिल छ। मेयर चौधरीले भुल्केमा स्थिति सामान्य नभइन्जेल सिल नै गरिराख्ने बताए।
    उनले अहिले बस्तीमा खाद्य वस्तुदेखि सबै कुरा नगरपालिकाले नै वितरण गरिरहेको जनाए।
    भुल्केमा समुदायस्तरमै संक्रमण देखिएकाले थप मानिसमा परीक्षण गर्नुपर्ने सरोकारवालाले जोड दिँदै आएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार