Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • जुम्लाको गोठीगाउँमा भीषण आगलागी, २५ घर जलेर नष्ट


    बुधबार, माघ १४ २०७७
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कर्णाली । तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको चुल्होको पाइपबाट छतमा भएको घासमा सल्केको आगो गाउँभरि फैलिएपछि २५ घर जलेर पूर्णरूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक युवनकुमार चौधरीले जानकारी दिनुभयो ।

    सूचना अधिकारी चौधरीका अनुसार घरसँगै २० देखि २५ पशुचौपायाको जलेर मृत्यु भएको छ । “स्थानीयवासीले दिएको सूचनाअनुसार आगलागी साँझ करिब ७ बजेतिर भएको रहेछ”, उहाँले भन्नुभयो । उहाँका अनुसार खबर पाउने बित्तिकै तिला–१ रारालिही प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक भुपेन्द्रबहादुर शाहीको नेतृत्वमा तीन र कुडारी प्रहरी चौकीका प्रहरी जवान नरेन्द्र देउवासहित तीन गरी छ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।

    पछि सदरमुकाम जुम्लाबाट प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा १५, सशस्त्र प्रहरी सहायक निरीक्षक लक्ष्मीप्रसाद शर्माको नेतृत्वमा ११ गरी २६ प्रहरीको जनशक्ति घटना स्थालमा पठाइएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

    गाउँमा एउटा मात्र खानेपानीको धारा भएको र विकट भूगोलका कारण पनि ठूलो क्षति हुन पुगेको प्रजिअ थापाले बताउनुभयो । आगो पूर्णरूपमा ननिभेकाले क्षतिको यकिन विवरण आउन नसकेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार