Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • कांग्रेसको बैठकमा शिवाकोटीको प्रश्नः पार्टीलाई मल्लयुद्धको मैदान बनाउन खोजिएको हो ?


    बिहिबार, असार १९ २०८२
    875
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राख्ने क्रम जारी छ ।

    बुधबार सम्पन्न केन्द्रीय समिति बैठकमा मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापाको नामै लिएर दिएको धम्कीपूर्ण अभिव्यक्ति पार्टीको रेकर्डबाट हटाउनुपर्ने धारणा केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले राखेका छन् । बस्नेतले ‘हिंस्रक र अराजक’ अभिब्यक्ति दिएकाले त्यसलाई पार्टीको रेकर्डबाट हटाउन शिवाकोटीले माग गरेका हुन् ।

    शिवाकोटीले  सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै बिहीबारको केन्द्रीय समितिको बैठकमा यस्तो माग गरेका हुन् ।  उनले भने, ‘ठूला तिघ्रा र पाखुरा देखाएकै भरमा राजनीतिमा रहेका दुब्ला पातला मानिस पलायन हुनुपर्ने हो ? के हामी पार्टीलाई मल्लयुद्धको मैदान बनाउन खोजिरहेका हौं ?’

    उनले बस्नेतले बैठकमा प्रयोग गरेका ‘ठाउँको ठाउँ पर्ला, कुठाउँ पर्ला, गाह्रो पर्ला, होस गर्नू’ जस्ता शब्दप्रति आपत्ति जनाउँदै, ती शब्द महामन्त्री गगन थापालाई लक्षित रहेर ज्यानप्राणको धम्की सरह रहेको आरोप लगाए ।

    शिवाकोटीले कांग्रेसको मूलधार र संस्कार विपरीत हिंसात्मक प्रस्तुतिहरू भइरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘वीपी कोइरालाले सुरु गरेको पार्टीको संस्कार यही हो ?’ भन्दै उनले सभापतिसमक्ष प्रश्न राखे ।

    शिवाकोटीले भने– ‘बुधवारको वैठक धृतराष्ट्रको सभामा द्रौपदीको चीरहरण गरे झै थियो। महाभारतमा कुलको मर्यादालाई निर्वस्त्र गर्ने प्रयास भएको थियो भने कांग्रेस सभामा महामन्त्रीलाई मर्यादाहीन आरोप लगाएर सो पदको गरिमा धुलिसात बनाउँदै चरित्रहत्या गरिएको थियो। अनि धृतराष्ट्रको सभाका सदस्य दुर्योधनसँग लाचार भएजस्तै हामी भ्रष्टाचारका एक आरोपितसँग लाचार भइरहेका थियौ ।’

    शिवाकोटीले केही समयअघि सहकारी ठगी मुद्दामा मुछिएका रवि लामिछानेको अभिव्यक्तिसँग बस्नेतको शैली तुलना गर्दै भने, ‘लामिछानेकै फोटोकपी शैलीमा प्रस्तुत भएका बस्नेतज्यू किन ‘फाइल छ’ भन्दै घुर्काइरहनुभएको छ ?’ यदि भ्रष्टाचारसम्बन्धी प्रमाण छन् भने सम्बन्धित निकायमा बुझाउन उनले आग्रह गरे ।

    उनले पार्टीभित्र सुशासनको वकालत गर्दै आरोपित व्यक्तिले कानुनी प्रक्रिया पूरा नभएसम्म पार्टी पदबाट अलग रहनुपर्ने धारणा राखे । ‘ पार्र्टीलाई फोहोर नभएको चाहिएको छ, भ्रष्टाचारको आहालमा डुबेको होइन’ भन्दै उनले पार्टी शुद्धीकरण हुनुपर्ने धारणा राखेका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार