Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुहिएको दाल राहत बाँड्ने मेयरलाई हिरासतमुक्त गर्न रातिसम्म बयान


    बुधबार, बैशाख १० २०७७
    905
    Shares
  • ४ मिनेट पाठ
  • काठमाडौं, १० बैशाख । कोरोना भाइरस (कोभिड १९) को महामारीमा कुहिएको दाल किनेर राहत बितरण गर्ने कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवलाई छाड्न जिल्ला प्रशासन कार्यालय रातिसम्म खुल्ला राखिएको छ । कार्यालय समयपछि पनि अहिले मेयर र वडाध्यक्षको बयान भइरहेको छ ।

    सरकारी मंगलबार प्रहरीले नियन्त्रणमा लिएका मेयर यादव, वडाध्यक्ष र यादव कोल्डस्टोरका  संचालक रोशन यादवसहितलाई राति ८ बजेसम्म छुटाउनेगरी बयान लिइरहेको छ । सार्वजनिक अपराध, पाकेटमारलाई ३ दिनसम्म बयान नलिने बाराका सरकारी वकिल महेन्द्र थापाले आफ्नै यादव कोल्डस्टोरको कुहिएको दाल राहत बितरण गर्ने मेयर यादवलाई छुटाउन प्रहरी कार्यालयमै गएर बयान लिनेदेखि अभियोग तयार पारेका थिए । र, ८ जनाको बयान आजै सक्नेगरी सरकारी कार्यालय रातिसम्म खोलिएको छ ।

    नेपालफेसले सरकारी वकिल कार्यालयमा नगई आफ्नो मर्यादा नै भुलेर प्रहरी कार्यालयमा गएर बयान गराई अभियोग पत्र तयार पारिएकोबारेमा सरकारी वकिल थापाले भने, लकडाउन छ, कर्मचारी नआएकाले प्रहरी कार्यालयमा गएको प्रतिक्रिया दिए । अरु सामान्य केसमा चाहिँ ३ दिनसम्म पनि बयान लिन हतार नहुने तर कुहिएको दाल राहतमा बाँड्ने मेयर र वडाध्यक्षलाई छुटाउन किन हतार भएको भन्ने जिज्ञासामा उनले भने, मेयर नहुँदा फेरि राहत बितरणमा असर पर्ने भएर छिटो गर्न खोजेको हो ।

    बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र प्रहरी प्रमुख एसपी कृष्ण पँगेनीले पनि दोस्रो पटक सोमबार राति मेयर यादवको कोल्डस्टोरबाट ४ सय ५० बोरा ५० किलो दाल बरामद गरी त्यसको रिपोर्ट खाद्य गुणस्तर कार्यालय हेटौंडामा पठाएका थिए । चैत २९ मा बरामद गरेको ३ सय ८० बोराको भन्दा पनि सोमबार बरामद दाल गुणस्तरहीन थियो । तर दोस्रोपटक गुणस्तर टेष्टका लागि पठाएको दालको रिपोर्टसमेत एसपी पंगेनीले पर्खिन नसकी मेयर छुटाउनेतर्फ लागेको आरोप छ । पहिलाको भन्दा पनि गुणस्तरहीन दालको रिपोर्ट आएपछि मात्र अनुसन्धान गर्नुपर्ने थियो । तर एसपी पँगेनीसमेत हतार हतार मंगलबार पक्राउ परेका मेयर यादवलाई छुटाउन लागेका छन् । रातिसम्म जिल्ला प्रशासन कार्यालय खोली अहिले बयान भइरहेको छ । 

    कालोबजारी ऐन अन्तर्गत मेयरलाई २ लाख ५० हजार र वडाध्यक्षहरुलाई जनही २५ हजार धरौटी लिएर छाड्ने तयारीमा सरकारी वकिल, सीडीओ र एसपी लागेका छन् । सीडीओ पण्डित र एसपी पँगेनी मेयर यादवलाई उन्मुक्ति दिने खेलमा थिए । तर मिडियाको खबरदारीका कारण उनीहरुले यादव कोल्डस्टोरका कर्मचारी कृष्ण यादव र दुई वडाध्यक्ष र एक वडासचिवलाई पक्राउ गरेका थिए । र, मेयरको संलग्नता नभएको भनेर बयान दिन लाएर कुहिएको दाल राहतमा बाँडेको केस ढिसमिस पार्ने खेलमा थिए । तर निरन्तर मिडियाले उठाएको र मेयरकै कोल्डस्टोरबाट उपमहानगरपालिकाले प्रतिकिलो १ सय २० रुपैयाँमा कुहिएको दाल किनेर राहत बाँडेकोले पनि उनीहरु मंगलबार पक्राउ गर्न बाध्य भएका थिए । तर ६ दिनको म्यादथप गरेका मेयर यादवलाई रातिसम्म बयान लिएर आजै छुटाउन लागेका छन् ।

    कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले आफ्नै कोल्डस्टोरको गुणस्तरहीन दाल किनेर ८ वटा वडामा राहतका रुपमा बितरण गरेका थिए ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार