Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अध्यादेशः प्रधानमन्त्री ओलीको एक तीर दुई शिकार


    बुधबार, बैशाख १० २०७७
    1.1K
    Shares
  • ७ मिनेट पाठ
  •  

    राजेन्द्र अर्याल

     नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एकाएक यस्तो अध्यादेश ल्याउलान् भनेर कसैले अनुमान गरेका थिएनन् । तर उनले सबैलाई आश्चर्यचकित बनाउँदै राजनीतिक दल बिभाजन सम्बन्धी अध्यादेश ल्याए । त्यसपछि नेपाली राजनीतिका खेलाडी हुँ भन्नेहरु सबै ट्वाँ परेका छन् । त्यतिमात्र होइन, दिउँसै सपना देख्नेहरु समेत चकित परेका छन् ओलीको सरप्राइज निर्णय सुनेर । 

    निर्णयपछि नेपालमा के के न हुन लाग्यो भनेर देश बिदेशमा कोकोहलो मच्चाइयो । सतारुढ दल नेकपाभित्र खैलाबैला मच्चियो, पार्टीभित्रका प्रतिपक्षी बिलखबन्दमा परे ओलीले यो के गर्न आँटेका हुन् भनेर । अरु दलका नेताहरु त्रसित बन्न पुगे । सबैले एक अर्कालाई फोन घुमाए । निकै हल्लीखल्ली मच्चियो । नेपाली राजनीतिका खेलाडी सम्झने र आफूलाई नेपाली राजनीतिको ज्योतिष सम्झनेहरु पनि तिलमिलाएको यो परिघटनाले धेरैको मथिङ्गल घुमाइदियो ।

    ओली सरकारलाई ढाल्न तानाबाना बुन्दै बालुवाटारको सपना देखेकाहरुको लागि यो बज्रपातपूर्ण निर्णय थियो । जसका कारण उनीहरुका यो निकै महङ्गो साबित हुन पुग्यो । सतहमा देखिंदा आकस्मिक रुपमा भएको यो परिघटनाले धेरै कुराको संकेत गरेको देखिन्छ । नेपाली राजनीतिका मियोका रुपमा रहेका ओलीले निकै सोचविचार र जोडघटाउ गरेर यो निष्कर्षमा पुगेको देखिन्छ । तर यति भन्न सकिन्छ कि ओलीले यो कदम चाहेर भन्दा पनि परिस्थितिले निर्माण गरेको हो । यो पृष्ठभूमि नेपथ्यमा बसेर लकडाउनको बेलामा तय गर्नेहरुले पनि ओलीले यसरी खेल खेल्लान् भन्ने हेक्का राख्न सकेनन् । जे होस् पछिल्लो बिकसित परिघटनाले तरङ्गित बनाएको नेपाली राजनीति अझैसम्म सङ्लिन सकेको छैन । र, सङ्लिन अझै केही समय लाग्ने देखिन्छ । ओलीले चलाएको यो एउटा तीरले धेरैलाई भित्र भित्रसम्म भेदन गरेको छ ।

    मन्त्रिपरिषदको यो निर्णयपछि विभिन्न अनुमान र आशंकाको खेती गर्नेहरुले फेरि रोजगारी पाएका छन् । यो निर्णय कोरोना भन्दा बढी भाइरल बन्न पुग्यो । सोमबार दिउँसोदेखि त मानिसहरुले कोरोना महामारी समेत बिर्सिए ।  कतिपयले यो निर्णयभित्र ओलीको अधिनायकवादी आकांक्षा देखेका छन्, कसैले तानाशाही लाद्न खोजेको भनेका छन् । कतिपयलाई यो बेमौसमी बाजा लागिरहेको  छ भने केहीले आफ्नो पार्टी फुटाउने षड्यन्त्र देखिरहेका छन् ।

    सत्तारुढ दलकै नेताले पनि यो निर्णयको भेउ पाउन नसकेर बर्बराइरहेका छन् । कुरा यति हो कि यी बर्बराउनेहरुले भन्दा यो ब्यवस्था ल्याउन सबैभन्दा लड्ने र कुर्बानी गर्ने राजनेता केपी शर्मा ओली नै हुन् भन्ने हेक्का राख्नुपर्छ, जसले यो ब्यवस्था ल्याउन जीवनको कुनै पर्वाह गरेनन् । अर्कातिर यो सरकार बनेदेखिनै बदनाम गर्न विरोध गर्ने कसम खाएका तत्वहरुलाई यो निर्णय पछि अर्काे मसला मिलेको छ । जो यो सरकारले काम नगरे किन गरेन, गरे किन गर्यो भनेर नियोजित र योजनाबद्ध ढंगले बिरोधको बासुरी बजाउँदै हिंडिरहेका छन् । अर्कातिर दल सम्बन्धी अध्यादेश ल्याएपछि केही ब्यक्ति अनिष्ट हुने भविष्यबाणी गर्दैछन् भने केहीले सरकार पतनको बाटोमा पुगेको बताएका छन्, जुन दरिद्र र संकुचित मानसिकतताको उपज बाहेक केही हुन सक्दैन । कतिपय नेकपा फुट्न लाग्यो भनेर हषिर्त भएका छन्, कतिपय चिन्तित देखिन्छन् । तर यो पार्टी बनाउन र एकता गर्न ओलीको महत्वपूर्ण तथा महाभारतका पात्र एकलब्यको जस्तै योगदान छ । पार्टी एकता पनि अरुको बुताले भएको हो र ? त्यसैले यो पार्टी बचाउन ओलीलाई अरु कसैलाई भन्दा बढी चिन्ता र चासो छ ।

    यो अध्यादेशको निर्णय गर्दा पनि निकै सोचबिचार गरेर ओलीले गरेका छन् भन्ने कुरामा ढुक्क हुन सकिन्छ, जसरी पार्टी एकताको बिन्दुमा निर्णय गरे । त्यसैले नेकपाको बिभाजन न कसैले गर्न सक्छ न कसैको लहडले हुन्छ । यसमा चिन्ता लिनु आवश्यक देखिंदैन । यदि कसैमा सनक चढ्यो भने उही समाप्त हुन्छ । अर्कोे कुरा, अहिले यो अध्यादेशको निर्णयपछि धेरै राजनितिक ज्योतिष देखापरेका छन् । तर केपी ओली महाभारतका अभिमन्यु होइनन्, जो चक्रब्युहमा छिर्ने तर बाहिर निस्कन नसक्ने । ओली चक्रब्युहमा छिरेर विजय प्राप्त गरेर फर्कने कलियुगका अर्जुन हुन् भन्ने विभिन्न कालखण्डले पुष्टि गरेको छ । जे होस् आज अति जान्ने सुन्ने(अजासु) भएका छौ, तर आज हामीसँग पहिचान छैन, हामी धेरै स्वार्थी भएका छौ, उपभोक्ताबादी भएका छौ । ब्यक्तिबादी, अवसरवादी, अराजक भीडमा परिणत भएका छौं । कुन ठिक कुन बेठिक भन्दा पनि भीडको पछि लाग्दैछौं । सकारात्मक चेत र सोच भन्दा नकारात्मकतामा रमाउन थालेका छौं । पढेका छौं तर अशिक्षित र अज्ञानी जस्ता भएका छौं, हिजोको स्कुलिङ अर्काे कुनामा मिल्काएका छौं । हामी आफैं बुज्रुक बनेका छौं, आफू कर्तब्य पूरा गर्दैनौं तर अर्ति उपदेश दिन बहादुरी ठान्छौ । यो प्रवृत्ति हामी सबैमा विद्यमान छ ।

    अहिले दोष अरुमाथि थोपर्नु भन्दा गम्भीर भएर सोच्ने बेला हो यो । जहाँसम्म आध्यादेशको कुरा छ त्यसमा धेरै आतंकित हुनुपर्ने वा धेरै उद्धेलित हुनुपर्ने केही छैन । यस बिषयमा बरिस्ठ पत्रकार देवप्रकाश त्रिपाठीको भनाइबाट अन्त गर्न चाहन्छु । यो कुरा हो होइन त्रिपाठी नै जानून् । त्रिपाठी भन्छन्–‘विभिन्न पार्टीमा उकुसमुकुस भएर बसेकाहरूलाई अध्यादेशले छुट्टिन सहज मार्ग बनाइदिएको छ । अब केपीको सरकार ढाल्न खोज्नेहरूले दस पटक सोच्नुपर्ने हुन्छ । प्रचण्डलाई ‘एमाले’ मा बस्न गाह्रो भैरहेको छ भने उहाँलाई  पनि बाटो लाग्न सजिलो हुने भएको छ । सरकारको यो कदमप्रति  प्रचण्ड सकारात्मक हुनुहुन्न किनभने आफूले माया गरेको एउटा जातिवादी पार्टी बिभाजन हुने सम्भावनाले उहाँलाई चिन्तित बनाएको छ । यदि नेकपाका नेताहरूले प्रधानमन्त्रीलाई बिच्क्याए भने स्थिति असहज हुनसक्छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार