काठमाडौं । अमेरिकी राष्ट्रपतिको पदभार सम्हालेकै दिन राष्ट्रपति जो बाइडनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका विभिन्न निर्णय उल्ट्याएका छन् । उनले कोरोनाभाइरस महामारीको संकट सम्बोधनमा संघीय कारबाही तेज गर्ने कार्यकारी आदेशहरू जारी गरेका छन् । विगतमा ट्रम्प प्रशासनले जलवायु परिवर्तन, आप्रवासन तथा जातिय सम्बन्धबारे अख्तियार गरेका नीति उल्ट्याइदिएका छन् ।
कोरोनाभाइरस महामारीका सवालमा विगतमा ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)बाट फिर्ता हुने निर्णयलाई वाइडेनले अन्त्य गरेका छन् । कोरोना भाइरस संक्रमणका कारण चार लाख अमेरिकी नागरिकको ज्यान गएको थियो ।
वाइडेनको यो निर्णय लगत्तै भाइरस विज्ञ डा एन्थोनी फाउचीले यसै साता हुने डब्लुएचओको अन्तर्राष्ट्रिय कार्यकारी समितिको बैठकमा अमेरिकाको प्रतिनिधित्व गर्दै भाग लिनेछन् । कोभिडको राष्ट्रिय सम्बोधन गर्ने कार्य केन्द्रीकृत गर्दै सुरक्षा सामग्री, खोप तथा परीक्षण सामग्रीको वितरणमा समन्वय बढाउने निर्णय पनि गरेको छ ।
वाइडेनले सबै संघीय परिसरमा मास्क तथा दूरीको नियम पालना गर्ने निर्णय पनि गरेका छन् । अमेरिकाले १ सय दिने मास्क चुनौती अभियान थालनी गर्ने भएको छ ।
वातावरणसम्बन्धी कतिपय ट्रम्प प्रशासनका नीतिहरू बाइडनले उल्ट्याउने भएका छन् । सन् २०१५ मा हस्ताक्षर गरिएको पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुनेभएको छ । विवादास्पद किस्टोन एक्सएल पाइपलाइन निर्माण रद्द गरेको छ । वातावरणवादी तथा अमेरिकी आदिवासीहरूले उक्त परियोजनाको दशकौँदेखि विरोध गर्दै आएका थिए ।
आप्रवासनको विषयमा बाइडनले दुई प्रमुख निर्णय गरेका छन्ः
ट्रम्पले लागु गरेको तथाकथित मुस्लिम प्रतिबन्ध अन्तर्गत केही मुस्लिम बहुल देशबाट यात्रामा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको छ ।