सुर्खेत । रुकुम पश्चिमको आठबीसकोटस्थित राडी बजारक्षेत्रमा निषेधाज्ञा जारी गरिएकाे छ।
जिल्ला प्रशासन कार्यालयले मंगलबार साँझ ५ बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हाे । अर्को आदेश जारी नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले जानकारी दिए ।
नेपाली कांग्रेस र नेकपा प्रचण्ड–माधव समूह निकट युवाबीचको विवादले उग्ररुप लिँदा राडी बजार क्षेत्र दिनभर तनावग्रस्त बन्न पुगेको थियो ।
सामान्य विषयमा सुरु भएको विवादले उग्ररुप लिन थालेपछिस्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर समेत गरेको रुकुम पश्चिमका डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।
नेकपा प्रचण्ड–माधव समूह निकट आठबीसकोट नगरपालिका–२ का अध्यक्ष मानबहादुर चदाराको टोलीले वडा नम्बर–९ का कांग्रेस निकट वडाध्यक्ष तारक शाहीलाई गएराति आक्रमण गरेपछि विवाद उत्पन्न भएको स्थानीय युवा शिव केसीले बताए ।