चरिकोट, ८ बैशाख । लकडाउनका कारण अरु आयोजनाको काम अवरुद्ध भए पनि राष्ट्रिय गौरवको माथिल्लो तामाकोशीको काम भने निर्वाध रुपमा जारी छ । सरकारले चैत ११ मा लकडाउन घोषणा गरेपछि स्थानीयले आयोजनाको काम रोक्न अल्टिमेटम दिएका कारणा ६ दिन रोकिन पुग्यो । तर सरकारले आयोजनाहरुको निर्माण नरोक्ने निर्णय गरेपछि काम सुचारु भएको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजनाले करिब २० दिनमा चमत्कारिक प्रगति गरेको हो ।
लकडाउनअघि २ महिना लाग्ने गरेको माथिल्लो र तल्लो ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने कार्य २० दिनमा सम्पन्न भएको छ । यति चाँडो काम भएकोमा आयोजनाका कर्मचारी नै चकित परेका छन् । तामाकोशी जलविद्युत् आयोजनका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार पछिल्लो २० दिनको अवधिमा भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले माथिल्लो ठाडो सुरुङमा ५० मिटर र अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोले तल्लो ठाडो सुरुङमा ४० मिटर पेनस्टक पाइप जडान गर्न सफल भएको छ ।
आयोजनाको सबैभन्दा कठिन र जोखिमपूर्ण रहेको दुबै ठाडो सुरुङमा लकडाउन अघि ९ दिन लाग्ने गरेको पाइप जडान कार्य करिब ४ दिनमा सम्पन्न हुनुलाई अत्यन्त महत्वपूर्ण मानिएको छ ।