Nepal Face
  • शनिबार, २७ भाद्र २०८३
  • बाबुरामलाई कमल थापाको प्रश्नः ज्ञानेन्द्रलाई विचार प्रकट गर्ने अधिकार छैन ?


    बिहिबार, फाल्गुन ८ २०८१
    2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुरामा भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका दिन बुधबार ब्यक्त विचारलाई लिएर दिएको प्रतिक्रियाको बिरोध गरेका छन् ।

    एक नागरिकका रुपमा संविधानले नै आफ्नो विचार प्रकट गर्ने अधिकार दिएको बताउँदै संघीयता र गणतन्त्रका बिरुद्ध १८ बर्षदेखि आवाज उठाउँदैआएको उल्लेख गरेका छन् । सामाजिक संजालमा उनले शाहले नागरिकका रुपमा विचार प्रकट गरेकोमा किन आपत्ति भन्दै प्रश्न गरेका छन् ।

    थापाले सामाजिक संजालमा लेखेका छन्–मेरो सहपाठी मित्र बाबुराम भट्टराईको हतास मानसिकता फेरि एकपटक उदाङ्गो भएको छ । राजा ज्ञानेन्द्रले फागुन ७ को सन्देशमा देशको वर्तमान अवस्थाप्रति मार्मिक ढंगबाट चित्रण गर्नु भएको छ । राजाले देश बचाउन र बनाउन आफू सहयोग गर्न तयार रहेको र त्यस कार्यमा सहयोग गर्न आह्वान गर्नुभएको छ । राजाले प्रजातन्त्र, दल वा सरकारको बिरोध पनि गर्नुभएको छैन ।

    देशको अवस्थाप्रति चिन्ता व्यक्त गर्ने र संकट समाधान गर्न सहयोग गर्न तयार रहेको बिचार व्यक्त गर्ने अधिकार नागरिकका रूपमा रहेका राजा ज्ञानेन्द्रलाई संविधानले दिएको छैन ? संविधान प्रदत्त बिचार स्वतन्त्रताको अधिकार बाबुराम र उनका आसेपासेलाई मात्र हो ?

    जनताले चाहेमा संघीय धर्मनिरपेक्ष गणतन्त्र परिवर्तन गर्ने अधिकार संविधानले नै सुनिश्चित गरेको छ । त्यो अधिकार कुण्ठित गर्ने वा निषेध गर्ने अधिकार बाबुराम जीलाई कसले दियो ?
    वर्तमान अवस्था र व्यवस्थाप्रति असन्तोष प्रकट गरेका कारण राजाको बिचार र गतिविधि नियन्त्रण गर्नुपर्छ भन्ने बाबुरामको विचार स्वयं नै निरंकुश र फासिष्ट छ ।

    राजाको कुरा छोडिदिनुहोस्, राजाको मन्तव्यमा त गणतन्त्रको उल्लेख पनि छैन ।

    हामी विगत अठार बर्षदेखि निरन्तर गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता परिवर्तन गर्नुपर्छ भनिरहेका छौँ, संघर्ष गरिरहेका छौँ । सक्नुहुन्छ भने हामीलाई नियन्त्रण गरेर देखाउनुहोस् । राजासहितको प्रजातन्त्र, हिन्दुराष्ट्रको पुनःस्थापना तथा संघीयताको खारेजी चाहने लाखौं जनतालाई नियन्त्रण गर्नुहोस् ।

    बिचार नियन्त्रण गर्ने बाबुरामजीले बुझ्नुपर्छ कि जनताको मानसिकतामा ठूलो परिवर्तन आइसकेको छ । अठार वर्ष अघि बिदेशीको दवाव र प्रभावमा परेर तयार गरिएको गलत भाष्य अब जनताले बुझिसकेका छन् । जनतालाई ढाँटेको र धोका दिएको छर्लङ्ग भइसकेको छ ।

    स्वयं बाबुरामजीले २०६० सालमा हापुरे वार्ताको क्रममा मात्र होइन, संविधानसभाको चुनावअघि प्रचण्डसहितको भेटघाटमा राजासँग सहकार्य गर्न तयार रहेको म मार्फत् प्रस्ताव गर्नुभएको मलाई अहिले सम्झना आईरहेको छ ।

    देश र जनताप्रति इमान्दार हुनुहुन्छ भने अहिले पनि सुधार गर्ने अवसर छ । परिवर्तनकारी शक्ति र बिचार तथा परम्परागत शक्ति र बिचारका बीचमा सामञ्जस्यता खोजौँ । सबै राजनीतिक शक्ति र बिचार अटाउने मौलिक प्रजातन्त्रको बिकास गरौँ । यसवारे ठण्डा दिमागले सोच्न बाबुरामजीलाई आग्रह छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार