काठमाडौं । सशस्त्र प्रहरी बलका ६ जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । गृहसचिव महेश्वर न्यौपानको अध्यक्षतामा बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरु कमल गिरी, गणेशबहादुर ठाडामगर, अभिकुमार खत्री, शम्भु सुवेदी, दुर्गाप्रसाद भट्टराई र कुलबहादुर नेम्वाङलाई बढुवाका लागि सिफारिश गरेको हो ।
बढुवा भएको यो समूह एआइजीको दरबन्दी थप नभए डीआइजीबाटै अवकाश हुनेछ । एआइजी दरबन्दी थपिए पनि उनीहरुभन्दा अघिल्लो समूहका डीआइजी नै ६ जना छन् । राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र प्रवीणकुमार श्रेष्ठको समूह छ भने अर्को समूहका बंशी दाहालसहित २ जना छन् । ६ जना डीआइजीमा १ आइजीपी भएपछि बाँकी २ एआइजी हुनेछन् । ३ डीआइजीमै रहनेछन् । बिहीबार डीआइजी बढुवा सिफारिस भएकाहरु बढुवा हुनका लागि ७ वटा भन्दा बढी एआइजीका दरबन्दी थप हुनुपर्ने देखिन्छ । त्यो संभावना क्षीण छ ।
सशस्त्रमा शैलेन्द्र खनालको कार्यकाल करिब १५ महिना बाँकी छ । उनी २०७८ चैतमा अवकाश हुनेछन् । २०७८ चैतमा डीआइजीहरु राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र प्रवीण श्रेष्ठमध्येबाट एक आइजीपी हुनेछन् । बाँकी २ एआइजीमा बढुवा हुनेछन् । अर्यालहरुको समूहबाट जो आइजीपी भए पनि ४ बर्ष कार्यकालका लागि हुनेछन् ।
अर्यालको समूहपछि सशस्त्र प्रहरी बलमै सेवा प्रवेश गरेको समूहबाट आइजीपी हुनेछन् । सशस्त्र प्रहरी बलमै भर्ना भएका सि.स. १ का एसपीहरु सुरेश श्रेष्ठ, दीपक अधिकारी, पृुरुषोत्तम थापा लगायतको समूहबाट आइजीपी हुनेछन् ।