Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रविमाथि काठमाडौं प्रहरीबाट पनि छानबिन सुरु, दानबहादुर कार्कीकै पालामा परेको थियो जाहेरी


    शनिबार, कार्तिक १० २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सहकारी ठगी प्रकरणमा पोखरामा थुनामा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेमाथि काठमाडौं प्रहरीले पनि अनुसन्धान अघि बढाएको छ । कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीका बचतकर्ताले दिएको उजुरीमा प्रहरीले छानबिन सुरु गरेको हो । स्वर्णलक्ष्मी सहकारी पनि जीबी राईकै हो ।

    जीबीको उक्त सहकारीका बचतकर्ताले दानबहादुर कार्की काठमाडौं प्रहरी परिसरको प्रमुख हुँदा करिब डेढ बर्षअघि नै जाहेरी दिएका थिए । तर परिसरमा दर्ता भएको जाहेरीमा अनुसन्धान नगरी पीडितलाई थप पीडा दिइएको थियो । त्यतिबेला दानबहादुर कार्कीले अनुसन्धान नगरी पेन्डिङमा राखेको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिनामा लामिछानेलमाथि अनुसन्धान अघि बढेको प्रहरी स्रोतले बताएको छ ।

    लामिछानेबिरुद्ध परेको स्वर्णलक्ष्मीको जाहेरीमा मात्र होइन, तत्कालीन एसएसपी कार्कीले लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा तामेलीमा राख्न सिफारिस गरेका थिए । जुन सिफारिसका आधारमा राहदानी मामिलामा लामिछानेविरुद्ध मुद्दा नचल्ने निर्णय महान्यायाधिवक्ता कार्यालयले गरेको थियो ।

    राहदानी मामिला र स्वर्णलक्ष्मीदेखि पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताले दिएको जाहेरी नै दर्ता नगर्ने वातावरण मिलाएबापत कार्कीलाई लामिछानेले गृहमन्त्री हुँदा पहिलो वरियतामा डीआईजी बढुवा गरेका थिए । गएको जेठमा डीआईजी बढुवा गर्दा  कार्की आफ्नो ब्याचबाट पहिलो वरियतामा परेका थिए । कास्कीका तत्कालीन एसपी मोहन थापालाई सूर्यदर्शनको जाहेरी दर्ता नगरी होल्डमा राख्न लगाउने भूमिका पनि कार्कीले नै खेलेर लामिछानेलाई खुसी पारेका थिए ।

    लामिछाने गृहमन्त्री हुँदा कार्कीले आईजीपी बसन्तबहादुर कुँवरलाई आफू अनुकूल चलाउँदैआएका थिए । १४ चैत, २०८० मा बसेको संसदको राज्यब्यवस्था समितिको बैठकमा आईजीपी कुँवरले लामिछाने सहकारी ठगीमा संलग्न भएको प्रमाण नभेटिएको अभिब्यक्ति दिएका थिए । जुन अभिब्यक्ति निकै विवादमा परेको थियो । उक्त अभिब्यक्ति पनि डीआईजी(तत्कालीन एसएसपी) कार्कीकै सल्लाहमा दिएकाले आईजीपी विवादमा परेका थिए ।

    २०८१ भदौ १२ गते आईजीपी कुँवरले रुपन्देही जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भवनको उदघाटन गर्दै प्रहरीको काम र व्यवहारप्रति नागरिकस्तरमा नकारात्मक छवि बनेको र गुनासो आउने गरेकाले प्रहरी अधिकारीको बैंक खाता चेक गरी अनुचित आम्दानी गरेकालाई कारबाही गरिने बताएका थिए । उनले मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलप्रति संकेत गर्दै एक डीआईजीको खातामा अस्वभाविक रकम भेटिएकाले छानबिन भइरहेको बताएका थिए । संगठन प्रमुखलाई सार्वजनिक रुपमा यस्तो अभिब्यक्ति दिन लगाउने र विवादमा पार्ने काम पनि कार्कीकै सल्लाहमा भएको बताइन्छ ।

    आईजीपीलाई त्यस्तो अभिब्यक्ति दिन लगाएपछि पोखरेल तानिने र आफू मधेश प्रदेश सरुवा हुने खेलमा थिए । तर पोखरेल तानिएनन् । डीआईजीको सरुवामा उनी पनि मधेशमा जाने दाउमा शक्तिकेन्द्र धाइरहेका थिए । लुम्बिनीका कांग्रेस–एमालेका नेताहरुमार्फत् मधेश प्रदेशको डीआईजी हुन खोजेका उनको योजना पूरा हुन पाएन । लालमणि आचार्य मधेश प्रदेशमा सरुवा भए । पूर्वगृहमन्त्री लामिछानेका पक्षमा प्रहरी संगठनको उपयोग गरेकै कारण कार्कीको मधेश सरुवा रोकिएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार