Nepal Face
  • आइतबार, १० साउन २०८३
  • छ वटा प्रदेश प्रहरी प्रमुख रिक्तः डीआइजीका दरबन्दी कहाँ कहाँ कटौती हुँदैछन् ?


    सोमबार, बैशाख १ २०७७
    1.2K
    Shares
  • ३ मिनेट पाठ
  •  

    काठमाडौं, १ बैशाख । कोरोना भाइरसको महामारीका बेला सीमाक्षेत्रबाट नेपालतर्फ आउने क्रम बढिरहेको छ । तर यहीबेला नेपाल प्रहरीका ६ वटा प्रदेश प्रहरी प्रमुख निमित्तका भरमा संचालन भइरहेका छन् । २ नम्बर प्रदेशमा मात्र डीआइजी प्रद्युम्न कार्की कार्यरत छन् । 

    १ नम्बर प्रदेशका प्रमुख ठाकुरप्रसाद ज्ञवाली आइजीपी बढुवा भएसँगै प्रदेश प्रहरी प्रमुख खाली छ । बागमती प्रदेश, गण्डकी, ५ नम्बर प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेश पनि रिक्त छ ।  बागमती प्रदेशका शेरबहादुर बस्नेत, गण्डकीका विनोद शर्मा घिमिरे, ५ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख सुरेशविक्रम शाह, कर्णालीमा पूर्णचन्द्र जोशी थिए । उनीहरु सबै २०७६ माघ २८ मा अवकाश भइसकेपछि अहिले प्रदेश प्रहरी कार्यालय प्रमुख रिक्त छन् ।  तारणीप्रसाद लम्साल एआइजी बढुवा भइसकेपछि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख पनि रिक्त छ । बढुवा नहुँदै डीआइजीहरुबीच पदस्थापन हुनका लागि दौडधूप सुुरु भइसकेको छ । कोरोना महामारीमा प्रदेशतिर भन्दा काठमाडौंमै पदस्थापन हुने दाउमा अधिकांश सिफारिसमा परेकाहरु छन् ।  

    नेपाल प्रहरीमा प्रशासनतर्फका १२ दरबन्दी कटौती गरी १४ मा सीमित गरिएको छ । हाल ४ डीआइजी कार्यरत छन् । रिक्त १० डीआइजी बढुवा सिफारिस भएका छन् । बढुवा भइसकेको छैन । मन्त्रीपरिषदले बढुवा गरिसकेपछि डीआइजीहरुको पदस्थापन हुनेछ । केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी) का डीआइजी निरजबहादुर शाहीको करिब डेढ बर्ष भइसकेकाले उनी पनि सरुवा हुनेछन् ।

    डीआइजीका दरबन्दी कटौती भएकाले जटिल प्रकृतिका जघन्य अपराध हेर्ने सीआइबीमा डीआइजीको दरबन्दी कायम राखी लागूऔषध ब्यूरो, विशेष ब्यूरो र साइबर ब्यूरोलाई त्यसैमातहत ल्याउने तयारी भइरहेको छ । डआिइजीका दरबन्दी कटौतीसँगै यी तीनवटै ब्यूरोमा एसएसपीको दरबन्दी राखी सीआइबीमातहत ल्याउने गृहकार्यमा प्रहरी छ । 

    त्यसैगरी, जुनियर प्रहरी तालिम महाविद्यालय भरतपुर र प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयमा पनि डीआइजीको दरबन्दी कटौती हुनेछ । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि डीआइजी पदरिक्त छ । अख्तियारका महाशाखा प्रमुखहरु सहसचिवस्तरका भएकाले प्रहरी महाशाखामा डीआइजीकै दरबन्दी कायम नै रहने बताइएको छ । 

    हाल ४ जना डीआइजीमा महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीमा विश्वराज पोखरेल, प्रबन्ध निर्देशनालयमा सूर्य उपाध्याय, सीआइबीमा निरजबहादुर शाही र २ नम्बर प्रदेशमा प्रद्युम्न कार्की कार्यरत छन् ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार