Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • गृहमन्त्रीज्यू, प्रहरी अस्पतालको डीआईजी बढुवा ४८ दिनदेखि रोक्ने, साढुभाइको पद खाली नहुँदै गर्ने ?


    सोमबार, असार ११ २०८१
    5.1K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । पदरिक्त हुनु १० दिनअघि नै सल्लाहकारका साढुभाइ पोषराज पोखरेललाई २ दिनका लागि एआईजी बढुवा सिफारिस गर्ने गृहमन्त्री रवि लामिछानेले नेपाल प्रहरी अस्पतालमा ४८ दिनअघि रिक्त डीआईजी पदमा बढुवा नगरी २ एसएसपीको बृत्तिविकास नै रोकेका छन् ।

    अस्पतालमा २ डीआईजीका पदरिक्त भएको ४८ दिनसम्म बढुवा नगरी उनीहरुको अवकाशपछि मात्र बढुवा गर्ने योजनामा गृहमन्त्री लामिछाने लागेको आरोप छ ।

    प्रहरी अस्पतालमा २०८१ बैशाख २६ गतेदेखि २ डीआईजी पदरिक्त छ ।  बरिष्ठताका आधारमा उक्त अस्पतालमा कार्यरत एसएसपी (चिकित्सक) द्वय दीपक श्रेष्ठ र सुभाष आचार्य बढुवाका दाबेदार हुन् । श्रेष्ठ नेत्ररोग बिशेषज्ञ हुन् भने आचार्य नाक, कान, घाँटी रोगका विशेषज्ञ सर्जन हुन् । २०५९ जेठ २० मा भर्ना भएका श्रेष्ठ र आचार्य २०७५ असार १३ मा एसएसपी बढुवा भएका थिए ।

    श्रेष्ठ र आचार्य डीआईजी बढुवा भएमा उनीहरुमध्येबाट अस्पतालको प्रमुख एआईजी हुने भएकाले उनीहरुभन्दा कनिष्ट एसएसपीको प्रभावमा परी गृहमन्त्री लामिछानेको सचिवालयका प्रमुख रहेका दीपक बोहराले बढुवा रोकिरहेको आरोप छ ।

    ४८ दिनसम्म बढुवा नभएका एसएसपीद्वय श्रेष्ठ र आचार्य ५५ बर्षे उमेरका कारण २५ असारमा अवकाश हुँदैछन् । उनीहरुलाई बढुवा गरिएको भए प्रहरी अस्पतालले थप केही बर्ष नेत्ररोग र नाक, कान घाँटीको विशेषज्ञ सेवा लिन सक्थ्यो ।

    आफ्ना अघोषित सल्लाहकार दिवेश लोहनीका साढुभाइ डीआईजी पोषराज पोखरेललाई बढुवा गर्नका लागि पदरिक्त नहुँदै १० दिनअघि एआईजी सिफारिस गरेका लामिछानेको देखाउने र चपाउने दाँत फरक रहेको अस्पतालमा ४८ दिनदेखि रोकिएको डीआईजी बढुवाबाट प्रष्ट भएको छ ।

    लामिछाने प्रहरीका सरुवा बढुवामा मोलाहिजा नगरेको र पदरिक्त नहुँदै बढुवा गर्ने प्रचलन सुरु गरेको दाबी गरिरहेका छन् । तर प्रहरी अस्पतालमा ४८ दिनअघिदेखि खाली भएको डीआईजी पदमा बढुवा गर्न उनलाई पटक पटक आग्रह गरे पनि सुनुवाइ नगनुर््ले उनको कथनी र करनी फरक रहेको प्रष्ट देखिन्छ । उनको सचिवालयले प्रहरी अस्पतालको डीआईजी बढुवा किन रोकिरहेको छ ? त्यसबारे उनले केही जवाफ दिन सक्छन् ? प्रश्न गम्भीर छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार