Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • ठगीमा मुछिएका केसी उद्योगमन्त्रीका पीए, उदयपुर सिमेन्ट डुबाउन सक्रिय


    शनिबार, जेष्ठ १२ २०८१
    2.4K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ठगीमा मुछिएका कर्मचारीलाई सचिवालयमा राखेका छन् । बैदेशिक रोजगारीमा पठाउने भनेर ठगी गर्ने कृष्णकुमार केसीलाई भण्डारीले सचिवालयमा नियुक्त गरेको पाइएको छ । उदयपुर सिमेन्टका कर्मचारी कृष्ण केसी केही दिनअघि मन्त्री भण्डारीको सचिवालयमा नियुक्त भएका हुन् ।

    उदयपुर सिमेन्टका मेकानिकल इन्जीनीयरसमेत रहेका केसीलाई मन्त्री भण्डारीले सचिवालय सदस्य बनाएपछि उनी समेत विवादमा परेका छन् । केसीले बैदेशिक रोजगार सम्बन्धी वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै सात जना युवाहरुलाई बिचल्लीमा पारेका छन् ।

    कृष्ण केसीका छोरा रितेश केसीले माल्दिभ्स पठाइदिन्छु भनेर ती ७ युवासँग डेढ लाखदेखि साढे ३ लाख रुपैयाँसम्मको दरले पैसा उठाएका थिए । ती युवाबाट १५ लाख १० हजार रुपैयाँ उठाएका उनले त्यो पैसा भने अर्कै व्यक्तिहरुको खातामा जम्मा गर्न लगाएका थिए ।

    युवाहरुबाट पैसा उठाएपछि रितेशले ती आफ्नै बाबुलाई एजेन्टको रुपमा ती युवाहरुसँग परिचय गराएका थिए । कृष्ण केसीले एजेन्टको रुपमा सेटिङ गरेर श्रम स्वीकृतिलगायत काम गराइदिने भनी पैसा दिएको पीडित युवाहरुको भनाइ छ ।

    पैसा लिएर पनि विदेश पठाउन नसकेपछि उनीहरु आफ्नो पैसा फिर्ता गराउन प्रहरीमा जाहेरीसमेत दिइसकेका छन् । तर उद्योगमन्त्रीले तिनै ठगीमा संलग्न केसीलाई पीएमा राखेका छन् ।

    उदयपुर सिमेन्ट उद्योगका निमित्त महाप्रबन्धक महेशकुमार साह, मेकानिकल इन्जीनीयर हरि अधिकारी र कृष्ण केसी मिलेर कारखाना नै डुबाएका छन् । अर्थमन्त्रालयले १६ करोड रुपैयाँ दिएको छ । तर त्यो रकम कार्ययोजना बनाएर मात्र खर्च गर्न पाउनेगरी दिएको छ । तर उक्त रकम कार्ययोजना नै नबनाई खर्च गरी कमिसन खाने दाउमा साह, अधिकारी र केसी लागेका छन् । बैंकमा राखेर त्यसलाई धितो कायम गरी ऋण लिएर सप्लायर्सहरुलाई भुक्तानी दिने र कमिसन लिने चलखेलमा लागेका छन् ।

    एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलका विश्वासपात्र हुन् कृष्णकुमार केसी । पौडेलको सिफारिसपछि उद्योगमन्त्रीको ठाडो आदेशमा उदयपुर सिमेन्टबाट मन्त्रीको सचिवालयमा काजमा खटिएका केसीको काज सरुवा भने अवैध छ । प्रक्रिया नै नपुर्याई उनको काजसरुवा गरिएको छ ।

    कुनै पनि व्यक्तिको काज सरुवा गर्नुपरेमा मन्त्रालयले उद्योगलाई पत्र लेख्नुपर्छ । उद्योगले काजमा पठाउन उपयुक्त भए मात्रै त्यसरी काज सरुवाको सहमति दिनसक्ने व्यवस्था छ । कम्पनीलाई नै गम्भीर असर गर्नसक्ने भएमा काज सरुवा हुनै सक्दैन ।

    सदाबहार पीए

    केसी ६ जना भन्दा बढी मन्त्रीको सचिवालयमा बसेर अर्थ संकलन गर्न सकिन्छ भन्ने कुरामा अनुभवी मानिन्छन् । पूर्वमन्त्रीहरु रविन्द्र श्रेष्ठ, महेश बस्नेत, सत्यनारायण मण्डल, युवराज कार्की लगायतका मन्त्रीहरुको पीए बसेका केसीलाई उठाउन खप्पीस र उद्योगका नाका नाकाका जानकार भएकाले सचिवालयमा राखेको स्रोत बताउँछ । उदयपुर सिमेन्ट उद्योगका कर्मचारी विगत लामो समयदेखि मन्त्रीकै सचिवालयमा बसेर तलव खाँदैआएका छन् ।

    सिमेन्ट उद्योग करोडौं घाटामा छ । तर कर्मचारी भने मन्त्रीको सचिवालयमा सेटिङकै लागि पीएमा रमाउने गरेका छन् । संस्थान डुबाउन मरिहत्ते गरेर लागेका तिनै कर्मचारीमध्येका केसीले मन्त्री भण्डारीलाई कसरी सफल बनाउलान् त्यो भने हेर्न बाँकी नै छ । बुटवलका केसीलाई उद्योग सचिव कृष्णबहादुर राउतले सचिवालयमा राख्नका लागि मन्त्री भण्डारीसमक्ष बातावरण तयार गर्ने काम गरेको बताइन्छ । राउत पनि उदयपुुरकै हुन् । केसीले एमाले उपाध्यक्ष बिष्णु पौडेलमार्फत् पनि पीए हुनका लागि फोन गराएका थिए ।

    मन्त्री भण्डारीको सचिवालयका सदस्यमा राखिएका केसी ठगीमा मुछिएका पात्र रहेको खुलेको छ । उदयपुर सिमेन्टका मेकानिकल इञ्जिनियरसमेत रहेका भण्डारीका सचिवालय सदस्य कृष्णकुमार केसीले वैदेशिक रोजगारसम्बन्धी वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै सात जना युवाहरुलाई बिचल्लीमा पारेकोमा विवादमा छन् ।

    खोटाङका घिमिरेलाई निजी सचिव मन्त्रीको क्षेत्रका कर्मचारी र नेताहरुले असन्तुष्टि जाहेर गरिरहेको बेला केसीको प्रवेशले उक्त समुहमा झन् आक्रोश बढ्ने देखिएको छ । घिमिरेले छायाँ मन्त्रीको भूमिका खेलेको आरोप लागिरहेको बेला केसीको प्रवेश भएको छ । घिमिरे र केसीबीच नै शक्ति प्रतिस्पर्धामा द्वन्द र विवाद बढ्ने अड्कलबाजी मन्त्रालयकै कर्मचारीहरुले गरेका छन् । घिमिरेलाई एमाले अध्यक्ष केपी शर्मा ओलीकै दबाबमा मन्त्री भण्डारीले निजी सचिवमा राखेको बताइन्छ । ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा काम गरिसकेका घिमिरे सोही सम्बन्धका कारण उद्योग मन्त्रालयको हर्ताकर्ता बन्न पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार