काठमाडौं । पछिल्ला दिनमा साख गुमाउँदै गएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)को कमाण्डरको जिम्मेवारी एआईजी किरण बज्राचार्यलाई दिएपछि उक्त संस्था धेरै नै बदनाम हुन पुग्यो । भक्तपुरको एसपी हुँदा बेवारिसे शब ब्यवस्थापनको रकम समेत हिनामिना गरेको आरोप लागेकी बज्राचार्यले सीआईबीमा गएपछि प्रहरीले पाउँदैआएको पोशाक भत्ता काटेर कार्यालयबाटै सिलाएर दिने भनी एकाध लाख कमिसनमा र्याल चुहाएको समेत आरोप लाग्यो ।
६० किलो सुन तस्करीमा मुछिएका जीवन चलाउनेदेखि वाल्डो क्यासिनोका संचालक चिनियाँ नागरिक टेरेन्स टीएचसीलाई पनि उन्मुक्ति दिएकोमा सुन जाँचबुझ आयोगले एआईजी बज्राचार्यसहित ४ प्रहरी अधिकृतलाई कारबाही सिफारिस गरेको छ । चलाउनेदेखि टीएचसीलाई भगाउने क्रममा ठूलो आर्थिक चलखेल भएको बिषय उजागर भइसकेको छ ।
तस्करीको सुन नेपालमा भित्र्याउनका लागि अबैध हुन्डीबाट भुक्तानी गर्ने कार्यमा प्रत्यक्ष जोडिएको प्रमाण नै फेलापारे पनि सीआईबीले वाल्डो क्यासिनोका संचालक टेरेन्स टीएचसीलाई पक्राउ नगरेको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।
एआईजी बज्राचार्यले सीआईबीमा पीएका रुपमा राखेका इन्स्पेक्टर सुरेश खत्री, रंजित लामाहरुलाई राखेर विभिन्न केसमा सेटिङ गर्न लगाउने गरेको खुलेपछि उनीहरुलाई पनि सीआईबी प्रमुख श्यामलाल ज्ञवालीले सरुवा गरिसकेका छन् ।
सीआईबीमा काम गर्ने इन्स्पेक्टर सुरेश खत्री असई हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत थिए । विमानस्थलमा हुँदा नै उनी भिजिट भिसा सेटिङदेखि तस्करसँग कनेक्सन मिलाएर अकूत सम्पत्ति कमाउन सफल भएका थिए । इन्स्पेक्टर भएपछि काभ्रेमा पदस्थापन भई मुद्दा शाखामा बसे । काभ्रेमा आर्थिक चलखेल गरेको खुलेपछि कारबाहीमा परी मुद्दा शाखाबाट हटाइएका थिए ।
बालुवा तस्करहरुसँग मिलेको, दुर्घटना वीमा दाबी गर्दा घुस विना सिफारिस नलेख्ने जस्ता हरेक केसमा उनले सेवाग्राहीलाई सास्ती दिएर लेनदेन गर्ने गरेको आरोप लागेको थियो । वर्तमान आईजीपी बसन्तबहादुर कुँवरले प्रहरी प्रवक्ता हुँदा प्रहरी प्रधान कार्यालयको उजुरी शाखामा पटक पटक उजुृरी परेपछि उनलाई कारबाही गर्न खोजेका थिए । कुँवरले कारबाही गर्न खोजे पनि उनलाई रामेछापको टोकरपुर इप्रकामा सरुवा गरिएको थियो । उनले त्यहाँ नजान निकै शक्ति लगाए पनि जबर्जस्ती जान बाध्य बनाइएको थियो ।
टोकरपुर इप्रकामा केही महिना बसेपछि उनी सीआईबीमा आए । सीआईबीमा आएपछि गम्भीर अपराध सम्बन्धी अनुसन्धान हुने पिलरमा बसेर सूचना चुहाई अपराधीलाई भगाएको आरोपमा उनलाई कारबाही गर्न खोजिएको थियो । तर सीआईबीको प्रमुखमा एआईजी बज्राचार्य आएपछि उनीमाथि कारबाही त भएन नै, झन् पुरस्कृत गरी पीए पो बनाइन् । एआईजी बज्राचार्यको पीए बसेपछि उनको बदनामीको यात्रा झन् बढी हुँदै गयो । सीआईबीमा आउने हरेक केसहरुमा मोलमोलाइ गर्न र उपत्यकाका बृत्तहरुमा समेत गई एआईजीको पीएको तुजुक देखाएर मोटो रकम असुली गर्ने गरेको आरोप छ ।
बर्तमान आईजीपी बसन्तबहादुर कुँवरलाई खत्रीले सीआईबीको नाममा गरेका आर्थिक लेनदेनका सबै जानकारी भए पनि कारबाही गर्न सकेका थिएनन् । सीआईबीमै काम गर्ने इन्स्पेक्टर रंजित लामा उपत्यका अपराध अनुसन्धान कार्यालयमा हुँदा राम्रो काम गर्ने अधिकृतका रुपमा चिनिएका थिए । तर सीआईबी पुगेपछि उनी पनि खत्रीकै जस्तो आर्थिक मामिलामा बदनाम हुँदै गए । सीआईबीको साख गिर्नुमा अपराध अनुसन्धानमा पोख्त अधिकृतलाई भन्दा खत्री जस्तै आर्थिक लेनदेनमा लिप्तहरुलाई लाने कमाण्डर पनि उत्तिकै दोषी मानिन्छन् ।
कमाण्डरको आर्थिक उपार्जनको महत्वाकांक्षाकै कारण २०७८ मंसिरमा सई बिष्णुप्रसाद ढुंगानालाई अख्तियार दुरुपयोग अनुसन्धान आायोगको टोलीले ब्यापारीलाई धम्क्याएको आरोपमा पक्राउ गर्नुले पनि पुष्टि गर्दछ । एक ब्यापारीलाई धम्क्याएर १५ लाख रुपैयाँ लिइसकेको सूचना पाएको अख्तियारको टोलीले उनलाई अर्का ब्यापारीसँग धम्क्याएर रकम लिन जाने क्रममा २७ मंसिर, २०७८ मा पक्राउ गरेको थियो । सीआईबीका सई भए पनि उनले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी परेको छ भनी ब्यापारीलाई धम्क्याएका थिए ।
सीआईबीः काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर
विशेष गरी आईजीपीले तोक आदेश गरेका र राष्ट्रिय अपराध, देशलाई हानीनोक्सानी भएका आर्थिक अपराध हेर्ने सीआईबीको कार्यक्षेत्र हो । ठूला ठूला अपराध गरी पत्ता लाग्न नसकेका फरार अपराधीलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्नेमा आर्थिक हिसाबले लाभ हुने खालका सानातिना केसमा सीआईबी रुमल्लिन पुगेको छ । सीआईबीबाट सहकारीका बचतकर्ताको रकम अपचलन प्रकरणमा मान्छे नियन्त्रणमा लिई कागज गराई पैसा तिर्ने सर्तमा छाड्ने काम पनि भएका छन् ।
सीआईबीमा काम गर्ने अधिकांश जुनियर अधिकृत लगायत तल्लो दर्जाका कर्मचारीहरु अपराध अनुसन्धानमा पोख्त र विवादरहित देखिए पनि बरिष्ठ अधिकृतहरुले भने आकर्षक पोष्टिङ खाने र बिश्राम गर्ने थलोका रुपमा सीआईबी परिणत गराएका छन् ।
सीआईबी स्थापना भएपछि प्रमुख भएका सीआईबीका प्रमुख भएका उपेन्द्रकान्त अर्याल र राजेन्द्रसिंह भण्डारीहरुले बित्तीय अपराध नियन्त्रण, अन्तर्राष्ट्रिय कल चोरी(भीओआईपी) को जालो नै तहसनहस पारी नेपाल टेलिकम र एनसेल लगायत दूरसंचार प्रदायक संस्थालाई भएको अरबौं नोक्सान रोक्न सफल भएका थिए ।
नवराज सिलवालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुप्तलाल भूसाल (रोशन) र हरिशरण केसीले गर्र्दैआएको सुन तस्करीको देश हल्लाउने नेक्ससको पर्दाफास गरे । जटिल प्रकृतिका अपराध हेर्न सीआईबीको स्थापना भएको थियो । तर पछिल्ला दिनमा लेनदेन, शान्तिसुरक्षाका निवेदन हाल्न लगाउने र मिलापत्र समेत गराउने काममा लाग्न थाल्यो । नागरिकलाई अनावश्यक रुपमा पक्राउ गरी थुनेर टर्चर गरी लेनदेनका केस मिलापत्र गराउने बृत्त र प्रभागले गर्ने काम समेत सीआईबीबाट हुन थालेका छन् । जसले सीआईबीको साख धुलिसात हुँदै गएको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्लो समय उद्योगी–ब्यवसायीलाई छानीछानी भेटिरहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवविना...
काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend