काठमाडौं । निजामतीदेखि प्रहरी जुनसुकै सेवामा कार्यरत कर्मचारीलाई अवकाशको मुखमा महत्वपूर्ण जिम्मेवारी नदिने प्रचलन छ । तर नेपाल प्रहरीको लेखापालदेखि लेखाअधिकृत सरुवा गर्ने आन्तरिक लेखा परीक्षण शाखाका डीएसपी बिजय कुँवरको कार्यकाल ६ महिना पनि छैन । उनी आगामी भदौ महिनामा अवकाश हुँदैछन् । तर उनलाई आ.ले.प. जस्तो महत्वपूर्ण शाखाको प्रमुखको जिम्मेवारीमा राखिएको छ ।
त्यस्तै भण्डार शाखाका प्रमुख देवबहादुर कुँवर पनि आगामी भदौमा अवकाश हुँदैछन् । उनलाई भण्डार शाखामै ठेकेदारहरुसँग सेटिङ गर्न छुट दिइएको छ ।
त्यसैगरी कल्याण महाशाखाका एसएसपी रेवती ढाकाल पनि भदौमै अवकाश हुँदैछन् ।
अवकाशको मुखमा रहेका यी तीनै अधिकृतमध्ये आलेपका डीएसपी बिजय कुँवर आलेपका डीएसपी हुन् । जसले प्रहरीको लेखा तालिमदेखि सरुवा र पदस्थापन पनि आन्तरिक लेखा परीक्षण गर्ने गर्दछ । उनलाई अझै आलेपमै राखिरहने हो भने आगामी आर्थिक बर्षको लेखापाल र लेखा अधिकृत सरुवा गर्नेछन् ।
भण्डारका देवबहादुर कुँवरले प्रहरीका बन्दोबस्तीका सामानको ठेक्कामा आगामी भदौसम्मै गर्न पाउने भएका छन् । अवकाशको मुखमा रहेकाहरुको मुख्य उद्देश्य नै कमाउने मात्र हुन्छ । यस्ता अधिकृतलाई भण्डार, आलेप र कल्याण जस्ता महत्वपूर्ण जिम्मा दिँदा कसरी पारदर्शीता र सुशासन कायम हुन्छ ? नवनियुक्त उपप्रम तथा गृहमन्त्री रवि लामिछानेको यो बिषयमा ध्यान जानेछ भन्ने अपेक्षा प्रहरीले गरेका छन् ।
अवकाशको मुखमा रहेकामध्ये आ.ले.प.का डीएसपी बिजय कुँवरले जाँदाजाँदै प्रशासन बिभागका प्रमुख एआईजी मिरा चौधरीलाई प्रयोग गरी हरेक जिल्ला लगायतका प्रहरी कार्यालयका लेखा सहायक र प्रबन्ध सहायक (जिन्सी)मा कार्यरत ठूलो संख्याका प्रहरीको सरुवा कुँवरले गराउन सफल भएका छन् ।
लेखा सहायक र प्रबन्ध सहायक तल्लो दर्जाका सिपाही–हवल्दारलाई राखिएको हुन्छ । लेखापाल र प्रबन्धको जिम्मा लिनेको सहयोगका लागि राखिएका तल्लो दर्जाका प्रहरीहरु बर्षौदेखि कार्यरत रहेको, बदनाम भएकाले फेर्नुपर्छ भनेर डीएसपी कुँवरले एआईजी चौधरीलाई समेत कन्भिन्स गरी सरुवा गराएका छन् ।
लेखा सहायक र प्रबन्ध सहायकमा कार्यरत प्रहरीलाई हटाएर नयाँ खटाउँदा अधिकांशसँग जनही २५ हजार घुस संकलन गरिएको गुनासो पनि प्रहरी प्रधान कार्यालयमै पुगेको छ । सहायक पदमा कार्यरत प्रहरीलाई हटाउनुको मुख्य उद्देश्य नै दररेट लिएर नयाँलाई पठाउनका लागि गरिएको आरोप छ । जुन उद्देश्य एआईजी चौधरीले नबुझ्दा कुँवरले लाभ उठाउन पाएका छन् । आर्थिक संकलनको उद्देश्यले आईजीपी बसन्तबहादुर कुँवरसँग पनि सल्लाह नगरी सरुवा गरिएको खुलेको छ । एकेडेमीका प्रमुख सन्दीप भण्डारी, प्रदेशका डीआईजीहरुले पनि त्यसरी गरिएको सरुवालाई मान्यता नदिई रमाना नै दिन अस्वीकार गरेका छन् ।
त्यसैगरी भर्खरै १ सय २७ लेखा समूहका असई सईमा बढुवा भए । बढुवा भएपछि रिक्त लेखाको असई पदमा लेखा तालिमको प्रक्रिया पूरा नयाँलाई पदस्थापन गर्दा पनि डीएसपी कुँवरले दररेट असुली गरेको आरोप छ । लेखाको असईमा पदस्थापन गर्दा प्रतिब्यक्ति १ लाखका दरले संकलन गरेको आरोप छ ।
लेखाका असईको पदस्थापनमा डीएसपी कुँवरले चलखेल गरेको बिषय आईजीपी कुँवरसम्म पुग्यो । तर डीएसपी कुँवर भानु देउवाको नजिक भएकाले उनले बम्हलुट गरेको थाहा पाए पनि नपाएझैं गरेको स्रोत बताउँछ । कुँवर असईदेखि नै लेखा समूहमा कार्यरत रहेका प्रहरी अधिकृत हुन् । लेखा अधिकृत भएपछि उनी प्रहरी एकेमेडीमा सरुवा भएका थिए । त्यहीँ उनी डीएसपी बढुवा भएका थिए । डीएसपी भएपछि उनको सरुवा प्रहरी प्रधान कार्यालय आलेपमा भयो ।
एकेडेमीमा बजेट भन्दा बढी खर्च भएपछि नयाँ सरुवा भएका इन्स्पेक्टर दीपेन्द्र भट्टले हिसाब बुझ्न मानेनन् । कुँवरले शक्तिकेन्द्रबाट दबाब दिए । भट्ट पनि पहुँचवाला अधिकृत भएकाले उनले हिसाबकिताव प्रष्ट नभएसम्म नबुझ्ने अडानमा बसे । तत्कालीन आईजीपी धिरजप्रताप सिंहसम्म कुरा पुग्यो ।
कुँवरको हिसाबकिताव गडबडीको बिषयमा छानबिन नै हुने तहसम्म पुगेपछि उनी कांग्रेस सभापति शेरबहादुर देउवाका निजी सचिव भानु देउवाकोमा पुगे । भानुले आईजीपी सिंह र एआईजी दीपक थापालाई भनेर मिलाउन लगाएपछि कुँवर आलेपमा आएका थिए । त्यसो त उनी एकेडेमीको निर्माणमा कालोसूचीमा परेको क्षमादेवी कन्ष्ट्रक्सनसँग १५ प्रतिशत मागेको बिषयामा पनि विवादमा परेका थिए । उनका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अकूत सम्पत्तिमा छानबिनको माग गर्दै उजुरी पनि परेको छ । कँुवरले पदको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको छानबिन गरी पाउँ भन्दै उजुरी परेको छ ।
त्यस्तै, भण्डार शाखाका डीएसपी देवबहादुर कुँवर असईमा प्रवेशदेखि नै प्रहरी प्रधान कार्यालयको लेखा, आलेप, बजेट र आईजीपीको निवासमा मात्रै रजगज गरेका अधिकृत हुन् । हाल भण्डारमा कार्यरत डीएसपी देवबहादुरले ठेकेदारसँग सेटिङमा सामान गुणस्तर परीक्षणमा पठाउने गरेको आरोप छ । उदाहरणका लागि ४० हजार जोर जुत्ता भण्डारमा बुझाउँदा गुणस्तर परीक्षणमा ठेकेदारसँग मिलेर उसैले भनेको पोकाबाट झिकेर पठाउने गरेको स्रोत बताउँछ । स्रोतका अनुसार ४० हजार जोरमा मुस्किलले ५ हजार तोकिएको गुणस्तर अनुसार हुन्छन् । अरुमा तलमाथि गरी ठेकेदारले सामान बुझाउने र ती ठेकेदारसँग भण्डारका डीएसपी मिल्ने गरेका हुन्छन् । उनले लेखा, आलेपदेखि सबैतिर बसेर सेटिङ गरी सबै सन्तानलाई करोड खर्च गरी मेडिकल पढाउनेदेखि घरजग्गा लगायत अथाह सम्पत्ति जोडेका छन् ।
त्यसो त विश्वमा बिद्युतीय सवारीको प्रयोग बढिरहेको बेला नेपाल प्रहरीको कल्याण महाशाखाले बुटवल र कोहलपुरमा २५ करोड लागतमा पेट्रोल पम्प खोल्ने निर्णय गराउने काम कल्याण शाखाका अवकाशको मुखमा रहेका एसएसपी रेवती ढकालले गराएका छन् । एसएसपी ढकाल र १ महिना कार्यकाल रहेकी रहेकी एआईजी मिरा चौधरीले यस्तो निर्णय गरेका हुन् । उनीहरुले आईजीपी कुँवरलाई नै गुमराहमा पारी पीसीसीबाट उक्त निर्णय गराउन सफल भएका छन् । प्रहरीको गाँस काटेर जम्मा गरिएको रकमले पम्पमा लगानी गर्नुको साटो भूपू प्रहरीलाई अस्पतालमा औषधि निःशुल्क दिन माग भइरहेको छ । भूपू प्रहरीले यस्तो माग राख्दै संघर्ष गरिरहेका छन् । पेट्रोल पम्पको ठेक्कामा प्राप्त हुने कमिसनको लोभमा यस्तो निर्णय गरिएको आरोप छ ।
नेपाल प्रहरीमा मात्र होइन, यस्तो चलखेल सशस्त्र प्रहरीमा पनि हुने गरेको छ । यस्तो भ्रष्टाचारमा पनि नयाँ गृहमन्त्री लामिछानेले ध्यान दिनुपर्ने प्रहरी स्रोत बताउँछ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend