Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • बालकुमारी घटनामा मृत्यु भएका दुई युवाको शव सेनाको हेलिकप्टरबाट सुर्खेत लगियो


    मंगलबार, पुष १७ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। ललितपुरको बालकुमारीमा इपिएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका र प्रहरीबीच झडप हुँदा ज्यान गुमाएका दुई जनाको शव आज बिहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाली सेनाको ‘स्काई ट्रक’ मा राखेर लगिएको छ।

    गत शुक्रबार बालकुमारीमा झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो। सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा मृत्यु भएको थियो। वीरेन्द्रको पाटन अस्पतालमा मृत्यु भएको थियो।

    दुबैको शवको पोष्टमर्टम पाटन अस्पतालमा गरिएको थियो। दुबैको शव मंगलबार बिहान काठमाडौंबाट सेनाको स्काई ट्रकमार्फत् सुर्खेत विमानस्थल लगिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।

    त्यहाँबाट छुट्टाछुट्टै हेलिकप्टरमा राखेर घर पुर्‍याइने एसपी कार्कीले बताए।

    मृतक परिवारले विभिन्न माग राखेर आन्दोलन गर्दै आएको थियो। सरकारसँग सोमबार भएको छलफलमा चार बुँदे सहमति समेत भएको थियो।

    सरकारले मृतक दुबै जनाको शव सम्बन्धित जिल्लामा पठाइदिने सहमति गरेको थियो।

    मृतक परिवारलाई सरकारले १०-१० लाख रुपैयाँ दिने, त्यसबाहेक मृतक परिवारका सदस्य एक-एक जनालाई रोजगारी दिने पनि निर्णय भएको हो।

    सरकारले अतिरिक्त थप राहत उपलब्ध गराउन पहल गर्ने पनि दुई पक्षबीच सहमति भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार