Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तस्करीको सामानसहित गाडी बरामद, प्रहरीले तस्करलाई छोड्यो


    सोमबार, मंसिर २५ २०८०
    2K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • सर्लाही । सर्लाहीको पर्सा नाकाबाट निर्वाध रुपमा तस्करी भैरहेको पछिल्लो एक घटनाले प्रमाणित गरेको छ ।

    प्रहरी चौकी पर्साका प्रमुख प्रहरी सहायक निरीक्षक रामकृपाल साहले स्थानीय र भारतीय तस्करहरूलाई लाइन दिएर तस्करी गराइरहेको खबर जिल्ला प्रहरी कार्यालयसम्म पुगेपछि जिल्ला प्रहरी कार्यालयको टोलीले शनिवार पर्सा पुगेर छड्के गर्दा तस्करीको सामानसहित एक भारतीय नम्बरको बोलेरो गाडी बरामद भएको छ ।

    तस्करीका लाखौं मूल्य बराबरको कपडाका गाँठ, महंगा ज्याकेटलगायतका कपडा, मोबाइलका महंगा पार्टस्, चार्जर, इलेक्ट्रिक सामानसहित भारतीय नम्बरको बोलेरो गाडी नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाएको समाचार प्राप्त हुन आएको छ ।

    तस्करीका ती सामान भारतीय OR-01J 2492  नम्बरको बोलेरोमा लोड गरेर राखेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सर्लाहीको  टोलीले नियन्त्रणमा लिएको छ । गाडीसँगै पक्राउ परेका तस्करका भरियालाई भने प्रसनि साहले मिलेमतोमा रकमको लेनदेनपछि छोडिदिएको स्रोतले दाबी गरेको छ ।

    पक्राउ परेका ती सामान फूलको तस्करी गर्ने कुख्यात तस्कर सन्तोष भण्डारीको रहेको स्रोतले जनाएको छ । भारतबाट अवैध रुपमा फूल ल्याएर नक्कली बिल बनाई राजधानी काठमाडौंलगायतका ठाउँमा पठाउने सन्तोष भण्डारी केही समययता आफ्नो मामा भारतीय नागरिक संजय भण्डारीको नाममा फूल तस्करीको कारोबार गर्न थालेका छन् भने स्वयंले कपडा, चिनी, इलेक्ट्रिक सामान, मोबाइलका चार्जर र पार्टस्को अवैध कारोबार गरी नेपालको भन्सार छली गरिरहेका छन् ।

    स्रोतका अनुसार सर्लाहीको पर्सा नाकाबाट प्रसनि साहले दैनिक ५० लाख रुपैयाँभन्दा बढीको राजश्व चुहावट हुने गरी तस्करी लाइन दिएका छन् ।

    स्रोतबाट प्राप्त जानकारी अनुसार प्रहरी चौकी पर्साका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामकृपाल साहले आफ्नो क्षेत्रबाट तस्करी लाइन संचालन गर्न इनर्वाका व्यापारी चन्दनलाई चिनी, रजनीगन्धा, गुल एवं भाङ जस्ता सामग्री भित्र्याउन लाइन दिएका छन् भने पर्साका व्यापारी चिनी र किराना आइटमको काम गर्न लाइन दिएका छन् ।

    त्यस्तै पर्साकै सद्दाम मियाँलाई भने कुखुरा भित्र्याउन लाइन दिएका छन् । सर्लाहीकै कुख्यात तस्कर सन्तोष डिलरका सामान ढुवानी गर्न स्थानीय उमेशलाई लाइन दिएर दैनिक ५० लाख भन्दा बढीको राजस्व चुहावट गराउन सक्रिय छन् ।

    यी तस्करहरूले सीमावर्ती सहोरवा, इन्दरवा, लालबनी दरबारबाट पर्सा नाका हुँदै अवैध रुपमा कपडा, मोटर पार्टस्, चिनी, खाद्यान्न, प्रतिबन्धित गुट्खाहरू ल्याएर मलंगवा, हरिवन, लालबन्दी हुँदै देशका विभिन्न भागमा पठाउने गरेका छन् । कुखुरा तस्करी गर्ने सद्दामले भारतबाट ल्याएको कुखुराको नेपाली कुखुरा फर्मको बिल बनाएर पठाउने गरेका छन् । सद्दामको कुखुरा फर्म सीमा क्षेत्रमै रहेको छ ।

    भारतसँग सीमा जोडिएका सर्लाहीका विभिन्न नाकाबाट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियार र बप्रनानि अरुण कुमार यादवको आशीर्वाद प्राप्त चौकी इन्चार्जहरूको संरक्षणमा तस्करी भइरहेको समाचार प्रकाशन भएपछि तस्करी नभएको देखाउन प्रहरीले नाटकीय रुपमा सामान बरामद गर्न थालेका छन् ।

    सर्लाहीको तस्करी बढ्नुमा सशस्त्र प्रहरी बल नेपालको समेत अहम् भूमिका रहेकोले तस्करहरूका लागि यतिबेला सर्लाही उर्बर भूमिको रुपमा स्थापित भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार