काठमाडौं, २८ असोज । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १२ जनाको मृत्यु भएको हो ।
हिजो (मंगलबार) देशभर १८ जनाको कोरोना संक्रमितको मृत्यु भएको थियो । सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।
काठमाडौं उपत्यकामा १४ सय तीनसहित देशभर थपिए २६ सय ३८ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४ सय तीन जना कोरोना संक्रमित थपिएका छन् ।
उपत्यकाको काठमाडौं जिल्लामा ९९६ जना, ललितपुरमा ३०५ जना र भक्तपुरमा १०२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थपिएका २६ सय ३८ जनामा कोरोना भाइरस संक्रमितमध्ये काठमाडौं उपत्यकाका १४ सय तीन जना हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा २१ सय ७४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । आज देशभर ३६ हजार ३६७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।