Nepal Face
  • आइतबार, १० साउन २०८३
  • काठमाडौं महानगरपालिकाले तीलगंगामा ३ वटा मेसिनसहित सवदाहगृह बनाउने


    बुधबार, असोज २८ २०७७
    690
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्र परिसरको वागमती पारिपट्टी (तिलगंगामा) थप ३ वटा विद्युतीय शवदाह मेशिनसहित शवदाह गृह निर्माण हुने भएको छ । आज काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

    काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको उपस्थितिमा सह–सचिव राजेश्वर ज्ञवाली र पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । सम्झौता अनुसार शवदाहगृह निर्माण गर्न कोषले सार्वजनिक सूचना मार्फत बोलपत्र आव्ह्वान गरिसकेको र उक्त बोलपत्र हाल मूल्याङ्कनको क्रममा रहेकोमा सो खरिद प्रक्रिया टुंगोमा पुर्याई बोलपत्रदाता छनोट गर्ने, आसयको सूचना प्रकाशन गर्ने र छनोट भएको बोलपत्रदातासँग सम्झौता गर्ने तथा कार्यादेश लिने काम कोषले नै गर्ने छ ।

     

    sab daha.jpg

    कोषसँग सबदाहगृह निर्माणको सम्झौता गर्दै मेयर शाक्य 

    सम्झौतापत्रमा शवदाह गृहको अग्रभागमा देखिने गरी शिलापत्रमा काठमाडौँ महानगरपालिकाको अनुदानमा निर्माण भएको शवदाह गृह भनी लेख्नु पर्ने उल्लेख गरिएको छ । सम्झौतापत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै प्रमुख शाक्यले कोषलाई जति सक्दो छिटो शिलान्यास गरी ६ महिना भित्रमा उद्घाटन गरी सञ्चालन गर्ने गरी काम थाल्न आग्रह गर्नुभयो ।

    ‘काठमाडौँ महानगरपालिकाले विगतमा पनि जनसरोकारका विषयलाई सम्वोधन गर्दै आएको छ । काठमाडौँ महानगरपालिका आफैँले गर्नुपर्ने कतिपय काम पनि जुन संघ–संस्थाले गरिरहेका छन् उनीहरुसँग सहकार्यमा गर्दै आएको छ,’ शाक्यले भन्नुभयो, ‘पशुपति क्षेत्र परिसरमा विद्युतीय शवदाह निर्माण गर्ने काममा पनि हामीले पशुपति क्षेत्र विकास कोषसँग सहकार्यमा गर्न लागेका हौँ ।’ शाक्यले अहिले सञ्चालनमा रहेका दुई ओटा विद्युतीय शवदाह मेशिनले चाप धान्न नसकेको अवस्थामा महानगरपालिकाको आर्थिक सहयोगमा निर्माण हुने थप तीन ओटा मेशिनले केही सहज हुने अपेक्षा गरेको बताउनुभयो । ‘अहिले पनि अन्तिम संस्कार धेरैले परम्परागत ढंगबाटै गर्ने चलन छ,’ उहाँले भन्नुभयो, ‘यस्तो बेलामा नदीमा प्रदुषण कम गर्ने, वातावरण फोहोर नबनाउने र अन्तिम संस्कारमा नियमित सहभागी हुनेहरुको स्वास्थ्यमा पनि प्रतिकुल असर नपुगोस भन्ने हेतुले विद्युतीय शवदाह गृह निर्माणका लागि महानगरपालिकाले चासो राखेको हो ।’

    असोज २० गते मेयर शाक्यको अध्यक्षतामा बसेको काठमाडौँ महानगरपालिकाको ५१ औ कार्यपालिका बैठकले पनि पशुपति क्षेत्रमा शवदाह गृह निर्माणका लागि अघि बढाएको प्रक्रियामा लाग्ने खर्च अनुदान दिने निर्णय गरिसकेको छ । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७७-०७८ मा शवदाह गृह निर्माणका लागि १५ करोड बजेट छुट्याएको भन्दै शाक्यले भौतिक पूर्वाधार निर्माणका लागि आर्थिक पाटोका बारेमा कुनै पनि चिन्ता नलिन आग्रह गर्दै काम समयमा सम्पन्न गर्न सुझाव दिनुभयो । शाक्यले काठमाडौँ महानगरपालिकाले १५ ओटा एम्बुलेन्स खरिद प्रक्रिया अघि बढाएको पनि जानकारी दिनुभयो ।

    शाक्यले अहिले कोभिड–१९ का कारण विश्व नै महामारीको चपेटामा परिरहेको र नेपाल पनि त्यो भन्दा पृथक नरहेको भन्दै महामारी नियन्त्रणमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँले स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई आग्रह गर्नुभयो । ‘हामी सबैले एकमुष्ठ सहयोग गरेर अघि बढ्ने हो भने महामारी नियन्त्रण गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘तर, भयावह अवस्था हुँदा हामी सबैलाई जोखिम बढी हुन्छ । यसमा सबैको ध्यान जान जरुरी छ ।’

    कार्यक्रममा कोषका सदस्य सचिव ढकालले विद्युतीय शवदाहका लागि क्षमता विस्तार गर्दै जाने कोषको योजनाम काठमाडौँ महानगरपालिकाले सहयोग गरेको भन्दै उत्साहित भएको बताउनुभयो । ‘अहिले दैनिक ३५ देखि ४५ वटासम्म शवदाह हुने गरेका छन् । सञ्चालनमा रहेका दुई ओटा मेशिनबाट मात्रै अहिले दैनिक १५–२० ओटा शवदाह हुने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘अब थप तीन ओटा मेशिन निर्माणपछि अहिलेको बढ्दो चापलाई धेरै हदसम्म व्यवस्थापन गर्न सकिन्छ ।’ ढकालले अहिले सञ्चालनमा रहेका मेशिनबाट शवदाह गर्न १ देखि डेढ घण्टासम्म लाग्ने गरेको भन्दै अब निर्माण हुने मेशिनबाट ३० देखि ४५ मिनेटमा शवदाह हुने बताउनुभयो । ‘नयाँ मेशिन जडानसँगै समयको पनि बचत हुने र व्यवस्थापन गर्न पनि सहज हुने हामीले अपेक्षा गरेका छौँ,’ ढकालले भन्नुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार