Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • स्वास्थ्यका नियुक्तिमा लिलाम बढाबढ, भूसाल र लोहनीको नियुक्ति अलपत्र ?


    शुक्रबार, मंसिर ८ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । संचार तथा सूचना प्रविधि मन्त्री भएको समयमा टेरामक्स काण्डमा मुछिएका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेका मोहनबहादुर बस्नेत स्वास्थ्य मन्त्री भएपछि पनि कमाउधन्दामै लिप्त हुन थालेका छन् । स्वास्थ्य मन्त्री बस्नेतले पार्टीको नीतिविपरीत पैसा लिएर नियुक्ति गरिएको भन्दै उनी विरुद्ध आक्रोश चुलिएको छ ।

    मन्त्री बस्नेतले केही दिनअघि नरदेवी अस्पतालको प्रमुखमा डा. श्यामबाबु यादवलाई जिम्मेवारी दिएका छन् । पटक–पटक लाभको पदमा पुगेका यादवलाई आर्थिक चलखेलकै आधारमा उनले नरदेवी अस्पतालको जिम्मा दिएका छन् ।

    दशौं तहका यादवलाई नरदेवी अस्पताल जिम्मा लगाउँदा ११ औं तहका डा. प्रदीप केसीलाई सिंहदरबार वैद्यखानामा काजमा पठाइएको छ । मन्त्रालयमा दरबन्दी राखेर केसीलाई बन्द रहेको वैद्यखानाको जिम्मा लगाइएको हो । दशैंताका यादवलाई नरदेवी पठाउने निर्णय गरेलगत्तै दशैंको बिदा शुरु हुने अघिल्लो दिन यादव हाजिर हुन पुगेका थिए ।

    केसीले सरुवा र रमाना नबुझ्दै विदेशमा भएको बेला यादव नरदेवी हाजिर हुन पुगेका थिए । उनलाई काँग्रेसका मधेशी मूलका केही नेताहरुको दबाव र आर्थिक चलखेलकै आधारमा नरदेवीको जिम्मा लगाएको हो ।

    त्यसैगरी मन्त्री बस्नेतले विभाग र केन्द्रीय अस्पतालहरुमा सरुवाको चलखेलको तयारी गरेका छन् । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता मिश्रलाई नियुक्त गरेपछि मन्त्री बस्नेतले विभागभित्रका निर्देशकहरुको परिवर्तनका लागि तयारी थालेका छन् ।

    व्यवस्थापन, परिवार कल्याण, इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रको निर्देशकमा नियुक्तिका लागि अहिले लिलाम बढाबढ भइरहेको छ । लिलाम बढाबढमा जसले बढी कबोल ग¥यो उसैलाई नियुक्ति दिने तयारीमा मन्त्री बस्नेत रहेका छन् । आर्थिक चलखेलका भरमा नियुक्त भएकाहरुले धमाधम नियुक्तिपत्र बुझेर हाजिर गरिसकेका छन् भने पार्टीको सिफारिसमा परेकाहरु भने अहिलेसम्म अलपत्र अवस्थामा छन् ।

    करिब दुई महिनाअघि नै स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा धनप्रसाद पौडेललाई मन्त्रीपरिषदमा नियुक्तिका लागि प्रस्ताव लगिएको थियो । प्रस्तावमा सही गरेर विदेश उडेका मन्त्री बस्नेत त्यसपछि कैयौं पटक विदेश गइसके । तर पौडेलको नियुक्ति सिफारिशलाई मन्त्रीपरिषद्ले अनुमोदन गरेको पत्र मन्त्रालयमा अहिलेसम्म आइपुगेको छैन । आफ्नो मन नहुँदानहुँदै राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधानमन्त्री तथा पार्टी उपसभापति पूर्णबहादुर खड्काको सिफारिशमा पौडेललाई अध्यक्षमा नियुक्तिको सिफारिस गर्न मन्त्री बस्नेत बाध्य भएका थिए ।

    पौडेलको नियुक्तिका विषयमा मन्त्री बस्नेतले अहिलेसम्म क्याविनेटमा छलफल चलाउन आवश्यक नठानेको बताइन्छ । उनको इच्छा नभएकै कारण पौडेलको सिफारिस भएर पनि अहिलेसम्म निर्णय हुनसकेको छैन । जागिर अवधिमै रहेका बेला नियुक्तिका लागि सिफारिशमा परेका पौडेलले अवकाश पाइसक्दा पनि नियुक्तिको टुंगो लागेको छैन ।

    त्यसैगरी पार्टीकै सिफारिसमा मेडिकल काउन्सिलको अध्यक्षमा डा. चोपलाल भुसाल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दबावमा बीमा बोर्डको कार्यकारी अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस पठाइएको चर्चा चले पनि मन्त्री बस्नेतकै कारण उक्त प्रस्तावले मूर्तरुप लिन पाएको छैन । भूसाल र लोहनीले नियुक्ति नपाउँदै बधाई खाइसके तर नियुक्तिको पत्र हातपरेको छैन । उक्त प्रस्ताव मन्त्रिपरिषदमै अड्किएको बताइन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार