काठमाडौं । औषधि ब्यवस्था बिभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई छानबनिका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएपछि निमित्त महानिर्देशकको जिम्मेवारी शिवानी खड्गीलाई दिइएको छ । खड्गी १० औं तहकी कनिष्ट कर्मचारी हुन् ।
खड्गी मन्त्रालय तानिएका विवादित महानिर्देशक ढकालनिकट मानिन्छिन् । ढकाल महानिर्देशक हुँदा उनी बिभागको आकर्षक र महत्वपूर्ण महाशाखाको प्रमुख थिइन् । वरिष्ठ औषधि व्यवस्थापक खड्गीलाई सदाबहादर महानिर्देशक ढकालले महत्वपूर्ण महाशाखा प्रमुखको जिम्मेवारी दिएका थिए । कानूनविपरीत औषधिको मूल्य निर्धारण गरेको आरोप लागेपछि स्वास्थ्यमन्त्री निशा मेहताले ढकाललाई गएको चैत २७ गते मन्त्रालय तानेकी थिइन् । औषधि कम्पनीहरुको सबैभन्दा बढी काम हुने महाशाखामा राखेर खड्गीमार्फत् ढकालले असुली गर्दैआएका थिए ।
औषधिको मूल्यबृद्धि प्रकरणमा छानबिनका लागि मन्त्रालय तानिएका ढकालकै सेटिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.विकास देवकोटाले खड्गीलाई ल्याएका हुन् । औषधि ब्यवस्था बिभागमा ११ औं तहका बरिष्ठ भरत भट्टराई हुँदाहुँदै र १० औं तहका पनि अरु सिनियर कर्मचारी हुँदाहुँदै खड्गीलाई गुपचुप रुपमा निमित्तको जिम्मेवारी दिइएको हो । ढकाललाई २०८२ चैत २७ गते मन्त्रालय तानेकै दिनको मिति राखेर खड्गीलाई २०८३ बैशाख २ गते पत्र थमाइएको खुलेको छ ।
कनिष्ट र ढकालनिकटलाई निमित्त दिएको बिषय ६ दिनसम्म लुकाएर सचिव देवकोटाले बैशाख २ गते खड्गीलाई पत्र दिएका थिए । स्वास्थ्य मन्त्री निशा मेहताले नयाँ बर्षको उपलक्ष्यमा शुभकामना दिन गएका औषधि ब्यवसायीहरुले औषधि ब्यवस्था बिभागको महानिर्देशकको बारेमा चासो राख्दा हालसम्म केही नभएको, प्रधानमन्त्री कार्यालयको टीमले जसलाई भन्छ, उसलाई महानिर्देशक बनाउने बताएकै भोलिपल्ट चौथो नम्बरकी जुनियर खड्गीलाई मन्त्रीस्तरीय निर्णयका आधारमा निमित्त महानिर्देशकको जिम्मेवारी दिएको पत्र बाहिरिएको थियो ।
श्रममन्त्री दीपककुमार साहकी श्रीमती जुनु श्रेष्ठलाई स्वास्थ्य वीमा बोर्डको सदस्य नियुक्ति गरेको आरोपमा मन्त्री मेहतालाई रास्वपाले सचेत गराइसकेको छ । पार्टी सभापति रवि लामिछानेले लिखित पत्रमार्फत् आगामी दिनमा गल्ती नदोहोर्याउने अपेक्षा राख्दै हाललाई सचेत गराइएको पत्र थमाइसकिएको छ । तर पार्टी सभापति लामिछानको निर्देशनबिपरीत औषधि ब्यवस्था बिभागका महानिर्देशक प्रकरणको छानबिन र निमित्त महानिर्देशक बनाउँदा मेहताले उक्त पूर्वचेतावनीलाई ठाडै चुनौती दिएकी छन् ।
मेहताले महानिर्देशक ढकाल र सचिव देवकोटाकै डिजाइनमा छानबिन समिति बनाएकोे स्रोत बताउँछ । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको सचिवको नेतृत्वमा समिति बनाउन मन्त्री मेहतालाई निर्देशन दिइएको थियो । तर तानिएका र छानबिन गर्नुपर्ने ढकालसँग उठबस भएका स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा कानुन शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विज्ञका रुपमा कविन्द्र मलेकु रहेको छानबिन समिति बनाएकी थिइन् । यी तीनैजना ढकालका प्रियपात्र भनेर चिनिएको नेपालफेसलाई स्रोतले बतायो ।
सचिव देवकोटाले ढकालकै सल्लाहमा उनीहरुलाई राखेको विश्वस्त स्रोत बताउँछ । समितिमा सदस्य राखिएका कानुनका उपसचिव रेग्मी र ढकाल स्याङ्जाकै हुन् । समितिलाई एक हप्ताको समय दिए पनि काम सुरु नै भएको छैन । प्रधानमन्त्रीको निर्देशन बिपरीत समिति गठन गरेको, उक्त समितिप्रति प्रधानमन्त्रीको टीमले मन्त्रीको सातो खाइसकेको स्रोत बताउँछ । प्रधानमन्त्री वालेन्द्रको तहबाट असहमति भएको जानकारी पाएपछि पद नै संकटमा परेको महसुस गरी मन्त्री मेहताले समितिका सदस्यहरुलाई तत्काल काम नगर्न निर्देशन दिएको स्रोतको दाबी छ ।
स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयको असहमतिपछि नयाँ छानबिन समिति बनाउने तयारी भइरहेको छ । ढकालले श्रेष्ठको समिति गठन गर्न लगाएर क्लीनचीट लिन लागेको सूचना पाएछि नयाँ समिति गठन गर्न मन्त्री मेहतामाथि दबाब परेको छ । समिति गठन र निमित्त महानिर्देशक नियुक्ति प्रकरणलाई प्रधानमन्त्री कार्यालयले गम्भीर रुपमा लिएको छ । प्रधानमन्त्री शाहको सचिवालय स्वास्थ्य मन्त्रालयका सचिव नै फेर्ने तहमा पुगिसकेको छ ।
अवकाश हुन १ बर्ष बाँकी रहेका नारायण ढकाल तेस्रो पटक औषधि ब्यवस्था बिभागको डीजी भएका हुन् । उनको कार्यकालमा औषधिको मूल्य निर्धारणदेखि बिदेशी औषधि सूचीकरणमा समेत ठूलो घोटाला भएको बिषयमा धेरै गुनासा आए पनि जो मन्त्री र सचिव आए पनि ब्रिफकेस बुझाएर निरन्तर डीजीमा टिक्दैआएका थिए । उनले जनस्वास्थ्यमा घातक असर पर्ने औषधि उत्पादक उद्योगको औषधि बजारबाट फिर्ता लिनुपर्ने सवालमा समेत चलखेल गर्ने गरेको आरोप लाग्दैआएको छ ।
बजारबाट औषधि फिर्ता गर्न सानो सूचना जारी गर्ने तर फिर्ता गरे नगरेको अनुगमन नै नगरी त्यस्ता औषधि उद्योगसँग लाभ लिने गरेको आरोप ढकालमाथि लाग्दैआएको छ । ढकालका बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धेरै उजुरी परे पनि कारबाही हुन सकेको छैन ।
शिवानी खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिइएको पत्र

काठमाडौं । स्वास्थ्य उपकरणका ब्यापारी बिशाल पण्डितले संघदेखि प्रदेशसम्मका सरकारी अस्पतालका खरिद र मर्मतमा सिन्डिकेट नै कायम गरेका छन् । त्यो सिन्डीकेट वालेन्द्र शाह...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बाचापत्रमा राजनीतिक नियुक्तिमा मेरिटोक्रेसी लागू गर्दै योग्यतमहरुबाट गर्ने उल्लेख छ । तर सरकारले गुठी संस्थानको प्रशासक(सदस्यसचिव)मा विगतका सरकारका पालामा...
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको रजिष्टारमा निमित्तमाथि निमित्त तोकेको छ । अध्यादेशबाट पदाधिकारीबिहीन भएको काउन्सिलको अध्यक्षदेखि रजिष्टार नियुक्ति हुन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बाचापत्रमा नातावाद र कृपावादको समूल अन्त्य गर्दै कर्मचारी सरुवा, बढुवा र नियुक्तिमा मेरिटोक्रेसी लागू गर्ने उल्लेख छ ।...
काठमाडौं । दुई महिनाअघि मधेश प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख (डीआईजी) गोविन्द थपलिया र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख र जुनियर अधिकृतबीचको विवाद सार्वजनिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend